स्टार्टअप समिट नेपाल–२०२६ : देशभर नवप्रवर्तन र उद्यमशीलताको लहर सिर्जना गरिने

नेपालमा नवप्रवर्तन (इनोभेसन) र उद्यमशीलतालाई संस्थागत रूपमा विकास गर्ने लक्ष्यका साथ ‘स्टार्टअप समिट नेपाल–२०२६’ अभियानको औपचारिक शुभारम्भ भएको छ।

आयोजक समितिले यसलाई केवल एकदिने औपचारिक कार्यक्रममा सीमित नराखी सातै प्रदेशका शैक्षिक संस्था तथा स्थानीय तहसम्म विस्तार गर्ने घोषणा गरेको छ। ‘राष्ट्र निर्माणमा स्टार्टअपको भूमिका’ भन्ने मूल नाराका साथ त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय सभाहलमा आयोजित विशेष समारोहमा यो अभियानको घोषणा गरिएको हो। कार्यक्रममा विद्यार्थी, प्राध्यापक, स्थापित उद्योगी–व्यवसायी, सम्भावित लगानीकर्ता तथा सञ्चारकर्मीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

युवा पलायन रोक्दै स्वदेशमै अवसरको सिर्जनायुवा जनशक्तिको तीव्र पलायन (ब्रेन ड्रेन) लाई रोकी स्वदेशमै सिर्जनशील वातावरण तयार गर्नु यस अभियानको मुख्य ध्येय रहेको छ। अभियानअन्तर्गत नयाँ व्यवसाय दर्ता प्रक्रिया, व्यावसायिक योजना (बिजनेस प्लान) निर्माण, लगानी व्यवस्थापन, अनुदान तथा स्टार्टअप कर्जाका साथै बजार विस्तारका व्यावहारिक चुनौती र समाधानबारे गहन तालिम तथा अभिमुखीकरण प्रदान गरिनेछ।

कार्यक्रमका प्रमुख अतिथि एवम् त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले उच्च शिक्षालाई केवल जागिर वा रोजगारीसँग मात्र नजोडी उद्यमशीलतासँग जोड्नुपर्नेमा जोड दिए। उनले यस्ता दूरगामी अभियानलाई देशभरका विश्वविद्यालय तथा कलेजहरूमा विस्तार गर्न त्रिवि पूर्ण रूपमा सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

समिटकी अध्यक्ष शोभा ज्ञवालीले नेपाली युवामा रहेको प्रतिभा र सिर्जनशीलतालाई स्वदेशी माटोमै उपयोग गर्ने वातावरण बनाउनु अभियानको प्राथमिक उद्देश्य रहेको बताइन्। ‘आज हाम्रो सबैभन्दा ठूलो चुनौती युवाको विदेश पलायन हो। अब हामीले यसलाई रोकेर ब्रेन ड्रेनलाई ब्रेन गेनमा रूपान्तरण गर्नैपर्छ, अध्यक्ष ज्ञवालीले भनिन्, ‘नेपालमा सम्भावना र सिर्जनशीलताको कुनै कमी छैन। कमी छ त केवल सही सोच, उचित मार्गदर्शन र अवसरको। हाम्रा युवाले बाहिर अवसर खोज्ने होइन, नेपालमै हजारौँका लागि अवसर सिर्जना गर्ने सोच बनाउनुपर्छ ।’

उनले समिटलाई सातै प्रदेश र ७७ वटै जिल्लाका विद्यालय, कलेज, सरकारी निकाय, निजी क्षेत्र र वित्तीय संस्थासँग समन्वय गर्दै राष्ट्रिय स्तरको बलियो स्टार्टअप इकोसिस्टम निर्माण गरिने स्पष्ट पारिन्। व्यावहारिक ज्ञान र अनुभव आदान(प्रदानऔद्योगिक व्यवसाय विकास प्रतिष्ठानका निवर्तमान कार्यकारी निर्देशक इन्जिनियर उमेशकुमार गुप्ता रौनियारले सफल उद्यमका लागि ठूलो पूँजीभन्दा पनि स्पष्ट सोच, सटीक योजना र निरन्तरको प्रयास निर्णायक हुने धारणा राखे।

उनले कम्पनी दर्ताका कानुनी दायरा, बजार अध्ययन, लगानी व्यवस्थापन तथा स्टार्टअप कर्जा प्राप्तिका व्यावहारिक चरणहरूबारे कार्यपत्र प्रस्तुत गरेका थिए। समारोहमा वैदेशिक रोजगारी छाडेर स्वदेशमै सफल उद्यमी बनेका युवाहरूका प्रेरणादायी कथा र वृत्तचित्र प्रस्तुत गरिएको थियो। प्रश्नोत्तर सत्रमा सहभागी विद्यार्थीहरूले व्यवसाय विस्तार, नीतिगत जटिलता र सरकारी सुविधाका विषयमा आफ्ना जिज्ञासा राखेका थिए। स्टार्टअप समिट नेपाल–२०२६ लाई दीर्घकालीन राष्ट्रिय अभियानका रूपमा अघि बढाइनेछ। सरकार, शैक्षिक क्षेत्र, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था र लगानीकर्ताहरूलाई एउटै मञ्चमा ल्याएर नेपालमा प्रविधि र नवप्रवर्तनमा आधारित नयाँ उद्यमशीलताको युग सुरुवात गर्ने लक्ष्य आयोजकले लिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार