मुक्तिनाथ विकास बैंक लिमिटेडले एकैपटक दुई वित्तीय संस्थालाई प्राप्ति गरेर आफ्नो व्यावसायिक दायरा विस्तार गर्ने प्रक्रिया अघि बढाएको छ। बैंकले सिन्धु विकास बैंक लिमिटेड र जानकी फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने गरी दुवै संस्थासँग छुट्टाछुट्टै प्रारम्भिक सम्झौता गरेको हो।
मुक्तिनाथ विकास बैंकको भदौ १९ गते बिहान ११ बजे बसेको सञ्चालक समितिको ३८५औँ बैठकले दुवै संस्थालाई प्राप्ति गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। सोही निर्णयअनुसार सिन्धु विकास बैंक र जानकी फाइनान्ससँग प्रारम्भिक सम्झौता गरिएको छ।
प्रस्तावित प्राप्ति सम्पन्न भएमा सिन्धु विकास बैंक र जानकी फाइनान्स दुवै मुक्तिनाथ विकास बैंकअन्तर्गत आउनेछन्। एउटा विकास बैंकसँगै फाइनान्स कम्पनीसमेत एकैपटक प्राप्ति गर्न खोजिएकाले मुक्तिनाथको संस्थागत संरचना, व्यवसाय र सेवा सञ्जालमा यसको प्रभाव पर्नेछ।
तर प्रारम्भिक सम्झौता हुँदैमा प्राप्ति निश्चित भइसकेको भने होइन। अब विस्तृत अध्ययन तथा मूल्यांकनसँगै तीनवटै संस्थाको सम्पत्ति र दायित्वको यथार्थ परीक्षण (ड्यु डिलिजेन्स) गरिनेछ। त्यसपछि सेयर आदानप्रदान अनुपात तथा प्राप्तिका अन्य सर्त निर्धारण गर्ने प्रक्रिया अघि बढ्नेछ।
लगानीकर्ताका लागि मुख्य चासोको विषय बन्ने स्वाप रेसियो भने अहिले खुलाइएको छैन। अन्तिम स्वाप रेसियोले सिन्धु विकास बैंक र जानकी फाइनान्सका सेयरधनीले आफ्नो सेयरबापत मुक्तिनाथ विकास बैंकको कति सेयर पाउने भन्ने निर्धारण गर्नेछ।
भदौ १८ गतेको अन्तिम कारोबार मूल्यअनुसार मुक्तिनाथ विकास बैंकको सेयर प्रतिकित्ता ३५६ रुपैयाँ ९० पैसा थियो। सिन्धु विकास बैंकको सेयर मूल्य भने मुक्तिनाथभन्दा निकै माथि ५८५ रुपैयाँ ५० पैसा थियो। जानकी फाइनान्सको सेयर प्रतिकित्ता ३६८ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।
यद्यपि दोस्रो बजारमा कायम यी मूल्यलाई स्वाप रेसियोसँग प्रत्यक्ष तुलना गर्न मिल्दैन। प्राप्तिका क्रममा संस्थाको सम्पत्ति, दायित्व, वित्तीय अवस्था तथा तोकिएका अन्य आधारको मूल्यांकनपछि मात्रै सेयर आदानप्रदान अनुपात तय हुनेछ।
प्रस्तावित प्राप्तिले अन्तिम रूप लिन नेपाल राष्ट्र बैंकसहित सम्बन्धित नियामकीय निकायको स्वीकृति आवश्यक पर्नेछ। प्रचलित कानुनअनुसार आवश्यक संस्थागत तथा नियामकीय प्रक्रिया पूरा भएपछि मात्रै सिन्धु विकास बैंक र जानकी फाइनान्स मुक्तिनाथ विकास बैंकमा प्राप्ति हुने प्रक्रिया कार्यान्वयनमा जानेछ।







प्रतिक्रिया