इन्टरनेसनल एजुकेसन रिप्रिजेन्टेटिभ्स इनिसियटिभ अफ नेपाल (आईरिन)का निवर्तमान अध्यक्ष हेमन्त भट्टराईले स्वदेशी तथा विदेशी शिक्षा क्षेत्रमा देखिएका अवसर र चुनौतीहरूको गम्भीर बहस र समाधानको खोजी हुनुपर्नेमा जोड दिएका छन् । आइरिनले विहिबार राजधानीमा आयोजना गरेको “नेपाल तथा विदेशमा उच्च शिक्षाका अवसर र चुनौतीहरू” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दै उनले उक्त कुरामा जोड दिएका हुन् ।
भट्टराईले शिक्षालाई राष्ट्रको विकास र समृद्धिको आधारशिला भएको बताउँदै आजको तीव्र परिवर्तनशील विश्वमा विज्ञान, प्रविधि र नवप्रवर्तनले शिक्षाको स्वरूप नै बदलिदिएको बताए । उनले देशभित्रको उच्च शिक्षाको अवस्था र वैदेशिक अध्ययनमा विद्यार्थीहरूको आकर्षण दुवै पक्षको यथार्थपरक विश्लेषण आवश्यक रहेको धारणा राखे ।
भट्टराईले नेपालमा उच्च शिक्षाको पहुँच विस्तार हुनु सकारात्मक भए पनि गुणस्तरीय शिक्षा, अनुसन्धानमा लगानी, आधुनिक पूर्वाधार र उद्योग–शिक्षाबीचको सहकार्य अझै पनि चुनौतीपूर्ण रहेको उल्लेख गरे । “नेपालको उच्च शिक्षा प्रणालीलाई कसरी विश्वस्तरीय र प्रतिस्पर्धी बनाउने भन्ने प्रश्न आजको प्रमुख सरोकार हो,” उनले भने ।
नेपाली विद्यार्थीका लागि वैदेशिक अध्ययन एक आकर्षक विकल्प बनेको उल्लेख गर्दै भट्टराईले विकसित मुलुकको आधुनिक शिक्षा र प्रविधिले विद्यार्थीको व्यक्तिगत विकासमा ठूलो टेवा पुर्याउने बताए । उनले विद्यार्थी पलायनलाई मात्र नहेरी विदेशमा आर्जित सीप र अनुभवलाई नेपालको समग्र विकासमा कसरी जोड्न सकिन्छ भन्नेतर्फ गम्भीर हुनुपर्नेमा जोड दिए ।







प्रतिक्रिया