सरकारले रोजगारीको लागि विदेश गएका नेपाली श्रमिकहरुलाई लक्षित गर्दै आह्वान गर्ने गरेको वैदेशिक रोजगार बचतपत्रमा खासै आकर्षण देखिएको छैन । नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण परिचालन औजारको रुपमा वर्षैपिच्छे निकाल्ने वैदेशिक रोजगार बचतपत्रमा विदेश गएका श्रमिक वा गैरआवासीय नेपालीले लगानी गर्न रुची नदेखाएका कारण तोकिए बराबरको पाँच प्रतिशत पनि बिक्री हुन सकेको छैन ।
राष्ट्र बैंकले सोमबार वैदेशिक रोजगार बचतपत्रको स्थिति र प्रवद्र्धनका उपाय सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै १३ वर्षको अवधिमा १५ अर्ब ५६ करोड रूपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्रीको लागि निष्कासन गरिएकोमा जम्मा ७६ करोड २३ लाख रूपैयाँको मात्रै बिक्री भएको बताएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०६६/६७ देखि वैदेशिक रोजगार बचतपत्र बिक्री गर्न सुरु गरेको हो । आर्थिक वर्ष २०७९/८० सम्मको अवधिमा २५ पटकमा १५ अर्ब ५६ करोड रूपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्रीको लागि निष्कासन गरिए पनि मात्रै ४.९ प्रतिशत रकम बिक्री भएको तथ्यांक छ ।
बचतपत्रको परिचालन शुरुका वर्षहरुदेखि नै अपेक्षित रुपमा हुन नसकेको राष्ट्र बैंकले उल्लेख गरेको छ । पहिलो वर्ष एक अर्बको बचतपत्र आव्हान भएकोमा ४० लाख रुपैयाँ बिक्री भएको थियो भने दोस्रो वर्ष ५ अर्ब निष्काशन आव्हान भएकोमा ३३ लाख रुपैयाँ मात्रै बिक्री भएको बताइएको छ । त्यसपछिका अधिकांश वर्षहरुमा बचतपत्रको आव्हान ५० करोड भन्दा कम भएको देखिन्छ । यस अवधिमा निष्काशन भएका सबै वैदेशिक रोजगार बचपत्रहरु ५ वर्ष अवधिको रहेका छन् ।
‘आर्थिक वर्ष २०६६/६७ देखि २०७९/८० सम्म आव्हान रकमको ४.९ प्रतिशतमात्र बिक्री हुन सकेको छ,’ प्रतिवेदनमा भनिएको छ । बचतपत्रको ब्याजदर निर्धारण गर्दा सोही वर्षको बैंक तथा वित्तीय संस्थाहरुले मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदरको तुलनामा उच्च रहने गरेको भन्दै राष्ट्र बैंकले यस अवधिमा वैदेशिक रोजगार बचतपत्रको ब्याजदर सोही वर्षको मुद्दति निक्षेपको तुलनामा ०.०१ प्रतिशतदेखि २.४२ प्रतिशतसम्म उच्च हुँदा पनि बचतपत्र खरिदमा आकर्षण नदेखिएको उल्लेख गरेको छ ।
वैदेशिक रोजगार बचतपत्र निष्कासनको सुरुको वर्षमा मुलुकमा २ खर्ब ३१ अर्ब रेमिटेन्स भित्रिएकोमा पछिल्लो अवधिमा करिब ६ गुणाले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब २० अर्ब रूपैयाँ रेमिट्यान्स प्राप्त भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीमा जानेको संख्या ३.२ गुणाले बढेर ५६.८३ लाख पुगेको छ । यसका वावजुद पनि वैदेशिक रोजगार बचतपत्रमा प्रभाव देखिन नसकेको राष्ट्र बैंकले निचोड निकालेको छ ।
राष्ट्र बैंकले बचतपत्रप्रति आकर्षण नहुनुमा स्थलगत सर्वेक्षण गरिएको पनि उल्लेख गरिएको छ । सर्वेक्षण अनुसार ७० म्यानपावर कम्पनीका सञ्चालक वा प्रतिनिधिसँग सम्पन्न टेलिफोन सम्पर्क गर्दा ७५.५ प्रतिशत म्यानपावर कम्पनीका प्रतिनिधिलाईसमेत वैदेशिक रोजगार बचतपत्रबारे जानकारी नभएको पाइएको छ । वैदेशिक रोजगारीमा जानेमध्ये ८७.२ प्रतिशतले यस्तो बचतपत्रबारे सोधखोज नै नगर्ने गरेको पाइएको उल्लेख छ ।
राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जान लागेका र फर्किएका ३८५ नेपाली नागरिकसँग सम्पन्न स्थलगत सर्वेक्षणमा पनि ३९.५ प्रतिशतसँग यसबारे पर्याप्त जानकारी नभएको, २७ प्रतिशतले खरिद प्रक्रिया झण्झटिलो भएको, १२.५ प्रतिशतले बचतपत्र खरिद गर्ने रकमको अभाव रहेको उल्लेख गरेका थिए । त्यस्तै, बाँकी २१ प्रतिशतले प्रमाणपत्र सजिलै प्राप्त नहुने र ब्याज प्राप्त गर्न धाउनु पर्ने कारणले पनि रूचि नबढेको बताएको प्रतिवेदनमा उल्लेख छ ।
बचतपत्र बिक्री गर्न इजाजतपत्र प्राप्त १६ बिक्री एजेण्टहरुसँग पनि राष्ट्र बैंकले इमेल सर्वेक्षण गर्दा ६२.५ प्रतिशत रोजगारीमा रहेका नेपालीले वैदेशिक रोजगार बचतपत्रको बारेमा सोधखोज गर्ने गरे पनि खरिदमा तत्परता नदेखाउने गरेको जवाफ आएको बताएको छ । सर्वेक्षण पश्चात सरोकारवालाहरुसँगको छलफलबाट बचतपत्रको बिक्री बढाउन फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत् छोटो भिडिओ क्लिपबाट प्रचार–प्रसारमा तीव्रता दिनुपर्ने, बचतपत्रको खरिद–बिक्री पूर्ण रुपमा विद्युतीय माध्यमबाट गराउने र बचतपत्र खरिदको आवेदन दिँदा कागजात सजिलोसँग अपलोड हुने व्यवस्था मिलाउने सुझाव प्राप्त भएको प्रतिवेदनमा जनाइएको छ ।
त्यस्तै, वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने व्यवस्था सिडिएससी प्रणालीको मेरो सेयरमा आइपिओ खरिद गर्दाकै प्रक्रिया अनुरूप बनाउने र म्यानपावर कम्पनीहरूको अभिमुखीकरण कार्यक्रममा वैदेशिक रोजगार बचतपत्रको जानकारी दिने व्यवस्था मिलाउने लगायतका सुझाव आएको बताइएको छ ।
नेपाल सरकारले बजेट घाटा परिपूर्तिको लागि आन्तरिक ऋण परिचालनमा हाल टे«जरी बिल्स, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र प्रचलनमा ल्याएको छ । यी उपकरणहरु मध्ये टे«जरी बिल्स र विकास ऋणपत्र बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण उठाउने प्रयोजनको लागि र नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्र नेपाली नागरिकबाट ऋण उठाउने प्रयोजनको लागि निष्काशन हुने गरेको छ ।






प्रतिक्रिया