जनाधार खुम्चिँदै गएकोमा नेता महतको गम्भीर चिन्ताः ‘बृहत्तर एकता नभए कांग्रेस पुनःउत्थान कठिन’

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टी चुनौतीपूर्ण घडीबाट गुज्रिरहेको भन्दै पार्टीभित्र तत्काल बृहत्तर एकताको आवश्यकता औँल्याएका छन्। बाँसबारीस्थित आफ्नै निवासमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा नेता महतले कांग्रेस आफ्नो परम्परागत जनाधारबाट खुम्चिँदै गएकोमा गम्भीर चिन्ता व्यक्त गरे।

पत्रकार सम्मेलनमा डा. महतले कांग्रेसभित्र अहिले गम्भीरुमनोवैज्ञानिक खाडल देखिएको दाबी गरे। विशेष गरी नियमित १५औँ महाधिवेशनको पक्षधर र हालको विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेका पक्षबीच देखिएको दूरीले पार्टीलाई थप कमजोर बनाएको उनको भनाइ छ।

उनले भने, “पार्टी संसद्‌मा सीमित सङ्ख्यामा खुम्चनु र परम्परागत जनाधार कमजोर हुनुले कांग्रेस चुनौतीपूर्ण घडीमा रहेको स्पष्ट हुन्छ। यस्तो अवस्थामा पार्टीमा नयाँ ऊर्जा भर्न र कार्यकर्तामा पलाएको विचलन रोक्न नेतृत्व तहबाटै भरोसायोग्य कदम चालिन आवश्यक छ।”

नेता महतले पार्टीलाई गति दिन र सबैलाई समेट्नका लागि हालको नेतृत्वले ढिलाइ गर्न नहुने बताए। उनले विशेष महाधिवेशनबाट प्राविधिक रूपमा आधिकारिकता प्राप्त गरेका नेताहरू (विशेष गरी गगन थापा लगायतका नेतृत्व) प्रति लक्षित गर्दै बृहत्तर एकताका लागि ठोस पहल गर्न आग्रह गरे।

“फाट्टफुट्ट र अनौपचारिक भेटघाटले मात्र सबैलाई समेटेर पार्टी एकता अभियान सफल हुँदैन,” महतले चेतावनी दिँदै भने, “अब अलमलिने समय छैन। तत्कालै सबै पक्षबीच गम्भीर र सघन छलफल हुनुपर्छ र निष्कर्ष निकालेर पार्टीलाई चलायमान बनाउनुको विकल्प छैन।”

नेतृत्वबाटै विश्वासको वातावरण निर्माण हुन नसक्दा पार्टी छाड्ने वा निष्क्रिय बस्नेहरूको सङ्ख्या बढ्नु दुःखद भएको उनको टिप्पणी छ। आगामी दिनमा कांग्रेसलाई पुनः लोकप्रिय र भरपर्दो शक्ति बनाउन तत्काल बृहत्तर एकता नै एकमात्र मार्ग रहेको नेता महतले दोहोर्‍याए ।

प्रतिक्रिया

सम्बन्धित समाचार