एक वर्षमा झण्डै १४ सय श्रमिकको मृत्यु, बोर्डद्वारा ४२ करोड ७१ लाख आर्थिक सहायता प्रदान

एक वर्षको अवधिमा वैदेशिक रोजगारीको लागि विभिन्न मुलुकमा पुगेका झण्डै एक हजार ४०० नेपाली श्रमिकको मृत्यु भएको पाइएको छ । वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा रोजगारीको क्रममा ३० वटा मुलुकमा रहेका एकहजार ३७८ जना नेपालीहरुको मृत्यु भएको छ ।

वैदेशिक रोजगारीका क्रममा विभिन्न कारणले मृत्यु भएका व्यक्तिहरुको परिवारका सदस्यलाई ४२ करोड ७१ लाख २५ हजार रुपैयाँ आर्थिक सहायता वितरण गरिएको बोर्डले जनाएको छ । बोर्डले आर्थिक सहायता वितरणको आधारमा वैदेशिक रोजगारीको क्रममा मृत्यु हुने नेपालीको संख्या यकिन गर्दै आएको छ । बोर्डले राखेको तथ्यांक अनुसार मासिक रुपमा सरदर एकसय १४ जना नेपालीको विदेशमा मृत्यु हुने गरेको देखिन्छ । बोर्डले श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकको मृत्यु भएमा उनीहरुको परिवारलाई सात लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने गरेको छ ।

बोर्डले उल्लेख गरे अनुसार सबैभन्दा बढी मलेसिया गएका नेपाली श्रमिकको मृत्यु भएको छ । रोजगारीको शिलशिलामा मलेसिया रहेकामध्ये ३६० जनाले ज्यान गुमाएका छन् । दोस्रो स्थानमा रहेको साउदी अरेबियामा ३४६ जनाको मृत्यु भएको छ ।

यस्तै तेस्रो मुलुक संयुक्त अरब इमिरेट्स (युएई) जानेमध्ये एक वर्षमा २४४ जनाको ज्यान गएको छ । त्यसैगरी कतारमा २३५ जनाले ज्यान गुमाएका छन् भने कुवेत पुगेका ६० जनाको मृत्यु भएको छ । मलेसिया र खाडी जाने नेपाली श्रमिक मात्र नभई युरोप, जापान, कोरियालगायतका मुलुकमा जाने श्रमिकहरुले पनि उल्लेख्य रुपमा ज्यान गुमाएका छन् ।

विदेशमा हुने मृत्युमध्ये सबैभन्दा बढी बिरामी हुनुलाई कारण देखाइएको छ । यसपछि आत्महत्या र प्राकृतिक मृत्यु उल्लेख गरिएको छ । अत्यधिक गर्मीका कारण पनि मृत्यु हुने गरेको बताइएको छ । कार्यस्थल दुर्घटना, कार्डियाक एरेस्ट, हृदयघात, सडक दुर्घटना, क्यान्सर, मृगौला फेल हुनु आदिका कारण नेपालीहरुको मृत्यु हुने गरेको बोर्डले जनाएकोे छ ।

एक सय भन्दा बढीको मृत्युको कारण पत्ता लाग्न नसकेको बोर्डले जनाएको छ । यद्यपी अहिलेसम्म वैदेशिक रोजगारीको क्रममा जाँदा मेडिकल परिक्षणबाट स्वस्थ्य देखिएका नेपालीहरुको के–कति कारणले मृत्यु हुने गरेको छ भन्ने सम्बन्धमा सरकारले कुनै अध्ययन गरेको छैन ।

बोर्डले आर्थिक सहायता दिएको संख्याको आधारमा तथ्यांक राख्ने भए पनि विदेशमा मृत्यु हुने नेपालीको संख्या अझै बढी हुनसक्ने बोर्डका कार्यकारी निर्देशक डा.द्वारिका उप्रेतीले बताए । ‘श्रम स्वीकृति लिएर जाने नेपालीहरुको मृत्यु भएमा उनीहरुका परिवारले तोकिएको सहायता रकम पाउने र रेकर्ड पनि हुन्छ,’ उनले भने, ‘अवैध तरिकाबाट रोजगारीको लागि विदेश गएका वा भिसा अवधि सकेर गैरकानुनी रुपमा बसिरहेका नेपालीको मृत्यु भएमा तिनीहरुको न रेकर्ड हुन्छ न सहायता रकम नै पाउँछन्, एकदमै अफ्ठ्यारो अवस्था छ ।’

यस्तै एक वर्षको अवधिमा वैदेशिक रोजगारीका क्रममा विभिन्न कारणले ५५६ जना नेपाली विरामी तथा अंगभंग भएका छन् । उनीहरुको अवस्था हेरेर सात लाख रुपैयाँसम्म आर्थिक सहायता दिन सक्ने व्यवस्था भएपनि समग्रमा १६ करोड ९१ लाख ७१ हजार रुपैयाँ आर्थिक सहायता वितरण भएको बोर्डको तथ्यांकले देखाएको छ । कार्यस्थलमा हुने दुर्घटना, सडक तथा सवारी दुर्घटनालगायत विभिन्न कारणले नेपालीहरुको अंगभंग हुने गरेको बताइन्छ ।

बोर्डको तथ्यांक अनुसार रोजगारीका क्रममा विदेशमा मृत्यु हुने र अंगभंग हुने नेपालीको संख्यामा खासै कमी आएको छैन । यसको न्युनीकरणका लागि विदेश जाने श्रमिक आफै पनि चेतनशिल हुनुपर्ने र अनिवार्य रुपमा पूर्वप्रस्थान अभिमुखीकरण तालिम लिनुपर्ने बोर्डका निर्देशक एवं सूचना अधिकारी टिकाराम ढकाल बताउँछन् ‘हामीले विगतदेखि नै विदेश जाने कामदारहरुको सचेतनाको लागि विभिन्न जानकारीमुलक परामर्श दिंदै आए पनि अझै पर्याप्त नभएको देखिन्छ,’ उनी भन्छन्, ‘यसको न्युनीकरण र प्रभावकारिताको लागि अझै विभिन्न तालिमका कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गरिहेका छौं, यसको लागि स्थानीय तहहरुसँग पनि समन्वय भइरहेको छ ।’

विगत डेढ वर्षदेखि बोर्डले विदेशमा विरामी परेका श्रमिकहरुलाई स्वास्थ्य परामर्श तथा औषधोपचारको लागि सहयोग पु¥याउने उदेश्यले टेलिमेडिसिन सेवा पनि सञ्चालन गरिरहेको निर्देशक ढकालले बताए । । यसबाट श्रमिकलाई गम्भिर विरामी हुनबाट जोगाउने र समयमै उपचारको लागि उत्प्रेरणा मिल्ने हुँदा अस्वभाविक मृत्युलाई न्युनीकरण गर्न मद्दत पुगिरहेको उनले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार