सुन प्रकरणको अनुसन्धान जरैसम्म पुगेर गरिनेछ : प्रधानमन्त्री दाहाल

काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सुन प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्‍याउने बताएका छन् ।

प्रधानमन्त्री दाहालले उक्त प्रकरणको जरैसम्म पुगेर छानबिन गर्ने र दोषी देखिएका सबैलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी पदाधिकारी बैठकमा उनले सुन प्रकरणलगायत भ्रष्टाचार प्रकरण र अनियमिततालाई अन्तिम निष्कर्षमा पुर्‍याउन सरकार दृढ रहेको बताए ।

यही साउन ३ गते राजश्व अनुसन्धान विभागले सिनामंगलबाट ठूलो मात्रामा सुन बरामद गरेका थियो । हाल सरकारले सो सम्बन्धमा अनुसन्धान गरिरहेको छ । उक्त प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् ।

सुन प्रकरणलाई निष्कर्षमा पुर्‍याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले त्यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।

मुलुक विकासको बाधकका रूपमा रहेको भ्रष्टाचार, अनियमितता, कमिसन जस्ता विषयलाई अन्तिम निष्कर्षमा पुर्‍याउन कुनै पनि कसर बाँकी नराखिने स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले निर्दोष नफस्ने र दोषीलाई उम्कन नदिने विषयमा सरकार दृढ रहेको बताएको नेकपा (माओवादी केन्द्र)का सचिव दिनानाथ शर्माले जानकारी दिए ।

बैठकमा पार्टीका उपमहासचिव बर्षमान पुनले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन आग्रह गरेका छन् । उनले सो प्रकरणमा जोडिएका सबैलाई छानबिनको दायरामा ल्याउन र कानूनी कारबाही गर्नुपर्ने बताए ।

सरकारले अगाडि बढाएको भ्रष्टाचार र अनियमितता विरुद्धको अभियानलाई प्रभावित पारेर अन्यत्रै मोड्न र दोषी उम्काउनका लागि आफ्नो नाम समेत जोडेर प्रचार गरिएको उनको भनाइ छ ।

उपमहासचिव पुनले भ्रष्टाचार र अनियमितताविरुद्ध सरकारले अगाडि बढाएको अभियानलाई सफल बनाएरै छाड्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार