गृहसचिव शर्माद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण, सजग र कर्तव्यनिष्ठ सेवा दिन निर्देशन

काठमाडौँ। गृहसचिव केदारनाथ शर्माले नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरी उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई व्यावसायिक, नागरिक केन्द्रित र कर्तव्यनिष्ठ भएर कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।

प्रधान कार्यालय परिसर पुगेका गृहसचिव शर्मालाई प्रहरी महानिरीक्षक (IGP) दानबहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए। सो क्रममा उनले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुका साथै परिसरमा वृक्षारोपणसमेत गरे। निरीक्षणका क्रममा शर्माले विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र, डिजिटल फरेन्सिक ल्याब र डाटा सेन्टरको अवलोकन गरी सोबारे जानकारी लिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै गृहसचिव शर्माले भोटेकोशी बाढी तथा कर्तव्यपालनाका क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे। सीमित स्रोतसाधन र प्रविधिका बाबजुद अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षा कायम गर्न प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले भने, “प्रहरी नागरिकको सबैभन्दा नजिकको निकाय भएकाले जनअपेक्षा सम्बोधन गर्दै कानुनले तोकेको जिम्मेवारी थप सजग र इमानदार भएर पुरा गर्नुपर्छ।” संगठनको हित, प्रविधि विकास र क्षमता अभिवृद्धिमा गृहमन्त्रालय सधैँ सकारात्मक रहेको उनले स्पष्ट पारे।

धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले गृहमन्त्रालयको अभिभावकीय भूमिकाप्रति आभार व्यक्त गरे। उनले नेपाल प्रहरीले संविधान र कानुनको दायराभित्र रही मानव अधिकारको संरक्षण गर्दै कर्तव्य पालन गरिरहेको बताए। भोटेकोशी बाढीमा बेपत्ता भएका प्रहरीहरूको खोजी कार्य जारी रहेको जानकारी दिँदै IGP कार्कीले विपद् व्यवस्थापन र तत्काल उद्धारका लागि प्रहरीलाई प्रविधि र स्रोतसाधनयुक्त बनाउन मन्त्रालयको सहयोगको अपेक्षा व्यक्त गरे।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक (DIG) राजेन्द्रप्रसाद भट्टले नेपाल प्रहरीको वर्तमान अवस्था, चुनौती, भौतिक संरचना र भावी कार्यदिशाबारे संस्थागत प्रस्तुतीकरण दिएका थिए। सो अवसरमा उच्च प्रहरी अधिकारीहरूका साथै सातै प्रदेशका प्रहरी प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार