राजनीतिक विस्फोटका लाभाहरु

-दुर्गाराज भट्टराई

भूकम्प हल्ला गरेर आउदैन । यो एक्कासि आउँछ र उलटपुलट बनाएर जान्छ तर भूकम्प आउने अवस्था एकैचोटि सिर्जना भएको हुदैन । विभिन्न भूखण्डका निरन्तर  दवाबले चाप थेग्न नसकेपछि एकदिन विस्फोट हुनपुग्छ अनि दवाबमा राख्ने भूखण्डलाई नै हल्लाइदिन्छ ।

गत भदौ तेईस गते निस्केको राजनीतिक भूकम्पको सिर्जना पनि यसरी नै भएको हो । यो शक्ति बाईस गते विकसित भएर तेईस गते एक्कासि   विस्फोट भएको होइन । यो झण्डै छत्तीस वर्षसम्म प्रजातान्त्रिक प्रणालीभित्र निरन्तर भएका अप्रजातान्त्रिक र गैर जिम्मेवार नेतृत्व शैली विस्फोट हुँदा युवा आक्रोशमा परिणत भएको हो । २०४६ सालको जनआन्दोलन सफल भएपछि मुलुक प्रजातान्त्रिक युगमा प्रवेश गर्यो । जनता प्रजाबाट सार्वभौमसत्ता सम्पन्न नागरिक बने । विद्यार्थीकालबाटै प्रजातन्त्रको लागि लडाइँ गरेका , पिटाइ खाएका , जेलनेल ब्येहोरेका त्यो आन्दोलनका त्यागी नेताहरुलाई जयजयकार गरियो । आफ्नो राजनीतिक आस्थाअनुरुप शीर्षस्थ नेताहरुको तस्बिर घरघरमा सजाएर राख्ने चलन भयो ।

हो , उनिहरु साँच्चिकै त्यागी । आन्दोलन पश्चात्  गणेशमानलाई अन्तरिम सरकारको प्रधानमन्त्री हुने प्रस्ताव राख्दा आफ्नो भुमिका पूरा भएको र आफूभन्दा योग्यलाई प्रधानमन्त्री बनाउनू भनेर कृष्ण प्रसाद भट्टराईको नाउँ अगाडि ल्याएर उनी घर गए  । पानी खाने माटोको सुरै , एउटा टिनको ट्याङ्का र छाता बोकेर बालुवाटार निवास छिरेका प्रधानमन्त्री कृष्णप्रसाद कार्यकाल सकिएपछि त्यही सुरै , छाता र ट्याङ्का बोकेर फर्किएका इतिहास अहिलेका पुस्ताको लागि दन्त्यकथा भइसकेका छन् ।

उनीहरूले पद त्यागे , पैसा त्यागे , घर त्यागे , परिवार त्यागे र कृष्णप्रसाद भट्टराई , सुशील कोइराला , नारायणकाजी श्रेष्ठ , फरमुला मनसुर ,अम्बिका बस्नेतहरुले जवानी पनि त्यागे । कति जनाको व्यक्तिगत निर्णय होला विवाह तर कतिलाई राजनीतिक जीवनले वैवाहिक जीवनको लागि समय नै निकालिदिएन । शेरबहादुर देउवाले जवानीमै विवाह गर्न भ्याएनन् । आफ्नो राजनीतिक जीवनका कठिन मोडहरु पार लगाइसकेपछि प्रौढकालमा आफ्नै अद्ययन र उद्योगको व्यस्तताले परिपक्व भएकी आरजु राणासँग उनले विवाह गरे ।

त्यो कुनै व्यक्तिगत सम्बन्ध मात्रै थिएन । त्यो आदर्श विवाहसम्म आइपुगेको राजनीतिक यात्रा एउटा प्रेरणा थियो ।  सङ्घर्षित जीवनको सुखद अवतरण थियो । प्रजातन्त्रको जग बसाल्ने योद्धाहरुको कथा गौरवपुर्ण इतिहास पनि थियो । यो देशमा परिवर्तनको लागि लड्ने योद्धाहरुको कथाले एउटा प्याराग्राफ होइन , दर्जनौं पुस्तक भरिएलान् तर राजनीतिक विश्लेषणसँग त्यति सान्दर्भिक नलाग्ने यी प्रसङ्गहरु बुढानिलकण्ठ काण्डसँग जोड्ने साङ्केतिक प्याराग्राफ मात्रै हुन् ।

स्वर्णवर्णले लेखिने प्रजातन्त्रका यी सेनानीहरुको इतिहास गत भाद्र चौवीस गते बुढानिलकण्ठसम्म आइपुग्दा खरानीमा रुपान्तरण भएको छ । भिडियोहरुमा कारुणिक दृश्य देखिएको थियोे । घरभित्र आगो दन्किरहेको बेला सिकुवामा देउवा दम्पती लछारिएका, पछारिएका देखिन्छन् । टाउको र शरीरको चोटबाट रगत बगिरहदा पनि आक्रोशित भीडले निर्मम प्रहार गरिरहेका हुन्छन् । सुरक्षाकर्मीले उद्धार गरिरहदा पनि बाहिरबाट ढुङ्गा र गाली रोकिएको हुदैन ।  भोलिपल्ट भग्नावशेषमा ठुलो मात्रामा खरानी हुन बाँकी रहेका रुपैयाँका टुक्राहरु भेटिन्छन् ।

व्यवस्था परिवर्तनपश्चात् केही वर्ष विकास र सुशासनमा उल्लेख्य परिवर्तन नदेखिन सक्छ ।  नयाँ व्यवस्थामा अभ्यास र अनुभव हुदैन ।  कानुन  विधानहरु पर्याप्त हुदैनन् । स्वार्थ समुहको दबाबले बजेटको वितरणमा कमजोरी हुदा अपेक्षित विकास देखिदैन ।

आन्दोलनमा सहभागी कार्यकर्ताहरु  पुरस्कार र अवसरको लागि सरकारवरिपरि आइपुग्छन् । अझ उनिहरुको भीडमा अवसरवादीहरु मिसिन्छन् र  नेतृत्वलाई  डिस्ट्रभ गरिरहन्छन् । यस्तो संक्रमणकालमा आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्नु नै मुल लब्धि हुने भएकोले जनताले पनि ठुलै फलको आशा गरेको हुदैनन्  ।

वि स २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि हाम्रोमा पनि त्यही भयो । तर जति प्रजातन्त्र हुर्कदै गयो , समृद्धि र सुसाशन फस्टाउनुको सट्टा भ्रष्टाचारको जरो त्यति नै फैलदै गयो ।   शून्यस्तरको भ्रष्टाचार त कुनै व्यवस्थामा पनि कल्पना गर्न नसकिएला  तर गिरिजाकालबाटै शुरु भएको प्रजातन्त्रभित्रको भ्रष्टाचार देउवाकालसम्म आइपुग्दा यसले विकराल रुप मात्र लिएन , राजनीतिकै अभिन्न अंग बन्न पुग्यो भ्रष्टाचार । यहाँ भ्रष्टाचारका काण्ड र  फाइलका सूचि बनाएर व्याख्या गरिरहनु नै पर्दैन किनभने  मिडियाका पत्रपत्र भ्रष्टाचारका समाचारले ढाकिएका हुन्छन् ।

न्यायीक निकायहरुमा भ्रष्टाचारका फाइलहरुको चाङ लागेका हुन्छन् । भ्रष्टाचार र  सुशासन हेर्ने अन्तर्राष्ट्रिय संस्थाहरुले  नेपाललाई दिएका अंकहरु अत्यन्त कमजोर हुन्छन्  । पास हुने खालका हुदैनन् ।  नेपालको भ्रष्टाचारलाई नेपालीले मात्रै होइन ,  विदेशीले पनि  चिन्ने मौका पाए र कतिपय अन्तर्राष्ट्रिय सम्बन्धहरु रद्ध गरिएका हुन्छन्  ।

अर्कोतिर पत्रकार ,  सिसिटिभी या अख्तियारले नदेख्ने  नीतिगत भ्रष्टाचारको बेग्लै डरलाग्दो हिसाब छ । कुनै लिखितम कागजले प्रमाणित नहुने परम्परागत भ्रष्टाचारको पनि बेहिसाब हिसाब छ ।  चुनाउको बेला  टिकटदेखि  भोटसम्मका  खरिदबिक्रीका हिसाबहरुको कतै बेरुजु भेटिदैन ।   उच्च पदका कुर्सीहरुको दलीय भागबण्डालाई त्यही कुर्सीमा आसिन अधिकारीले कसरी  खुट्याउने हिम्मत राख्छ ? राख्दैन । स्वबान्धववाद र अहङ्कारवाद पनि कानुनको व्याख्यामा पर्दैनन्  ।

पछिल्ला दिनहरमा केही नयाँ अनुहारहरु सांसद बनेर संसदभित्र प्रवेश गरे र भ्रष्टाचार बिरोधि आवाजहरु चर्को बनाए । विडम्बना ! लोकतन्त्रको लागि लडेका , ज्यानको बाजि थापेका , इतिहास बनाएका तर भ्रष्टाचारीको लोकसंज्ञा पाएका लिडरहरु सुध्रिएनन् बरु गठबन्धित हुदै गए र सत्ताशक्ति हातमा लिएर आफूविरुद्धका आवाजहरु निस्तेज र मिथ्या साबित गर्ने कसरतमा जुटे ।

४६ सालको जनआन्दोलनपश्चात्  कहिले मिल्न नसकेका मुख्य दलहरुले  खतराको घण्टी सुन्न थालेपछि गठबन्धनरुपी नयाँ सुत्र पत्ता लगाएर झन् बलिया हुने कोसिस  गरे । मुख्य प्रतिपक्षीहरु पनि  सत्ताको पालोमा उभिने नै भए  । फेरि सत्ताचक्रमा उनिहरु पनि त भ्रष्टाचारकै सञ्जालमा थिए  ।  सदनमा  प्रतिपक्षको  अभिनय गर्न खप्पिस भइसकेका थिए  ।  बाँकी नवोदितहरुको आवाज आवाजमै सिमित भयो ।

राजनीतिक क्षेत्रका यी भ्रष्ट आचारप्रति कविले कविताबाट , गायकले गीतबाट, कलाकारले कला व्यङ्ग्यबाट , लेखकले लेखबाट, सम्पादकले सम्पादकीयबाट अविरल प्रहार गरिरहे । कतिसम्म  थेत्तरा बने भने  गाईजात्रामा अतिथि बनेर पुगेका यिनीहरु आफैमाथि प्रहार गरिएका व्यङ्ग्यवाणहरु हेरेर हास्दै फर्किए तर कहिले सुध्रिएनन् ।  न महसुस र ग्लानीको कुनै इण्डिकेशन देखाए अनुहारहरुमा ।

पहिला अण्डा कि कुखुरा ? यो त तर्कको होइन, अनुसन्धानको विषय हुनसक्छ ।   तर पहिला घर बनाउन आर्थिक भ्रष्टाचार सुरु भयो अनि घर बानाइदिन दोस्रो भ्रष्टाचार । अनि भ्रष्टाचारको विकसित रुप यस्तो भयो कि राजनीति बचाउन आर्थिक भ्रष्टाचार अनि अर्थ बचाउन राजनीतिक भ्रष्टाचार फेरि राजनीति बचाउन आर्थिक भ्रष्टाचार फेरि अर्थ बचाउन राजनीतिक भ्रष्टाचार ……. । यही भ्रष्टाचाररुपी  साइकलको प्रवेग अति भएपछि भदौ २३ गते विस्फोट हुने घडी  आइपुगे थियो  ।  विस्फोटको समयमा विवेक , नियम र न्याय स्वयं  निरीह अवस्थामा  हुन्छन् । देशमा आगो बलेको हुन्छ ।  यो दःखद् दिन आखिर आएरै छोड्यो । देशमा आगो लाग्यो ।

सन् १९९७  यता जन्मिएका पुस्तालाई जेन जेड भनिएको छ । उनीहरुले वि. सं. २०४६ यताका राजनीतिक घटनाक्रम देखेनन् , भोगेनन् । उनिहरु लोकतन्त्र , नागरिक सर्वोच्चता , सार्वभौमिकता जस्ता शब्दावलीका प्रयोगात्मक अर्थसँग स्पष्ट परिचित नहोलान् तर उनीहरु टिनएजर नहुदै उनीहरुको कानमा बारम्बार ठोक्किएको शब्द हो भ्रष्टाचार । उनीहरू घुलमिल हुने प्रत्येक माध्यम र सरोकार क्षेत्रमामा भ्रष्टाचारको जालो लागेको पाइयो  । मिडिया खोल्यो भ्रष्टाचार , पत्रिका पल्टायो भ्रष्टाचार , अफिस गयो भ्रष्टाचार , बजार गयो भ्रष्टाचार र  सरकारको  त पर्याय नै भ्रष्टाचार । भ्रष्टाचारै भ्रष्टाचारको परिवेशले उनीहरूभित्र विद्रोहको बीजारोपण भयो र यो हुर्किएर  युवाकालमा आइपुग्दा  विस्फोट हुने तहमा पुग्यो  ।

हालसम्मका राजनीतिक लब्धिहरु कति बलिया हुन्छन् र अब लाग्ने फल कति गुलियो होला ?  हाल बालेन्द्र सरकार परीक्षा हलमा प्रवेश गरेको छ ,  ऊ कति अंकले पासफेल हुन्छ ?  समयले  फैसला  गर्दै जाने हो ।  तर विश्व इतिहासमै दुर्लभ रेकर्ड हुने जेनजेड आन्दोलनले एउटा सामान्य विवाह सम्पन्न हुने जति समयमा राजनीतिक सिण्डिकेटको कङ्क्रिट किल्ला भत्काएको छ । भ्रष्टहरुले लगाउने एन्टिक्रास हेलमेट पनि कालान्तरसम्म टिकाउ हुदैन भन्ने प्रमाण दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार