उज्यालो पार्टीलाई थप बलियो र देशव्यापी बनाउने कुलमान घिसिङको उद्घोष

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले निर्वाचनको परिणामले पार्टीलाई कमजोर नबनाएको, बरु थप सशक्त भएर अघि बढ्न प्रेरणा दिएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले निर्वाचनमा अपेक्षाअनुरूप नतिजा नआए पनि आफूहरूले हार नमानेको स्पष्ट पारे । उनले यस निर्वाचनलाई पार्टीको आगामी सफलताको पहिलो खुड्किलोका रूपमा अर्थ्याए ।

“पछिल्लो निर्वाचन हाम्रा लागि एउटा अनुभव र सिकाइ हो, यसलाई हामीले सफलताको पहिलो खुड्किलोका रूपमा लिएका छौं,” घिसिङले भने । उनले चुनावी नतिजा जस्तो भए पनि जनताको विश्वास र माया नघटेको दाबी गर्दै जनताको त्यही विश्वासलाई आगामी दिनमा शक्तिमा परिणत गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

पार्टीलाई अब देशव्यापी बनाउने आफ्नो योजना सार्वजनिक गर्दै अध्यक्ष घिसिङले नेता तथा कार्यकर्ताहरूलाई विशेष निर्देशन दिएका छन्। उनले भने, “अबको मुख्य समय पार्टी विस्तारमा लगाउनुपर्छ। सदस्यता वितरण कार्यलाई अभियानकै रूपमा अघि बढाउनुहोस् ।”

उनले पार्टीलाई तल्लो तहसम्म सुदृढ गर्दै उज्यालो नेपालको परिकल्पनालाई साकार पार्न सङ्गठन निर्माणमा केन्द्रित हुन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार