काठमाडौंको भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ सुरु भएको छ, उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शोको उद्घाटन गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जनकुमार श्रेष्ठले उद्योगी व्यवसायीको मनोबल कमजोर बनेको भन्दै स्वदेशी उद्योग र रोजगारी सिर्जनामा केन्द्रित हुनुपर्ने बताएका छन्।
नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले कर तथा नीतिमा स्थिरता, व्यावहारिक कर नीति र काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्न सरकारसँग माग गरेका छन्।
नाडाको स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको अटो शोको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गरेका छन्।
कार्यक्रम उद्घाटन गर्दै उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानीसँग जोडिएको क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताए। उद्योगको विकास, लगानीको सुरक्षा, रोजगारी सिर्जना र उपभोक्ताको हितबीच सन्तुलन कायम गर्दै सरकार र निजी क्षेत्रबीचको निरन्तर संवादबाट स्थिर, पारदर्शी र लगानीमैत्री नीति निर्माण गर्नुपर्ने उनको भनाइ छ।
नाडाको ५० वर्षको यात्रालाई नेपालको अटोमोबाइल क्षेत्रको विकाससँग जोडिएको पाँच दशक लामो यात्राका रूपमा उल्लेख गर्दै उनले नेपाललाई अटोमोबाइलसम्बन्धी प्रविधि, सेवा, सीप र उत्पादनको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए।
विश्व अटोमोबाइल उद्योग विद्युतीय सवारी, स्वचालित सवारी, स्मार्ट मोबिलिटी र डिजिटल प्रविधितर्फ तीव्र रूपमा अघि बढिरहेको उल्लेख गर्दै यादवले नेपाली व्यवसायीले यो परिवर्तनलाई अवसरका रूपमा लिनुपर्ने बताए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जनकुमार श्रेष्ठले चुनौतीपूर्ण आर्थिक अवस्थाका कारण उद्योग व्यवसाय कमजोर बनेको बताए। बजारमा माग बढ्न नसकेको र व्यवसायीको मनोबल कमजोर बनेको उल्लेख गर्दै उनले भने, ‘मेरो ३६ वर्षको व्यावसायिक यात्रामा उद्योगी व्यवसायीहरूको यस्तो कमजोर मनस्थिति कहिल्यै देखेको थिइनँ।’
श्रेष्ठले अर्थतन्त्रलाई पुनःसंरचना गर्नुपर्ने अवस्था आएको भन्दै स्वदेशमै उद्योग स्थापना र रोजगारी सिर्जनामा जोड दिए। आगामी १० वर्षपछि नेपालले अहिलेको जस्तो जनसांख्यिक लाभ पाउने अवस्था नरहने भन्दै अहिले नै देशभित्र उद्योग र रोजगारी विस्तार गर्नुपर्ने उनको भनाइ छ।
उनले अटोमोबाइल क्षेत्रमा स्पेयर पार्ट्सको स्वदेशी उत्पादनको सम्भावना खोज्नुपर्ने बताए। निजी क्षेत्र सरकारको औद्योगिक लक्ष्यमा सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै उनले नीतिगत स्थिरता र लगानीमैत्री वातावरण आवश्यक रहेको बताए।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटोमोबाइल क्षेत्रलाई सवारीसाधनको व्यापारमा मात्रै सीमित गरेर हेर्न नहुने बताए। यो क्षेत्र उद्योग, व्यापार, बैंकिङ, बीमा, रोजगारी र सरकारी राजस्वसँग प्रत्यक्ष जोडिएको उनको भनाइ छ।
नाडाका अनुसार अटोमोबाइल क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १० लाखभन्दा बढी रोजगारी सिर्जना गरेको छ भने राज्यको राजस्वमा वार्षिक ९० अर्ब रुपैयाँभन्दा बढी योगदान गर्दै आएको छ।
उप्रेतीले दीर्घकालीन लगानीका लागि नीतिगत स्थिरता अत्यावश्यक रहेको बताए। करका दर र नीतिमा पटकपटक हुने परिवर्तनले व्यवसायीलाई दीर्घकालीन योजना बनाउन कठिन हुने भन्दै उनले कर नीतिमा स्थिरता कायम गर्न सरकारसँग आग्रह गरे।
सवारीसाधनलाई अझै पनि विलासी वस्तुका रूपमा हेर्ने दृष्टिकोणमा पुनर्विचार गरी बदलिँदो समय र नागरिकको आवश्यकताअनुसार कर नीतिलाई व्यावहारिक तथा उपभोक्तामैत्री बनाउनुपर्ने उनको भनाइ छ। उप्रेतीले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्न पनि सरकारको ध्यानाकर्षण गराए। भृकुटीमण्डपको विद्यमान संरचना पर्याप्त नभएका कारण ट्रक, बस र हेभी इक्विपमेन्टलगायत सामग्री पर्याप्त रूपमा प्रदर्शन गर्न नसकिएको उनले बताए।
नाडाले विद्युतीय सवारीको बढ्दो प्रयोगलाई नेपालका लागि नयाँ अवसरका रूपमा लिनुपर्नेमा समेत जोड दिएको छ। स्वच्छ ऊर्जा, नयाँ प्रविधि, चार्जिङ पूर्वाधार, एसेम्बली तथा अटोमोबाइल कम्पोनेन्ट उत्पादनमा थप सम्भावना खोज्न सरकार, निजी क्षेत्र र प्रविधि क्षेत्रबीच सहकार्य आवश्यक रहेको नाडाले जनाएको छ।






प्रतिक्रिया