नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले शिक्षा, शैक्षिक परामर्श, अन्तर्राष्ट्रिय शिक्षा, युवा, उद्यमशीलता, नीति निर्माण तथा आर्थिक विकाससँग सम्बन्धित बहस तथा नीति संवाद कार्यक्रम ‘एडुक्लेभ ४.०’ आयोजना गर्ने भएको छ। इक्यानले यही भदौ ७ गते अर्थात आइतबारका दिन काठमाडौंको नक्सालस्थित होटल मेरियटमा ‘एडुक्लेभ ४.०’ आयोजना गर्ने उल्लेख गरेको छ।
कार्यक्रममा नीति निर्माता, पूर्वमन्त्री, विज्ञ, उद्यमी, शिक्षाविद्, सञ्चारकर्मी तथा शैक्षिक क्षेत्रका प्रतिनिधिको सहभागिता रहनेछ । शिक्षा तथा अन्तर्राष्ट्रिय अध्ययनसँग जोडिएका विषयलाई केवल विद्यार्थी विदेश पठाउने प्रक्रियामा सीमित नराखी त्यसको राष्ट्रिय अर्थतन्त्र, सीप विकास, उद्यमशीलता र नीति निर्माणसँगको सम्बन्धबारे उच्चस्तरीय छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको इक्यानले जनाएको छ।
कार्यक्रममा नेपालमा बढ्दो वैदेशिक अध्ययन, शैक्षिक परामर्श क्षेत्रको अवस्था, युवाको भविष्य, अन्तर्राष्ट्रिय शिक्षा र मुलुकको आर्थिक विकासबीचको सम्बन्धलगायतका विषयमा विचारविमर्श हुने इक्यानका महासचिव भवनाथ हुमागाईं बताए । ‘वैदेशिक अध्ययनबाट प्राप्त हुने ज्ञान, सीप र अनुभवलाई नेपालको आर्थिक तथा सामाजिक विकासमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषय पनि बहसको महत्वपूर्ण हिस्सा हुनेछ,’ उनले भने ।
विदेश जाने नेपाली विद्यार्थीको संख्या, शैक्षिक परामर्श व्यवसायको भूमिका, विद्यार्थी संरक्षण, गुणस्तरीय परामर्श तथा विदेशबाट प्राप्त ज्ञानलाई देशभित्र उपयोग गर्ने वातावरण निर्माणजस्ता विषयमा समेत सरोकारवालाबीच संवाद हुने इक्यानका सचिव एवं मिडिया संयोजक आशिक कार्कीले जानकारी दिए । ‘एडुक्लेभ ४.० लाई यसअघि जस्तै नीतिगत संवादको रुपमा निरन्तरता दिइएको हो,’ उनले भने ।
इक्यानले यसअघि ‘एडुक्लेभ १.०, २.०, ३.० मार्फत स्वदेश तथा वैदेशिक अध्ययनसम्बन्धी नीतिलाई व्यवस्थित बनाउने विषयमा सरोकारवालाबीच छलफल गरेको थियो ।
पछिल्लो समय नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या बढ्दै जाँदा त्यससँगै शिक्षा क्षेत्र, अर्थतन्त्र, श्रम बजार, विद्यार्थी सुरक्षा र मुलुकको मानव पुँजी व्यवस्थापनका विषय पनि बहसमा छन्।
एडुक्लेभ ४.० ले यही सन्दर्भमा विदेश अध्ययनलाई अवसर र चुनौती दुवै पक्षबाट हेर्दै त्यसलाई मुलुकको दीर्घकालीन हितसँग जोड्ने नीतिगत बहस अघि बढाउने अपेक्षा गरिएको छ ।






प्रतिक्रिया