साहित्यकार टेक तामाङको बिताऔं जीवन हाँसेर, छमछमी नाचेर’ सार्वजनिक

चर्चित गीतकार तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) टेक तामाङको नयाँ लोक–पार्टी गीत ‘बिताऔं जीवन हाँसेर, छमछमी नाचेर’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। टेक तामाङको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले विवाह, भोजभतेर, सांस्कृतिक कार्यक्रम तथा विभिन्न शुभ अवसरमा विशेष स्थान बनाउने अपेक्षा गरिएको छ।

गीतमा वरिष्ठ गायक–गायिका अञ्जु पन्त र रामकृष्ण ढकालको सुमधुर स्वर रहेको छ। गीतको शब्द टेक तामाङले लेखेका हुन् भने संगीत कन्काइस्ट राईले दिएका छन्। देवेश राईको संगीत संयोजन, एरेञ्ज, मिक्सिङ तथा मास्टरिङले गीतलाई थप आकर्षक बनाएको छ।

गीतकार : टेक तामाङ

सार्वजनिक म्युजिक भिडियोमा अभिनेता पल शाह र अभिनेत्री बिना राउत मुख्य भूमिकामा देखिएका छन्। उनीहरूसँगै सुरज तामाङ र रेशु गुरुङको अभिनय तथा नृत्यले भिडियोलाई जीवन्त बनाएको छ। काठमाडौं उपत्यका तथा आसपासका रमणीय स्थानमा छायांकन गरिएको भिडियोको संयुक्त निर्देशन तथा कोरियोग्राफी अभिषेक वाग्ले र रितेश सिंजाली मगरले गरेका हुन्। पवन सुस्लिङले छायांकन तथा सम्पादनको जिम्मेवारी सम्हालेका छन्।

गीतलाई मनोरञ्जनसँगै उत्सवको माहोल सिर्जना गर्ने उद्देश्यले तयार गरिएको निर्माण पक्षले जनाएको छ। ‘सालको पातको टपरी’ जस्तै विवाह, पार्टी तथा सांस्कृतिक कार्यक्रममा घन्किने सदाबहार गीतका रूपमा स्थापित हुने विश्वास समेत निर्माण टोलीको छ।

पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक तामाङ प्रहरी सेवामा रहँदै साहित्य, संगीत र सामाजिक चेतनामूलक सिर्जनामा सक्रिय रहँदै आएका स्रष्टा हुन्। उनका विभिन्न गीत तथा सिर्जनाले राष्ट्रियस्तरका दर्जनौं सम्मान र पुरस्कार प्राप्त गरिसकेका छन्। नयाँ गीत ‘बिताऔं जीवन हाँसेर, छमछमी नाचेर’ ले पनि दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार