कांग्रेसभित्र विकसित घटनाक्रमप्रति पूर्णबहादुर खड्का असन्तुष्ट, १५औँ महाधिबेशनमा स्वतःभाग लिन पाउने ब्यबस्था गर्नुपर्छ

नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र विकसित पछिल्लो घटनाक्रमप्रति कडा असन्तुष्टि जनाएका छन् । पार्टीमा एकता कायम गर्न विगत दुई महिनादेखि आफूले इमानदार प्रयत्न गरे पनि त्यसमा कुनै प्रगति हुन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै पार्टी सभापति गगन कुमार थापासँग विगत ३१ दिनदेखि कुनै सम्पर्क र संवाद नभएको उल्लेख गरेका छन् ।

खड्काले १५औँ महाधिवेशनका लागि नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यहरूको नामावली अद्यावधिक गर्ने नाममा देशैभरिबाट दबाब दिने काम भइरहेको भन्दै त्यसलाई ‘घातक’ प्रवृत्तिको संज्ञा दिएका छन् ।

‘१५औँ महाधिवेशनका लागि नवीकरण गराएका र नयाँ क्रियाशील सदस्यता लिएका साथीहरूलाई अद्यावधिक नगरेको निहुँमा कसैलाई महाधिवेशनमा भाग लिनबाट कसैले वञ्चित गर्न सक्दैन,’ खड्काले भनेका छन्, ‘यस्तो प्रवृत्ति पार्टी जीवनका लागि अत्यन्त घातक छ, म सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

पार्टीभित्र पछिल्लो समय नेताहरूको क्रियाशील सदस्यता केन्द्रले नै स्वतः अद्यावधिक गरिदिन्छ भन्ने हल्ला फैलाइएको भन्दै उनले त्यसको खण्डन गरेका छन् । यस्ता कुराहरू पार्टी पङ्क्तिमा भ्रम फैलाउनका लागि मात्रै चलाइएको अफवाह भएको उनको दाबी छ ।

खड्काले कार्यकर्ताहरूलाई आश्वस्त पार्दै भनेका छन्, ‘सबैलाई महाधिवेशनमा स्वतः भाग लिन पाउने व्यवस्थाको सुनिश्चितता गर्नु हाम्रो जिम्मेवारी हो, ढुक्क हुनुहोस् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार