काठमाडौ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कोशी प्रदेशका सभामुख बाबुराम घिमिरेको राजीनामा गराउने तयारी गरेका छन् ।
सभामुख घिमिरेसहितको हस्ताक्षरमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका कांग्रेस नेता उद्धव थापाको नियुक्ति सर्वोच्चले बदर गरिदिएसँगै अध्यक्ष दाहाललगायत सत्तारुढ दलका नेताहरु कोशी प्रदेशको नयाँ सरकार गठन गर्ने तयारीम जुटेका छन् ।
सर्वोच्च अदालतको आदेशअनुसार प्रदेश प्रमुख परशुराम खापुङले १६ गतेभित्र दाबी पेस गर्न आह्वान गरेका छन् ।
निर्धारित मितिमै नयाँ सरकार गठन गर्ने तयारीस्वरुप सत्तारुढ गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई मनाउन गरेको प्रयास विफल भएको छ ।
अध्यक्ष दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघ र सबै प्रदेश सरकारमा सहकार्यको प्रस्ताव राख्दा लिङ्देनले सत्ता अहिले प्राथमिकतामा नरहेको जवाफ फर्काएपछि प्रचण्ड प्रदेश सभामुखलाई राजीनामा गराउने तयारीमा लागेका हुन् ।
सोही तयारी स्वरुप अध्यक्ष दाहालले आइतबार साँझ कोशी प्रदेशका माओवादी नेताहरुसँग कुराकानी गरेका छन् ।
सो क्रममा उनले ‘अर्कै विकल्पमा जानुपर्ने’ बिफ्रिङ गरेका थिए । त्यो विकल्प भनेको गौतमलाई सभामुखबाट राजीनामा गराउने नै हो ।
गौतमले राजीनामा दिए गठबन्धनसँग ४७ प्रदेशसभा सदस्य हुन्छ । कांग्रेससँग २९, माओवादीसँग गौतमले सभामुखबाट राजीनामा दिदा १३, एकीकृत समाजवादीसँग ४ र जनता समाजवादी पार्टीसँग १ सदस्य छन् ।
६ सिटको राप्रपाले साथ दिएको भए कोशी प्रदेशसभामा कांग्रेस नेतृत्वको सत्तारुढ दलहरुसँग सभामुख बाहेक नै ५२ प्रदेशसभा सदस्य पुग्थे । राप्रपालाई मनाउने प्रयास असफल भएपछि गठबन्धन दोस्रो विकल्पका लागि अघि बढेको हो ।
यद्यपि, सभामुख गौतमले भने राजीनामा दिन अस्वीकार गरेका छन् । उनलाई मुख्यमन्त्रीको टुंगो नलागी पदबाट राजीनामा नगर्न माओवादी नेताहरुले सुझाब दिएका छन् ।
प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस र माओवादी दुवै पार्टीको दाबी छ । आलोपालोमा सहमति भए पनि पहिले आफूले नेतृत्व गर्न पाउनुपर्नेमा दुवै पार्टीको दाबी छ ।
कांग्रेसले गठबन्धनको ठूलो दल भएको र भर्खरै मुख्यमन्त्री पद गुमेकाले आफ्नै नेतृत्व हुनुपर्ने तर्क गरेको छ ।
यता, माओवादीले पनि छँदाखाँदाको सभामुख गुमाएपछि आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने तर्क गरेको छ ।
माओवादी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले सार्वजनिक रुपमै मुख्यमन्त्रीमा दाबी रहने बताइ सकेका छन् ।
यसअघि एमाले नेता हिक्मत कार्कीको सरकारबाट बाहिरिँदा पनि मुख्यमन्त्री लिने सहमति भएको माओवादीको दाबी छ ।






प्रतिक्रिया