वैदेशिक रोजगारीको लागि एक वर्षमा सीपयुक्त दक्ष श्रमिकको रुपमा पाँच लाख बढी नेपाली युवा विदेशिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा नयाँ तथा पुनः श्रम स्वीकृति लिएर पाँच लाख ३२ हजार १२३ जना दक्ष श्रमिक रोजगारीको लागि विभिन्न मुलुक पुगेका छन् ।
एक वर्षको अवधिमा सीप सिकेर विदेश जानेमध्ये ५० हजार २५३ जना महिला श्रमिक रहेको विभागले उल्लेख गरेको छ । विदेश जाँदा सीप सिकेर जाने ट्रेण्ड बढ्दै गएको विभागले जनाएको छ । त्यस्तै गत आवमा अर्धदक्ष श्रमिकहरु पनि रोजगारीको लागि विदेश गएका छन् । उनीहरुको संख्या ६० हजार १२३ छ, जसमा ६ हजार ६६६ जना महिला रहेका छन् ।
यतिमात्र नभई एक वर्षमा पेशागत दक्षता हासिल गरेका दुई हजार ७७२ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् । यसै अवधिमा विशिष्ठ दक्षता (विशेषज्ञता) हासिल गरेका ७३२ जना पनि विदेशिएका छन् ।
वैदेशिक रोजगारीमा जाने सीपयुक्त दक्ष श्रमिकको संख्या बढ्दै गएपनि अझै ठूलो संख्यामा अदक्ष श्रमिकहरु पनि रोजगारीको लागि विदेशिएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । गत आवमा एक लाख ४५ हजार ५७ जना अदक्ष (कोरा) श्रमिक विदेशिएका छन् । जसमा २२ हजार ६९३ जना महिला श्रमिक रहेका छन् ।
समग्र श्रम स्वीकृतिको अवस्थालाई हेर्दा एक वर्षमा जम्मा ७ लाख ४१ हजार २९७ जना श्रमिक रोजगारीको लागि १४९ मुलुकमा गएका छन् । जसमध्ये ८० हजार १७२ जना महिला श्रमिक रहेका छन् ।
विभागले सार्वजनिक गरेको अघिल्लो आव २०७९/८० को तथ्यांकअनुसार सात लाख ७१ हजार ३२७ जना रोजगारीको लागि विदेशिएका थिए । जसमा सीपयुक्त दक्ष श्रमिक पाँच लाख छ हजार ५४६ जना थिए ।
त्यस्तै विशिष्ठ दक्षता हासिल गरेका श्रमिकका रुपमा २ सय ५७ जना र पेशागत दक्षता भएका श्रमिक एक हजार १५३ जना श्रम स्वीकृति लिएर विदेश गएका थिए । यस्तै ६० हजार ५५५ जना अर्धदक्ष र दुई लाख २ हजार २१६ जना अदक्षका श्रमिकका रुपमा विदेश गएको विभागको तथ्यांकमा उल्लेख छ ।
सरकारले रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागू गरेयता सीप सिकेर विदेश जाने श्रमिकको संख्या बढ्दै गएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए । उनका अनुसार पछिल्ला आर्थिक वर्षहरुमा वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको संख्या क्रमशः घट्दै गइरहेको छ । ‘विदेश जाँदा केही सीप सिकेरै जाउँ भन्ने चेतना युवाहरुमा फैलिएको छ,’ महानिर्देशक घिमिरेले भने, ‘सीप सिकेर गए दुःख पाईंदैन भन्ने चेतनाका कारण दक्ष श्रमिकको संख्या बढेको हो ।’
यद्यपी सीप विकास तालिम अनिवार्य हुँदाहुँदै पनि यसको कार्यान्वयनमा कठिनाई भएका कारण अझैपनि ठूलो संख्यामा अदक्ष श्रमिक रोजगारीको लागि विदेश जाने क्रम जारी नै रहेको उनले बताए ।






प्रतिक्रिया