विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह

काठमाडौं । चीनको तिब्बती भू–भागबाट आएको बाढीका कारण भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले दुःख व्यक्त गरेको छ।

नेसनल प्याब्सनका अध्यक्ष गीता क्षेत्री राणा र महासचिव प्रतापबहादुर थापाले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। उनीहरूले बाढी तथा त्यसबाट सिर्जित विपद्मा घाइते भएकाहरूको शीघ्र उद्धार गरी प्रभावकारी उपचारको व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

विपद्को यस दुःखद घडीमा प्रभावित स्थानीयवासीको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेसनल प्याब्सनमा आबद्ध सदस्य विद्यालयहरूलाई स्थानीय सरकार तथा सुरक्षा निकायसँग आवश्यक समन्वय गरी सहयोगमा जुट्न पनि आग्रह गरिएको छ।

विज्ञप्तिमार्फत बाढी तथा विपद्बाट प्रभावित घाइतेहरूको उपचारका लागि औषधोपचारसहित आवश्यक स्वास्थ्य सामग्री तथा अन्य सहयोग उपलब्ध गराउन सदस्य विद्यालयहरूलाई अनुरोध गरिएको छ। साथै, विपद्का कारण प्रभावित परिवार तथा समुदायलाई आवश्यक सहयोग पुर्‍याउन विद्यालयहरूले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ।

नेसनल प्याब्सनले विपद्को समयमा उद्धार, राहत र पुनःस्थापनाका कार्यमा सरकार, सुरक्षा निकाय, स्थानीय समुदाय तथा सामाजिक संघसंस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ। तत्काल उद्धार र राहतसँगै प्रभावित क्षेत्रमा दीर्घकालीन पुनःस्थापनाका लागि समेत सबै पक्ष मिलेर काम गर्नुपर्नेमा संस्थाले जोड दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार