भिटामिन डीको कमीबाट महिलाहरु बढी प्रभावित, घाममा कति समय बस्नुपर्छ ?

भारतको चेन्नईकी सफ्टवेयर इन्जिनियर वासुकी लामो समयदेखि मांसपेशी दुख्ने र थकानको समस्याबाट पीडित थिइन् । उनले भनिन्– ‘मलाई लाग्यो कि यो सायद तनाव वा निद्राको कमीको कारणले भएको होला ।’ धेरै महिनासम्म यो सहेपछि, उनले डाक्टरलाई भेट्ने निर्णय गरिन् । उनको रिपोर्ट देखेर डाक्टर छक्क परे । रगत परीक्षणमा उनको भिटामिन डीको स्तर खतरनाक रूपमा कम भएको पत्ता लगायो ।

भिटामिन डी को कमीलाई हटाउन शरीरमा घाम पर्नु आवश्यक छ । भिटामिन डीको कमीले थकान,जोर्नी दुख्ने,खुट्टा सुन्निने र मांसपेशी कमजोरी जस्ता धेरै समस्याहरू निम्त्याउन सक्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसिया पब्लिक हेल्थ जर्नलमा प्रकाशित एक अध्ययनमा ‘भारतको राजधानी दिल्लीको शहरी र ग्रामीण क्षेत्रमा भिटामिन डीको कमी र यसका कारणहरू’ भन्ने विषयमा एक अनुसन्धान प्रकाशित भएको छ ।

भारतको शहरी क्षेत्रमा बस्ने लगभग ७० प्रतिशत मानिसहरूमा भिटामिन डीको गम्भीर कमी देखिएको छ । ग्रामीण क्षेत्रमा यो संख्या लगभग २० प्रतिशत रहेको अनुसन्धानले देखाएको छ । यस अध्ययनमा दिल्ली एनसीआरका शहरी र ग्रामीण क्षेत्रका मानिसहरूलाई समावेश गरिएको थियो ।

रगतमा भिटामिन डीको स्तर ३० न्यानोग्रामभन्दा माथि हुनुपर्छ । तर यदि भिटामिन डीको स्तर १० न्यानोग्रामभन्दा कम भयो भने यसलाई गम्भीर कमी मानिन्छ । अनुसन्धानका क्रममा शहरी क्षेत्रका सहभागीहरूको औसत भिटामिन डी स्तर ७.७ न्यानोग्राम थियो भने ग्रामीण क्षेत्रका सहभागीहरूमा यो १६.२ न्यानोग्राम पाइएको छ ।

ग्रामीण क्षेत्रका मानिसहरू पनि यो कमीबाट पूर्णतया अछुतो छैनन् । तर गाउँलेहरूमा भिटामिन डीको गम्भीर कमीको स्तर कम देखिएको अनुसन्धानले देखाएको छ । यो डब्लुएचओको प्रतिवेदनले पुरुषको तुलनामा महिलाहरू भिटामिन डीको कमीबाट बढी प्रभावित हुने कुरा पनि उल्लेख गरेको छ ।

उत्तरी भारतीय राज्यहरू जस्तै दिल्लीका साथै दक्षिण भारतको तमिलनाडुका महिलाहरूमा भिटामिन डीको कमी देखिएको छ । चेन्नईमा गर्भवती महिलामा गरिएको एक अध्ययनले ६२ प्रतिशत गर्भवती महिलामा भिटामिन डीको कमी भएको पत्ता लगाएको छ।भिटामिन डीको कमी पुरुषको तुलनामा महिलाहरूमा बढी गम्भीर पाइएको थियो ।

भिटामिन डी मुख्यतया सूर्यको किरणबाट प्राप्त हुन्छ । भारतको उत्तरी राज्यहरू बाहेक, बाँकी ठाउँहरूमा वर्षभरि राम्रो घाम लाग्छ । तैपनि, चेन्नई जस्ता उष्णकटिबंधीय शहरहरूमा पनि शहरी मानिसहरू किन भिटामिन डीको यस्तो कमीबाट ग्रस्त छन् रु चेन्नईका छाला विशेषज्ञ डा। दक्षिणामूर्ति बताउँछन्, शरीरले सूर्यको किरण र खानाबाट भिटामिन डी प्राप्त गर्छ । उनी भन्छन्– ‘जब सूर्यको अल्ट्रा–वायलेट किरणहरू छालामा पर्छन्, छालाको माथिल्लो तहमा रहेको ७–डिहाइड्रोकोलेस्ट्रोल नामक यौगिक भिटामिन डी–३ मा परिणत हुन्छ। यसपछि, कलेजो र मिर्गौलाले यसलाई भिटामिन डीमा परिणत गर्छ ।’

पुडुचेरीको सरकारी अस्पतालबाट सेवानिवृत्त भएका डा. पिटर भन्छन्– ‘आधुनिकीकरण र परिवर्तनशील कार्य संस्कृतिका कारण मानिसहरू घर र कार्यालयमा बढी समय बिताउँछन् । बाहिर जाँदा पनि, सम्पूर्ण शरीरलाई लुगाले ढाक्ने बानीका कारण सूर्यको किरण सिधै छालामा पुग्दैन ।’

मानिसहरू सोच्छन्, केही मिनेट बाहिर बस्दा उनीहरूले सूर्यको किरण पाउँछन् । तर प्रदूषण, लुगाफाटा र सिसाका झ्यालहरूले सूर्यको किरण शरीरमा पुग्नबाट रोक्छन् ।

एक अध्ययनका अनुसार यदि कुनै व्यक्तिलाई ३० न्यानोग्रामको पर्याप्त भिटामिन डी स्तर चाहिन्छ भने, उसले आफ्नो अनुहार, हात र पाखुरालाई दैनिक कम्तिमा २ घण्टा प्रत्यक्ष सूर्यको प्रकाशमा राख्नु पर्छ । यदि कोही कम्तिमा २० न्यानोग्राम भिटामिन डी प्राप्त गर्न चाहन्छ भने उसले दैनिक कम्तिमा एक घण्टा बाहिर बस्नु आवश्यक छ ।

डा। दक्षिणामूर्ति भन्छन्– ‘सूर्यको युभिबी किरणले शरीरलाई भिटामिन डी उत्पादन गर्न मद्दत गर्छ । अध्ययनहरूले देखाएको छ कि यी किरणहरू सामान्यतया बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बढी मात्रामा उपलब्ध हुन्छन् ।’

थकान, जोर्नी दुख्ने, खुट्टा सुन्निने, लामो समयसम्म उभिन गाह्रो हुने, मांसपेशी कमजोर हुने र मानसिक तनाव यी सबै भिटामिन डीको कमीका लक्षण हुन सक्छन् । डा. पिटर भन्छन्– ‘द्रुत जीवनशैलीका कारण भारतीयहरूले भिटामिन डीको कमीलाई गम्भीरतापूर्वक लिँदैनन् । तर यसले शरीरको हरेक भागलाई बिस्तारै कमजोर बनाउँछ। उमेर बढ्दै जाँदा, यसले हड्डी, मांसपेशी र जोर्नीहरूमा धेरै पीडा निम्त्याउन सक्छ।’

अर्को अध्ययनका अनुसार भिटामिन डीको गम्भीर कमीले युवावस्थामा नै डिमेन्सिया (स्मरणशक्ति गुमाउने) जस्ता समस्याहरूको जोखिम बढाउन सक्छ ।

(बिबिसी हिन्दीबाट)

प्रतिक्रिया

सम्बन्धित समाचार