इक्यानको आगामी नेतृत्वको लागि प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रु)को अध्यक्षमा उम्मेदवारी घोषणा

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी नेतृत्वको लागि प्रवल दावेदार मानिएका वर्तमान प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रु)ले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

ईक्यानलाई अझ बलियो, एकताबद्ध र दिगो संस्थाको रूपमा अगाडि बढाउने स्पष्ट प्रतिबद्धतासहित पौडेलले मंगलबार (आज) आगामी नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका हुन् ।

इक्यानको चुवान यही पुस २८ गते हुने गरी मिति तोकिएको छ ।

शैक्षिक परामर्श क्षेत्रमा स्थापित व्यवसायीको पहिचान बनाएका र संस्थागत रुपमा प्रथम उपाध्यक्षको भूमिकालाई निष्पक्ष र जिम्मेवारीपूर्वक निर्वाह गरेका पौडेलले आफ्नो उम्मेदवारी स्वभाविक भएको बताए । ‘इक्यानको गरिमा उच्च राख्दै व्यवसायीक दक्षता अभिवृद्धि गर्नु नै मेरो पहिलो दायित्व हो,’ उनले भने, ‘व्यवसायी साथीहरुको आग्रह र संस्थागत जिम्मेवारी बोध गरेर मैले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ ।’

वर्तमान कार्यसमितिमा रहेर कुशल कार्य सम्पादन गरेका पौडेल शैक्षिक परामर्श क्षेत्रमा एक अनुभवी, शालीन, जुझारु र सहयोगी व्यक्तित्वका रूपमा व्यवसायीमाझ परिचित छन् ।

संस्थागत हितका लागि सहमति र सहकार्य अपरिहार्य भएको भन्दै पौडेलले इक्यानको आगामी नेतृत्व पारदर्शी र स्वच्छ प्रतिष्पर्धाबाट चयन हुने बताए ।

पौडेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै आफ्नो छुट्टै प्यानलसमेत बन्ने बताएका छन् । यद्यपी आफ्नो प्यानलमा कुन कुन पदमा को को उम्मेदवार हुने टुंगो लागि नसकेको उनको भनाई छ ।

पौडेलको उम्मेदवारीलाई वर्तमान कार्यसमितिका अधिकांश सदस्यहरु एवं निवर्तमान तथा पूर्व कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु र थुप्रै इक्यानियनहरुको समर्थन रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार