पूर्वराजा ज्ञानेन्द्र र डा धवलको भेटवार्ता, स्थानीय चुनावमा भिड्ने जय नेपाली पार्टीको तयारी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएर ‘जय नेपाल पार्टी’ गठन गरेका डा धवलशमशेर जबरा र पूर्वराजा ज्ञानेन्द्र शाहबीच सोल्टी होटलमा भेटवार्ता भएको छ। हिमानी ट्रस्टको कार्यक्रमका क्रममा राजधानीको सोल्टी होटलमा भएको उक्त भेटमा देशको वर्तमान राजनीतिक, सामाजिक अवस्था तथा नयाँ राजनीतिक यात्राबारे छलफल भएको छ।

डा जबराले आफूहरू राजसंस्था र हिन्दू अधिराज्यको पक्षमा जनमत सिर्जना गर्दै अघि बढ्ने निर्णयबारे पूर्वराजालाई जानकारी गराएका थिए। भेटमा पूर्वराजा शाहले देशको स्थितिप्रति चिन्ता व्यक्त गर्दै सबै जातजाति, संस्कृति र समुदायलाई समेटेर अगाडि बढ्न शुभकामना दिएका छन्।

राप्रपासँगको सम्बन्ध सकिएको स्पष्ट पार्दै प्रसाईंसँग कुरा नमिलेको विषयमा पूर्वराजाले सामान्य रूपमा लिँदै कुनै टिप्पणी नगरेको जबराले बताए।

जबराले वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यशैलीमाथि असन्तुष्टि जनाएका छन् । बालेन सरकार असफलतातर्फ गएको उनको भनाइ छ । जनताको आशा र अपेक्षा पूरा गर्न नसकेको र अनुभवको कमीका कारण वर्तमान सरकार असफलतातर्फ गइरहेको उनको दाबी छ। रास्वपाका नेताहरूमा अरूसँग सल्लाह नलिने र  हामीलाई नै सब थाहा छ भन्ने घमण्ड देखिएको आरोप उनले लगाए।

स्थानीय तहको पूर्वअनुभवलाई सदुपयोग गर्दै डा जबराको नयाँ पार्टीले आफ्नो ध्यान तल्लो तहको राजनीतिमा केन्द्रित गर्ने भएको छ । भदौ र असोज महिनाभित्र देशका ७७ वटै जिल्लामा तदर्थ समिति तथा युवा, महिला र जेनजी केन्द्रित जनवर्गीय संगठनहरू गठन गरिनेछ। स्थानीय तहबाटै जनताको सेवा प्रभावकारी रूपमा गर्न सकिने भएकाले स्वच्छ छवि, इमानदार र क्षमतावान् व्यक्तिहरूलाई अघि सार्दै आगामी स्थानीय तहको निर्वाचनमा भाग लिने पार्टीको तयारी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार