विकास र समृद्धिको यात्रामा काठमाडौँ–२९ : वडाअध्यक्ष कुश ढकालका साढे ९ वर्ष

काठमाडौँ महानगरपालिका वडा २९ अन्तर्गत अनामनगर तथा आसपासका क्षेत्रमा पछिल्लो साढे नौ वर्षमा सडक, ढल, विद्युत्, सार्वजनिक संरचना र सामाजिक पूर्वाधार निर्माणले गति लिएको छ। दुई कार्यकालदेखि वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएका कुश ढकालको नेतृत्वमा वडाभित्रका भौतिक पूर्वाधारलाई व्यवस्थित र सुविधासम्पन्न बनाउने काम अघि बढाइएको हो।

वडाध्यक्ष ढकालका अनुसार निर्वाचनका क्रममा जनतासमक्ष गरिएका प्रतिबद्धतामध्ये करिब ७० प्रतिशत काम सम्पन्न भइसकेका छन्। उहाँको कार्यकाल अब करिब ६ महिना मात्र बाँकी छ। मूल घर खोटाङ भएका हेमानन्द र प्रमिला ढकालका पाँच सन्तानमध्ये माइला छोरा ढकालको राजनीतिक यात्रा नेपाली कांग्रेससँग जोडिएको छ। उहाँको जन्म भने काठमाडौं मैतिदेवमा भएको हो ।

उहाँ २०४६ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनुभएको हो। वडा २९ को इकाई सभापति दुई पटक सम्हाल्नु भएका उहाँ महाधिवेशन प्रतिनिधिसमेत बन्नुभएको थियो। स्थानीय तहको निर्वाचनमा जनताको विश्वास प्राप्त गर्दै उहाँ लगातार दुई पटक वडाध्यक्षमा निर्वाचित हुनुभएको हो। ढकालको नेतृत्वमा वडाको प्रशासनिक संरचना बलियो बनाउन आधुनिक वडा कार्यालय भवन निर्माण गरिएको छ।

करिब ४ करोड ७२ लाख रुपैयाँको लागतमा निर्माण भएको सुविधासम्पन्न वडा कार्यालय सञ्चालनमा आइसकेको छ। नयाँ भवनले वडाबाट प्रवाह हुने सेवा थप व्यवस्थित र सहज बनाउन सहयोग पुगेको वडाको भनाइ छ। वडाको भौतिक पूर्वाधारतर्फ पनि उल्लेख्य काम भएका छन्। अनामनगर तथा आसपासका विभिन्न क्षेत्रमा सडक ढलान, कालोपत्रे, ढल निकास तथा सडक बत्ती विस्तारका काम गरिएका छन्।

सडक र ढलको व्यवस्थापनसँगै सार्वजनिक स्थानको सौन्दर्य र नागरिकको आवागमनलाई सहज बनाउने प्रयास गरिएको छ। वडाले भौतिक पूर्वाधारसँगै सामाजिक संरचना निर्माणलाई पनि प्राथमिकता दिएको छ। रुद्रमती क्षेत्रमा ‘गणेशमान सिंह वृद्धाश्रम’ निर्माण गरिएको छ। ज्येष्ठ नागरिकका लागि आवश्यक सुविधा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको उक्त संरचनालाई वडाको सामाजिक पूर्वाधार विकासको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। अनामनगर क्षेत्रमा  पोखरीसहितको पार्क निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ।

बढ्दो सहरीकरणका बीच खुला तथा हरियाली क्षेत्रको आवश्यकता महसुस गर्दै पार्क निर्माण अघि बढाइएको हो। यसले स्थानीय बासिन्दालाई आराम, मनोरञ्जन तथा सार्वजनिक गतिविधिका लागि थप स्थान उपलब्ध गराउने अपेक्षा गरिएको छ। त्यस्तै, वडा कार्यालयअगाडि नेपालकै पहिलो अटिजम भएका बालबालिकाका लागि लक्षित ‘अटिजम हल’ निर्माण भइरहेको छ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख तथा कार्यवाहक प्रमुख सुनिता डंगोलको पहल र वडाको सहयोगमा निर्माण भइरहेको उक्त संरचनाले विशेष आवश्यकता भएका बालबालिकाका लागि आवश्यक गतिविधि सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। अनामनगर क्षेत्रमा साइकलमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले साइकल स्ट्यान्ड निर्माणको काम पनि अघि बढाइएको छ।

कार्यवाहक प्रमुख डंगोलको अवधारणाअनुसार अघि बढाइएको उक्त कामले वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्नुका साथै साइकल प्रयोगकर्तालाई व्यवस्थित पार्किङ सुविधा उपलब्ध गराउने वडाको अपेक्षा छ। वडाध्यक्ष ढकालका अनुसार अब वडामा तत्काल गर्नैपर्ने ठूला भौतिक पूर्वाधारका काम धेरै बाँकी छैनन्। तर विकास निर्माणलाई दीर्घकालीन र परिणाममुखी बनाउन स्थानीय तहले स्पष्ट नीति र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभएको छ।

‘विकास र निर्माणमा राम्रो नीतिको अभावमा सोचेजस्तो दिगो विकास हुन सकिरहेको छैन,’ ढकालले भन्नुभयो, ‘विकास निर्माणलाई नतिजामुखी बनाउन २०, २५, ५० देखि ६० वर्षसम्मका अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्न आवश्यक छ।’ उहाँका अनुसार सडक, भवन र अन्य भौतिक संरचना निर्माण मात्र विकासको पूर्ण आधार होइन। स्थानीय तहले अब उत्पादन, रोजगारी र आर्थिक गतिविधि बढाउने दिशामा समेत आफ्नो भूमिका विस्तार गर्न आवश्यक छ।

स्थानीय तहमा बेरोजगारीको समस्या बढ्दै गए पनि उपलब्ध बजेट तथा अनुदानको ठूलो हिस्सा विकास निर्माणमै खर्च हुने गरेको उहाँको अनुभव छ। त्यसैले आगामी दिनमा उत्पादनमूलक क्षेत्रमा लगानी बढाएर स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ।

साढे नौ वर्षको अवधिमा सडकदेखि सामाजिक संरचनासम्मका पूर्वाधार निर्माणमा अघि बढेको वडा २९ अब विकासको अर्को चरणमा प्रवेश गर्नुपर्ने अवस्थामा पुगेको देखिन्छ। भौतिक पूर्वाधारको आधार तयार भइसकेपछि त्यसलाई उत्पादन, रोजगारी, वातावरण संरक्षण र दीर्घकालीन सहरी व्यवस्थापनसँग जोड्न सके अनामनगरसहित वडा नं। २९ लाई व्यवस्थित, सुविधासम्पन्न र दिगो सहरी क्षेत्रका रूपमा विकास गर्न सकिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार