काठमाडौं । मिसेस भोग नेपाल सिजन–३ की विजेता प्रतिक्षा थापाले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस ग्राण्ड इन्टरनेसनल म्यानमार २०२६’ मा ‘मिसेस ग्राण्ड ग्लोबल वुमन २०२६’ को उपाधि जितेकी छन्। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै उनले मुख्य उपाधिसँगै ‘मिसेस ग्ल्यामर’ को सब–टाइटलसमेत आफ्नो नाममा पार्न सफल भएकी हुन्।
हाउस अफ फेसन नेपालका अनुसार ३२ वर्षीया थापाले हालै म्यान्मारमा आयोजित प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन्। उनको अन्तर्राष्ट्रिय सफलताले नेपाली महिलाको क्षमता र प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न थप बल पुगेको संस्थाले जनाएको छ।
प्रतियोगितामा नेपालबाट राष्ट्रिय निर्देशकका रूपमा सहभागी ओशिमा बानुले पनि ‘बेस्ट नेसनल डाइरेक्टर अवार्ड’ प्राप्त गरेकी छन्। नेपालको प्रभावकारी प्रतिनिधित्व, समर्पण र योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा थापा र बानुले म्यान्मारमा हासिल गरेको अन्तर्राष्ट्रिय सफलताको अनुभव सञ्चारकर्मीसँग साझा गरे। थापाले आफ्नो मेहनतसँगै हाउस अफ फेसन नेपालका मेन्टरहरूको प्रशिक्षण र मार्गदर्शनले अन्तर्राष्ट्रिय उपाधि जित्न महत्वपूर्ण भूमिका खेलेको बताइन्।
बानुले पनि प्रतिक्षाको मेहनत तथा आफ्नो टिमको निरन्तर प्रयासका कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव बढाउन सफल भएको बताइन्।
पत्रकार सम्मेलनमा हाउस अफ फेसन नेपालले यस सफलतालाई नेपाली महिलाको आत्मविश्वास, क्षमता र नेतृत्वलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने आफ्नो अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेको छ।
कार्यक्रममा प्रतियोगिताका टाइटल स्पोन्सर सगून ज्वेलर्सका प्रमुख कार्यकारी अधिकृत पियूष सरावगी, मिसेस भोग नेपाल सिजन–२ की विजेता डा. सुमी मल्ल, पर्यटनविद् तथा ठमेल पर्यटन विकास परिषद्का पूर्वउपाध्यक्ष गीता गुरुङ र फेसन उद्यमी श्रीजा श्रेष्ठलगायतको सहभागिता थियो। उनीहरूले प्रतिक्षा थापाको अन्तर्राष्ट्रिय उपलब्धिको प्रशंसा गर्दै आगामी संस्करणमा अझ उत्कृष्ट प्रतिस्पर्धा हुने अपेक्षा व्यक्त गरे।
‘मिसेस भोग’ को चौथो संस्करण घोषणा
प्रतिक्षा थापाको अन्तर्राष्ट्रिय सफलताकै अवसरमा हाउस अफ फेसन नेपालले विवाहित महिलाको आत्मविश्वास, व्यक्तित्व विकास, नेतृत्व क्षमता र व्यावसायिक सम्भावनालाई उजागर गर्ने उद्देश्यसहित ‘मिसेस भोग नेपाल सिजन–४’ को घोषणा गरेको छ।
‘मुकुटभन्दा पर–उपाधिभन्दा ठूलो एउटा यात्रा’ (BEYOND THE CROWN – Where a Title Becomes a Journey) भन्ने मूल नाराका साथ आयोजना हुने चौथो संस्करणलाई आयोजकले केवल सौन्दर्य तथा ताजको प्रतिस्पर्धाका रूपमा नभई व्यक्तिगत रूपान्तरण, आत्मविश्वास अभिवृद्धि, नेतृत्व विकास, सञ्चार क्षमता र अन्तर्राष्ट्रिय अवसरसँग जोडिएको यात्राका रूपमा अघि बढाउने जनाएको छ।
यस संस्करणको विशेष पक्षका रूपमा भौतिक अडिसन नहुने भएको छ। नेपालका विभिन्न स्थानमा रहेका तथा विदेशमा रहेका इच्छुक नेपाली महिलाले समेत सहज रूपमा सहभागिता जनाउन सकून् भन्ने उद्देश्यले सम्पूर्ण अडिसन प्रक्रिया अनलाइनमार्फत सञ्चालन गरिनेछ।
आयोजकले आइतबार साँझदेखि नै सामाजिक सञ्जालमार्फत आवेदन खुला गरेको छ। इच्छुक सहभागीले आधिकारिक अनलाइन आवेदन फाराम भरेर आफ्नो प्रोफाइल तथा आवश्यक विवरण डिजिटल माध्यमबाट बुझाउन सक्नेछन्।
प्राप्त आवेदनमध्ये प्रारम्भिक रूपमा छनोट हुने सहभागीलाई अडिसन प्रक्रियाअघि आवश्यक काउन्सेलिङ तथा मार्गदर्शन प्रदान गरिनेछ।
हाउस अफ फेसन नेपालकी निर्देशक ओशिमा बानुले छनोट प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउँदै सहभागीको व्यक्तित्व, आत्मविश्वास, सञ्चार क्षमता, प्रस्तुति शैली तथा समग्र सम्भावनालाई मुख्य आधार बनाइने बताइन्।
छनोट भएका सहभागीलाई प्रतियोगिताको यात्राका क्रममा विभिन्न व्यावसायिक ग्रुमिङ तथा प्रशिक्षण कार्यक्रममा सहभागी गराइनेछ। प्रशिक्षणमा आत्मविश्वास, सञ्चार क्षमता, स्टेज प्रेजेन्स र व्यक्तित्व विकासमा विशेष ध्यान दिइने आयोजकले जनाएको छ।
त्यसैगरी सहभागीलाई आफ्नो मौलिक पहिचान पहिल्याउन, क्षमता तथा प्रतिभालाई प्रभावकारी रूपमा प्रस्तुत गर्न र व्यक्तिगत पहिचानलाई व्यावसायिक रूपमा विकास गर्न आवश्यक मार्गदर्शनसमेत दिइनेछ।
आयोजकका अनुसार ‘BEYOND THE CROWN’ अवधारणाको उद्देश्य महिलालाई केवल प्रतियोगिताको विजेता बनाउनु नभई समाजमा सकारात्मक भूमिका निर्वाह गर्न सक्ने आत्मविश्वासी र सक्षम नेतृत्वकर्ताका रूपमा विकास गर्नु हो।
प्रतियोगिताका विजेताले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने तथा ग्लोबल एक्सपोजर प्राप्त गर्ने अवसर पाउनेछन्। आगामी जनवरीमा आयोजना हुने ग्राण्ड फिनालेका विजेताका लागि पाँच लाख रुपैयाँसम्मका नगद तथा उपहार र विभिन्न अवसर उपलब्ध गराइने आयोजकले जनाएको छ।
आयोजकले विजेताको उपलब्धिलाई ताज र उपाधिमा मात्र सीमित नराखी व्यक्तिगत तथा व्यावसायिक विकाससँग जोड्ने जनाएको छ। प्रतियोगिताको सम्पूर्ण यात्रामा सहभागीलाई निरन्तर मार्गदर्शन, सहयोग र आवश्यक समन्वय उपलब्ध गराइनेछ।
हाउस अफ फेसन नेपालका अनुसार ‘मिसेस भोग नेपाल सिजन–४’ विवाहित महिलाका लागि एउटा ताज जित्ने प्रतियोगितामात्र नभई आत्मविश्वास, नेतृत्व, व्यक्तित्व विकास, व्यावसायिक वृद्धि र अन्तर्राष्ट्रिय अवसरतर्फको यात्रा हुनेछ।
परिवार र सामाजिक जिम्मेवारीसँगै विवाहित महिलाले आफ्नै पहिचान, सपना र सम्भावनालाई पनि अघि बढाउन सक्छन् भन्ने सन्देश दिने उद्देश्यले चौथो संस्करणलाई अझ फराकिलो अवधारणाका साथ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।












प्रतिक्रिया