रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रु ५० लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ।
नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले आइतबार विज्ञप्ति जारी गर्दै बाढी प्रभावितको उद्धार तथा पुनःस्थापनाका लागि उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गर्ने निर्णय भएको जानकारी दिनु भएको हो ।
नाइमाले बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
विपद्को सुरुवाती समयदेखि नै नाइमामा आवद्ध सदस्य कम्पनीहरूले आर्थिक, यातायात तथा लजिस्टिक माध्यमबाट उद्धार कार्यमा निरन्तर सहयोग पुर्याउँदै आएको विज्ञप्तिमा उल्लेख छ।
“स्थापनाकालदेखि नै हामीले विपद्को समयमा सरकारलाई सहयोग गर्दै आएका छौँ। यसपटक पनि हाम्रा सदस्य कम्पनीले देखाउनुभएको तत्परता प्रशंसनीय छ। सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यले मात्र राहत तथा पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन सकिन्छ,” अध्यक्ष वैद्यले भन्नु भयो ।
साथै, नाइमाले उद्धार कार्यमा खटिएका सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा स्थानीय समुदायको उच्च सम्मान गरेको छ। संस्थाले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका सम्पूर्ण सरोकारवाला निकायहरूलाई पनि आफ्नो क्षमताअनुसार राहत र उद्धारमा हातेमालो गर्न अपिल गरेको छ।






प्रतिक्रिया