नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सञ्चालन गर्दै आएको ‘वर्ल्डलिंक इन्टरनेट एकेडेमी’ मार्फत समुदायस्तरमा डिजिटल साक्षरता र सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी सचेतना अभियानलाई तीव्रता दिएको छ। डिजिटल प्रविधि दैनिक जीवनको अभिन्न अङ्ग बनेसँगै बढ्दो साइबर दुव्र्यवहार, अनलाइन ठगी, गोपनीयता उल्लङ्घन र गलत सूचनाजस्ता जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कम्पनीले यो पहलकदमी सुरु गरेको जनाएको छ ।
वर्ल्डलिंककी प्रमोटर सेयरहोल्डर तथा सीएसआर डाइरेक्टर अनुपा भण्डारी जालानको अवधारणा र नेतृत्वमा सुरु भएको यो अभियानअन्तर्गत साउन २०८२ देखि जेठ २०८३ सम्म काठमाडौं उपत्यकाका विभिन्न समुदायमा सञ्चालित कार्यक्रमबाट ३९२ जना प्रत्यक्ष लाभान्वित भएको बताइएको छ । संस्थाले यसअघि नै भक्तपुरको चाँगुनारायण नगरपालिकामा १९ वटा विद्यालयका करिब १,४९० विद्यार्थीलाई यससम्बन्धी तालिम प्रदान गरिसकेको छ । विद्यालय तहबाट प्राप्त सकारात्मक प्रतिक्रिया र समुदायस्तरबाट बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले यस अभियानलाई समुदायसम्मै विस्तार गरेको हो ।

हालसम्म महिला मानव अधिकार संस्था, काठमाडौं महानगरपालिकाका वडा नं ९ र १० तथा टोखा नगरपालिकाका सम्पूर्ण वडाहरूसँगको सहकार्यमा १२ वटा सघन तालिम सत्रहरू सञ्चालन भइसकेको वर्ल्डलिंकले जनाएको छ । यी कार्यक्रमहरूमा महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
तालिममा सहभागीहरूलाई जिम्मेवार इन्टरनेट प्रयोग, साइबर बुलिङ, व्यक्तिगत गोपनीयताको सुरक्षा, डिजिटल उत्पीडन, अनलाइन ठगी र गलत सूचनाको पहिचानलगायतका विषयमा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । तालिममा सहभागीहरूले यस्तो सचेतनाले आफूहरूमा रहेको इन्टरनेटप्रतिको त्रास कम गर्नुका साथै सुरक्षित रूपमा प्रविधि प्रयोग गर्ने आत्मविश्वास बढाएको प्रतिक्रिया दिएका छन् । उनीहरूले यहाँ सिकेका कुराहरू आफ्नो परिवार र साथीभाइसमक्ष पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
डिजिटल समावेशीकरण र सुरक्षित अनलाइन संस्कृति निर्माण गर्ने लक्ष्य राखेको वर्ल्डलिंकले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई थप विस्तार गर्दै लैजाने योजना बनाएको छ ।





प्रतिक्रिया