पुराना दलका नेतालाई जेन्जी आन्दोलनको अपमान नगर्न गृहमन्त्री गुरुङको चेतावनी

गृहमन्त्री सुधन गुरुङले जेन्जी आन्दोलनलाई विभिन्न ढंगले व्याख्या गर्दै अपमान गर्ने प्रयास नगर्न पुराना राजनीतिक दलका नेताहरूलाई चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेन्जी आन्दोलन इतिहासको महत्वपूर्ण घटना भएकाले त्यसलाई कसैले आफ्नो स्वार्थअनुसार बदल्न नसक्ने बताए।

गृहमन्त्री गुरुङले जेन्जी आन्दोलनबारे अझै पनि पुराना राजनीतिक दलका केही नेताहरूले विभिन्न किसिमका टिप्पणी तथा व्याख्या गरिरहेको भन्दै त्यसप्रति असन्तुष्टि जनाए। उनले आन्दोलनको इतिहासलाई तोडमोड गर्ने वा त्यसको महत्वलाई कमजोर बनाउने प्रयास नगर्न आग्रह गरे।

‘अझै पनि पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई अझै पनि विभिन्न तरिकाले व्याख्या गरेको देख्दा अचम्मै लाग्छ,’ उनले भने, ‘उहाँहरू सबै जनालाई भन्न चाहन्छु, त्यो दिन इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन। इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस्।’

उनले जेन्जी आन्दोलनको औचित्य र त्यसको इतिहास जनताले नै प्रमाणित गरिसकेको दाबी गरे। आन्दोलनको इतिहास प्रमाणित गर्न तीन करोड नेपाली जनताले आफूहरूलाई निर्वाचित गरेर पठाएको उनको भनाइ थियो। जनताको मतबाट प्राप्त समर्थन नै आन्दोलनको राजनीतिक वैधताको प्रमाण भएको उनले बताए।

गुरुङले जेन्जी आन्दोलनलाई अपमान गर्ने प्रयासले आन्दोलनमा सहभागी युवामात्र नभई समग्र नेपाली जनताको भावनाको अपमान हुने दाबी गरे। ‘यो आन्दोलनलाई अपमान गर्नुहुन्छ भने तपाईँले तीन करोड नेपाली जनतालाई अपमान गरिराख्नुभएको छ, यो पनि स्मरण रहोस्,’ उनले भने।

उनले पुराना राजनीतिक सोच र कार्यशैलीबाट नयाँ नेपाल निर्माण सम्भव नहुने भन्दै राजनीतिक दल तथा नेताहरूलाई आफ्नो सोच र व्यवहार परिवर्तन गर्न आग्रह गरे। अझै पनि समय रहेकाले सुध्रिन उनले आग्रह गरे।

‘त्यही भएर सुध्रिनुस्। अझै पनि समय छ सुध्रिनुस्। त्यही पुरानो सोचले नयाँ नेपाल तपाईँले बनाउन सक्नुहुन्न,’ उनले भने।

गृहमन्त्री गुरुङले जेन्जी आन्दोलन सत्तामा पुग्ने वा शक्ति प्राप्त गर्ने उद्देश्यले नभएको पनि स्पष्ट पारे। आफूहरू भदौ २३ गतेको आन्दोलनमा कुनै राजनीतिक दलको सत्ता जोगाउन वा सत्ता प्राप्त गर्नका लागि सहभागी नभएको उनको दाबी थियो। आफूहरूलाई अहिले पनि सत्ताको लोभ वा शक्तिको घमण्ड नरहेको उनले बताए।

‘भदौ २३ मा पनि हामी तपाईँको सत्ताको पछाडि थिएनौँ। न त हामीलाई सत्ताको लोभ नै छ, न त शक्तिको घमण्ड नै छ। अहिले पनि छैन,’ उनले भने।

उनले जेन्जी आन्दोलन सुशासन, जवाफदेहिता र राज्य सञ्चालनमा सुधारको मागसहित अघि बढेको दाबी गरे। सुशासनको पक्षमा आवाज उठाएका युवामाथि तत्कालीन सरकारले गोली चलाएको आरोप लगाउँदै उनले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति सम्मान व्यक्त गरे।

गुरुङले जेन्जी आन्दोलनका क्रममा उठाइएका मागलाई सरकारले सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। युवाहरूले उठाएका प्रश्न र अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिएको भन्दै उनले सुशासन स्थापना तथा राज्य संयन्त्रमा सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार