आइरिनको ‘उच्च शिक्षाका अवसर र चुनौतीहरू’सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न, विद्यार्थीको लक्ष्यसँग मेल खाने शिक्षामा जोड

वैदेशिक अध्ययनसम्बन्धि परामर्श दिने व्यवसायीहरुको छाता संगठन इन्टरनेसनल एजुकेसन रिप्रिजेन्टेटिभ्स इनिसियटिभ अफ नेपाल (आईरिन)ले ‘नेपाल र विदेशमा उच्च शिक्षाको अवसर तथा चुनौतीहरू’ विषयक एक दिवसीय राष्ट्रिय अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठित शिक्षाविद्, उच्च शिक्षा व्यवसायी, शैक्षिक प्रतिनिधि, विद्यार्थी तथा सरोकारवालाहरूको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

बिहीबार सम्पन्न कार्यक्रममा नेपाल र अन्तर्राष्ट्रिय स्तरमा बदलिँदो उच्च शिक्षाको अवस्था, अवसर र विद्यमान चुनौतीहरूबारे गहन छलफल गरिएको छ । व्यवस्थित रुपमा संचालन गरिएको कार्यक्रमलाई आकर्षक बनाउन र गुणस्तरीय शैक्षिक अवस्थालाई व्याख्या गर्न स्वदेश तथा विदेशी शिक्षण संस्थाका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागितामा प्यानल छलफलसमेत गरिएको छ ।

प्यानल छलफलमा युनिभर्सिटी अफ हर्टफोर्डशायरका निर्देशक डा. भानु कौशिक, द युनिभर्सिटी अफ एडिलेडका दक्षिण एसिया क्षेत्रका सिनियर म्यानेजर अनुप श्रेष्ठ, पर्यटन, आतिथ्य तथा शिक्षाविद् उज्ज्वल सत्याल, र काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका सह–प्राध्यापक एवं सहायक डीन डा. खगेन्द्र आचार्यले स्वदेशी तथा विदेशी संस्थाबाट प्राप्त गर्ने गुणस्तरीय शिक्षासम्बन्धि आ–आफ्नो धारणा राखे । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिजकी सिनियर प्रोग्राम एन्ड रिसर्च असिस्टेन्ट स्नेहा घिमिरेले प्यानल छलफलको सहजीकरण गरिन् ।

प्यानलमा सहभागि वक्ताहरूले गुणस्तरीय शिक्षाको अर्थ विद्यार्थीहरूको पूर्व–तयारी, उद्योग र शैक्षिक संस्थाबिचको साझेदारी, तथा आजको विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न आवश्यक पर्ने व्यावहारिक सीप विकासमा आधारित हुनुपर्ने बताए । उनीहरुले उच्च शिक्षाको छनोट लहैलहैमा लागेर भन्दा पनि विद्यार्थीको आफ्नै प्राज्ञिक रुचि, आर्थिक क्षमता र दीर्घकालीन करियरको लक्ष्यसँग मेल खाने हुनुपर्नेमा जोड दिए । साथै, शैक्षिक परामर्श क्षेत्रमा आचारसंहिताको पालना, सही परामर्श र शैक्षिक प्रणालीमा नवीनता ल्याउन सरोकारवालाहरू र नीति निर्माताहरूबिच बलियो सहकार्य आवश्यक रहेको बताइयो ।

आईरिनका निवर्तमान अध्यक्ष हेमन्त भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमलाई अध्यक्ष योगेश क्षेत्रीले समापन गर्दै आगामी दिनमा पनि विद्यार्थीहरूको सुनौलो भविष्य र समग्र शैक्षिक परामर्श क्षेत्रको व्यावसायिक विकासका लागि रचनात्मक क्रियाकलापलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै उपाध्यक्ष मञ्जु थापा धमलाले कार्यक्रमको संचालन गरेकी थिइन् ।

कार्यक्रमलाई सफल बनाउन विभिन्न स्वदेशी तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरूले सहयोग तथा सहकार्य गरेका थिए । युनिभर्सिटी अफ हर्टफोर्डशायर र योर्क सेन्ट जोन युनिभर्सिटी कार्यक्रमको ‘एसोसिएट पार्टनर’ का रूपमा रहेका थिए। त्यसै गरी सफ्टवारिका कलेज, नेसनल एजुकेसन कन्सल्टेन्सी (एनएसी), एलबीईएफ क्याम्पस, इडियु–ब्रिज, स्टडी स्क्वायर, रुटटुयुनी, युनिभर्सिटी अफ वोर्सेस्टर, र युनिभर्सिटी अफ इस्ट लन्डनले ‘एजुकेसन पार्टनर’को रूपमा सहयोग गरेका थिए। त्यस्तै ब्रिटिस काउन्सिल आईईएलटीएस, आरम्भ बैङ्क्वेट र नबिल बैंकको समेत विशेष सहयोग रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार