काँग्रेसका महामन्त्रीद्वय विशेष महाधिवेशनको तयारीमा, संस्थापन पक्ष विपक्षमा

नेपाल काँग्रेसमा नियमित महाधिवेशन र विशेष महाधिवेशनको विवाद बढेपछि पार्टी फुट्न सक्ने संकेत देखिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नियमित महाधिवेशन हुन नसक्ने अवस्थामा विशेष महाधिवेशनको विकल्प नभएको भन्दै तयारी शुरु गरेका छन् ।

विशेष महाधिवेशन पक्षधरसहित दुवै महामन्त्रीले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने तयारी गरेका छन् । विशेष महाधिवेशन पक्षधरले काठमाडौँको भृकुटीमण्डपमा हल समेत बुक गरेर तयारी तिब्र बनाएका छन् ।

विहिबार महामन्त्रीद्वय थापा र शर्माले पुस २७ र २८ मा विशेष महाधिवेशन गर्ने निर्णय गर्दै अगाडी बढेको बुझिएको छ । साथै सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको उद्घाटन गर्न निमन्त्रणा गर्ने समेत उनीहरुले बताएका छन् ।

कांग्रेसको १५औं महाधिवेशन कार्यतालिका ल्याउदै त्यसअनुसार बुधबार वडा र आज पालिका अधिवेशन हुनुपर्ने तालिका रहेको थियो तर त्यो हुन सकेको थिएन । काँग्रेसको क्रियाशील सदस्यता नै टुंगो नलागे पछि नियमित महाधिवेशनको कार्यतालिकानै शुरु हुन सकेन । काँग्रेसको विधान अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको तीन महिना भित्र गर्नुपर्ने व्यवस्था रहेको छ । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले गत असोज २९ गते नै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग पेश गरेका थिए । विधान अनुसार तीन महिनाको समय पुस २९ गते सकिदैछ ।

अर्कोतर्फ सभापति शेरबहादुर देउवा र उनी पक्षका नेताहरुले भने अब देश निर्वाचनमा होमिएकाले निर्वाचन अघि महाधिवेशन गर्न नहुने बताउदै आएका छन् । संस्थापन पक्ष महाधिवेशनको विपक्षमा भएको अवस्थामा अर्को पक्ष विशेष महाधिवेशनको तयारीमा लागेपछि काँग्रेस बिभाजनको संघारमा पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार