नेपाल मेडिकल व्यवसायी संघको निर्वाचन, अर्यालको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन

नेपाल मेडिकल व्यवसायी संघ (नेमु)को सातौं सधारणसभाले दिएको म्याण्डेड अनुसार ढिलै भए पनि निर्वाचन सम्पन्न भएको छ । मंगलबार राजधानीमा सम्पन्न निर्वाचनबाट तारानाथ अर्यालको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको हो ।

संघको नेतृत्व गर्ने आकांक्षी रहेकाहरुले निर्धारित समयमा उम्मेदवारी दर्ता नगरेपछि सर्वसम्मत कार्यसमिति चयन भएको प्रमुख निर्वाचन अधिकृत किरण शाह ठकुरीले जानकारी दिए । नयाँ कार्यसमितिको अध्यक्षमा तारानाथ अर्याल, बरिष्ठ उपाध्यक्षमा चन्द्रकला दाहाल, उपाध्यक्षमा दिवाकर गौतम, महासचिवमा कृष्ण प्रसाद बजगाईं, सचिवमा पंकज कुमार झा र कोषाध्यक्षमा रुनुका खड्का (सदिक्षा) निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा भरत सापकोटा, रमेश आचार्य, बिष्णुमाया श्रेष्ठ, बबिन्द्र घिमिरे, विश्वराम सपकोटा, निराजन कँडेल, निरज श्रेष्ठ, सुरेस कुमार राय र आनन्द यादव चयन भएका छन् ।

संघको विधान अनुसार १७ सदस्यीय कार्यसमितिमा दुई जना सदस्यलाई पछि मनोनित गरिने संघका नवनिर्वाचित महासचिव बजगाईंले जानकारी दिए । संघका निवर्तमान अध्यक्ष सिताराम रेग्मी उपत्यका बाहिर रहेका कारण उनी आएपछि नयाँ कार्यसमितिलाई प्रमाणपत्र र कार्यभार हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

यसअघि गत बैशाख २२ गते सम्पन्न साधारण सभामार्फत संघमा सर्वसम्मत कार्यसमिति चयनका लागि पहल भए पनि सहमति जुट्न नसक्दा निर्वाचनका सबै प्रक्रिया स्थगित भएको थियो । यद्यपी ढिलै भए पनि निरन्तरको छलफल र प्रयासबाट सर्वसम्मत रुपमै कार्यसमिति चयन गर्न सफल भएको महासचिव बजगाईंले बताए । संघ वैदेशिक रोजगारीमा जाने कामदारहरुको स्वास्थ्य परिक्षण गर्ने मेडिकल व्यवसायीहरुको छाता संस्था हो ।

तारानाथ अर्याल, नवनिर्वाचित अध्यक्ष
व्यवसायी साथीहरुले सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेर नेतृत्व गर्ने जिम्मेवारी दिनुभएको छ । यसर्थ व्यवसायी हकहितका लागि स्थापना भएको संघलाई एकतावद्ध गराएर लैजाने मेरो कर्तव्य हुन आउँछ । यो दुई वर्षे कार्यकालमा कुनै पनि किसिमको राजनीति रंग संघभित्र प्रवेश हुन नदिने प्रतिवद्धतासमेत व्यक्त गर्दछु । यहाँ हुने भनेको व्यवसायीक हकहित र वैदेशिक रोजगारीमा जाने कामदारहरुको गुणस्तरीय स्वास्थ्य परीक्षणको अभ्यास मात्रै हो । मेडिकल व्यवसायका क्षेत्रमा थुप्रै समस्या र चुनौति छन् । यसको समधानको लागि व्यवसायीहरुलाई एकतावद्ध गराउने र सहकार्यका साथ संघलाई अगाडी बढाउनु पर्नेछ । अहिले नेतृत्वमा पुग्ने अवसर आएका कारण अझै जिम्मेवारी थपिएका छन् । यदी व्यवसायीहरु नै कमजोर हुन्छन् भने सेवाग्राहीको सुरक्षा गर्न कठिन हुन्छ । व्यवसायमा केही लिकेजहरु पनि छन् त्यसलाई टाल्नुपर्ने अवस्था छ । एउटै प्रकृतिका व्यवसायहरुलाई सिण्डिकेशन गरिएको छ । यसकाविरुद्ध पनि सबै व्यवसायीलाई एकतावद्ध हुन र संघको कार्य सम्पादनका क्रममा कुनै कमीकमजोरी हुन पुगेमा सचेत गाराउन आग्रह गर्दछु ।

कृष्ण प्रसाद बजगाईं, नवनिर्वाचित महासचिव
मेडिकल व्यवसायमा भएका चुनौति र समस्या समाधानको लागि यो नयाँ कार्यसमितिले म्याण्डेड पाएको छ । यसका लागि सवै व्यवसायी एकजुट भएर हातेमालो गर्नुपर्ने आवश्यकता छ । मैले महासचिवको भूमिका निर्वाह गर्दैगर्दा पेशागत एवं व्यवसायीक सुरक्षाका लागि नेपाल सरकार तथा सरकारी संयन्त्रसँग बलियो सम्बन्ध स्थापित गर्नुपर्नेछ । वैदेशिक रोजगारीमा जाने कामदारहरुको गुणस्तरीय स्वास्थ्य परीक्षणको भरपर्दो आधार निर्माण गर्न र नीतिगत त्रुटीहरुलाई सुधार गर्नु पहिलो मुद्धा हो । यसमा सबै व्यवसायीको साथ सहयोग र सहकार्यका लागि आग्रह गर्दछु । यस्तै विभिन्न प्रारुपमा रहेका मेडिकल व्यवसायीका संगठनहरुलाई एउटै छाता संगठन बनाउनेसम्बन्धमा सहजीकरण गर्न भरपुर पहल गर्नेछु । यतिमात्र नभई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा कुनै सौदावाजी नगर्न नगराउन संघको तर्फबाट आवश्यक मापदण्ड बनाइनेछ । विदेश जाने कामदारको स्वास्थ्य परिक्षण भइरहेको सिण्डिकेटकाविरुद्ध लड्दै सबै स्वास्थ्य संस्थाले सबै मुलुकको लागि स्वास्थ्य परीक्षण गर्न पाउने अधिकार स्थापित गराउन पैरवी गरिनेछ । व्यवसायको दायरा फराकिलो पार्दै संघीय संरचना अनुसार संघलाई प्रदेशहरुमा पनि विस्तार गर्न पहल गरिनेछ । यस्तै संघलाई अन्य क्षेत्रका संघसंस्था जस्तै प्रतिस्पर्धी र स्थापित बनाउन प्रविधिमैत्री बनाएर लैजाने प्रतिवद्धता व्यक्त गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित समाचार