किष्ट शिक्षण अस्पतालअन्तर्गत सञ्चालित किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको छ। जटिल शल्यक्रियापछि आवश्यक उपचार तथा विशेषज्ञ निगरानी पूरा भएपछि बालिकालाई स्वास्थ्य अवस्था स्थिर र सन्तोषजनक रहेको अवस्थामा अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
बालिकाकी ३३ वर्षीया आमाले आफ्नै कलेजोको केही हिस्सा छोरीलाई दान गरेकी हुन्। आमाबाट प्राप्त कलेजोको अंश प्रत्यारोपण गरिएपछि बालिकाको स्वास्थ्यमा अपेक्षित सुधार देखिएको र प्रत्यारोपणपछिको उपचार तथा विशेषज्ञ चिकित्सकको निगरानी पूरा भएपछि उनलाई घर पठाइएको अस्पतालले जनाएको छ।
किष्ट प्रत्यारोपण केन्द्रका अनुसार बालिकाको सफल कलेजो प्रत्यारोपण जटिल शल्यक्रियाको चिकित्सकीय उपलब्धिमा मात्र सीमित छैन। यो एक आमाको त्याग, परिवारको आशा र चिकित्सकीय टोलीको समर्पणसँग जोडिएको नयाँ जीवनको कथा पनि हो। आमाले आफ्नो कलेजोको हिस्सा दिएर छोरीलाई नयाँ जीवनको अवसर उपलब्ध गराएकी छन् भने किष्टको विशेषज्ञ चिकित्सकीय टोलीले प्रत्यारोपणलाई सफलतापूर्वक सम्पन्न गरेर त्यसलाई सार्थक बनाएको अस्पतालको भनाइ छ।
बालबालिकामा गरिने कलेजो प्रत्यारोपण जटिल र संवेदनशील उपचार प्रक्रियामध्ये एक मानिन्छ। प्रत्यारोपणअघि बिरामीको विस्तृत स्वास्थ्य परीक्षण, दाताको उपयुक्तता परीक्षण, शल्यक्रियाको तयारी, प्रत्यारोपणका क्रममा विभिन्न विशेषज्ञको समन्वय तथा प्रत्यारोपणपछि निरन्तर निगरानी आवश्यक हुन्छ। किष्ट प्रत्यारोपण केन्द्रले यी सबै पक्षलाई समेटेर उपचार सेवा प्रदान गर्दै आएको जनाएको छ।
नेपालमै जटिल तथा उन्नत प्रत्यारोपण उपचारको पहुँच विस्तार गर्ने उद्देश्यले केन्द्रले आधुनिक पूर्वाधार, अनुभवी विशेषज्ञ चिकित्सकीय टोली, अत्याधुनिक शल्यक्रिया सुविधा र सघन उपचार सेवासहित प्रत्यारोपणसम्बन्धी उपचार सञ्चालन गर्दै आएको अस्पतालले जनाएको छ। प्रत्यारोपणका लागि आवश्यक विभिन्न विधाका चिकित्सकबीचको समन्वयलाई समेत केन्द्रले उपचार प्रणालीको महत्वपूर्ण पक्षका रूपमा अघि बढाएको छ।
केन्द्रका अनुसार प्रत्यारोपण सेवा शल्यक्रियामा मात्र सीमित नराखी प्रत्यारोपणअघि, प्रत्यारोपणका क्रममा र प्रत्यारोपणपछि आवश्यक सम्पूर्ण उपचारलाई एउटै समन्वित बहुविषयगत प्रणालीमार्फत अघि बढाउने गरिएको छ। बिरामीको अवस्था मूल्यांकनदेखि शल्यक्रिया, सघन उपचार, औषधि व्यवस्थापन र प्रत्यारोपणपछिको नियमित निगरानीसम्म विभिन्न विशेषज्ञ टोलीको समन्वयमा उपचार गरिने केन्द्रले जनाएको छ।
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपणलाई किष्ट शिक्षण अस्पतालले आफ्नो प्रत्यारोपण सेवाको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। अस्पतालका अनुसार यस्तो सफलताले नेपालमै जटिल प्रत्यारोपण सेवा विस्तार गर्न सकिने सम्भावनालाई थप बलियो बनाएको छ।
किष्ट शिक्षण अस्पतालले आगामी दिनमा बालबालिकासहित जटिल स्वास्थ्य समस्या भएका बिरामीका लागि उन्नत प्रत्यारोपण सेवा थप विस्तार गर्ने जनाएको छ। नेपालमै गुणस्तरीय तथा जटिल प्रत्यारोपण उपचार उपलब्ध गराउने उद्देश्यका साथ आवश्यक पूर्वाधार, विशेषज्ञ जनशक्ति र बहुविषयगत उपचार प्रणालीलाई थप सुदृढ गर्दै लैजाने अस्पतालको प्रतिबद्धता छ।










प्रतिक्रिया