-दुर्गाराज भट्टराई
भूकम्प हल्ला गरेर आउदैन । यो एक्कासि आउँछ र उलटपुलट बनाएर जान्छ तर भूकम्प आउने अवस्था एकैचोटि सिर्जना भएको हुदैन । विभिन्न भूखण्डका निरन्तर दवाबले चाप थेग्न नसकेपछि एकदिन विस्फोट हुनपुग्छ अनि दवाबमा राख्ने भूखण्डलाई नै हल्लाइदिन्छ ।
गत भदौ तेईस गते निस्केको राजनीतिक भूकम्पको सिर्जना पनि यसरी नै भएको हो । यो शक्ति बाईस गते विकसित भएर तेईस गते एक्कासि विस्फोट भएको होइन । यो झण्डै छत्तीस वर्षसम्म प्रजातान्त्रिक प्रणालीभित्र निरन्तर भएका अप्रजातान्त्रिक र गैर जिम्मेवार नेतृत्व शैली विस्फोट हुँदा युवा आक्रोशमा परिणत भएको हो । २०४६ सालको जनआन्दोलन सफल भएपछि मुलुक प्रजातान्त्रिक युगमा प्रवेश गर्यो । जनता प्रजाबाट सार्वभौमसत्ता सम्पन्न नागरिक बने । विद्यार्थीकालबाटै प्रजातन्त्रको लागि लडाइँ गरेका , पिटाइ खाएका , जेलनेल ब्येहोरेका त्यो आन्दोलनका त्यागी नेताहरुलाई जयजयकार गरियो । आफ्नो राजनीतिक आस्थाअनुरुप शीर्षस्थ नेताहरुको तस्बिर घरघरमा सजाएर राख्ने चलन भयो ।
हो , उनिहरु साँच्चिकै त्यागी । आन्दोलन पश्चात् गणेशमानलाई अन्तरिम सरकारको प्रधानमन्त्री हुने प्रस्ताव राख्दा आफ्नो भुमिका पूरा भएको र आफूभन्दा योग्यलाई प्रधानमन्त्री बनाउनू भनेर कृष्ण प्रसाद भट्टराईको नाउँ अगाडि ल्याएर उनी घर गए । पानी खाने माटोको सुरै , एउटा टिनको ट्याङ्का र छाता बोकेर बालुवाटार निवास छिरेका प्रधानमन्त्री कृष्णप्रसाद कार्यकाल सकिएपछि त्यही सुरै , छाता र ट्याङ्का बोकेर फर्किएका इतिहास अहिलेका पुस्ताको लागि दन्त्यकथा भइसकेका छन् ।
उनीहरूले पद त्यागे , पैसा त्यागे , घर त्यागे , परिवार त्यागे र कृष्णप्रसाद भट्टराई , सुशील कोइराला , नारायणकाजी श्रेष्ठ , फरमुला मनसुर ,अम्बिका बस्नेतहरुले जवानी पनि त्यागे । कति जनाको व्यक्तिगत निर्णय होला विवाह तर कतिलाई राजनीतिक जीवनले वैवाहिक जीवनको लागि समय नै निकालिदिएन । शेरबहादुर देउवाले जवानीमै विवाह गर्न भ्याएनन् । आफ्नो राजनीतिक जीवनका कठिन मोडहरु पार लगाइसकेपछि प्रौढकालमा आफ्नै अद्ययन र उद्योगको व्यस्तताले परिपक्व भएकी आरजु राणासँग उनले विवाह गरे ।
त्यो कुनै व्यक्तिगत सम्बन्ध मात्रै थिएन । त्यो आदर्श विवाहसम्म आइपुगेको राजनीतिक यात्रा एउटा प्रेरणा थियो । सङ्घर्षित जीवनको सुखद अवतरण थियो । प्रजातन्त्रको जग बसाल्ने योद्धाहरुको कथा गौरवपुर्ण इतिहास पनि थियो । यो देशमा परिवर्तनको लागि लड्ने योद्धाहरुको कथाले एउटा प्याराग्राफ होइन , दर्जनौं पुस्तक भरिएलान् तर राजनीतिक विश्लेषणसँग त्यति सान्दर्भिक नलाग्ने यी प्रसङ्गहरु बुढानिलकण्ठ काण्डसँग जोड्ने साङ्केतिक प्याराग्राफ मात्रै हुन् ।
स्वर्णवर्णले लेखिने प्रजातन्त्रका यी सेनानीहरुको इतिहास गत भाद्र चौवीस गते बुढानिलकण्ठसम्म आइपुग्दा खरानीमा रुपान्तरण भएको छ । भिडियोहरुमा कारुणिक दृश्य देखिएको थियोे । घरभित्र आगो दन्किरहेको बेला सिकुवामा देउवा दम्पती लछारिएका, पछारिएका देखिन्छन् । टाउको र शरीरको चोटबाट रगत बगिरहदा पनि आक्रोशित भीडले निर्मम प्रहार गरिरहेका हुन्छन् । सुरक्षाकर्मीले उद्धार गरिरहदा पनि बाहिरबाट ढुङ्गा र गाली रोकिएको हुदैन । भोलिपल्ट भग्नावशेषमा ठुलो मात्रामा खरानी हुन बाँकी रहेका रुपैयाँका टुक्राहरु भेटिन्छन् ।
व्यवस्था परिवर्तनपश्चात् केही वर्ष विकास र सुशासनमा उल्लेख्य परिवर्तन नदेखिन सक्छ । नयाँ व्यवस्थामा अभ्यास र अनुभव हुदैन । कानुन विधानहरु पर्याप्त हुदैनन् । स्वार्थ समुहको दबाबले बजेटको वितरणमा कमजोरी हुदा अपेक्षित विकास देखिदैन ।
आन्दोलनमा सहभागी कार्यकर्ताहरु पुरस्कार र अवसरको लागि सरकारवरिपरि आइपुग्छन् । अझ उनिहरुको भीडमा अवसरवादीहरु मिसिन्छन् र नेतृत्वलाई डिस्ट्रभ गरिरहन्छन् । यस्तो संक्रमणकालमा आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्नु नै मुल लब्धि हुने भएकोले जनताले पनि ठुलै फलको आशा गरेको हुदैनन् ।
वि स २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि हाम्रोमा पनि त्यही भयो । तर जति प्रजातन्त्र हुर्कदै गयो , समृद्धि र सुसाशन फस्टाउनुको सट्टा भ्रष्टाचारको जरो त्यति नै फैलदै गयो । शून्यस्तरको भ्रष्टाचार त कुनै व्यवस्थामा पनि कल्पना गर्न नसकिएला तर गिरिजाकालबाटै शुरु भएको प्रजातन्त्रभित्रको भ्रष्टाचार देउवाकालसम्म आइपुग्दा यसले विकराल रुप मात्र लिएन , राजनीतिकै अभिन्न अंग बन्न पुग्यो भ्रष्टाचार । यहाँ भ्रष्टाचारका काण्ड र फाइलका सूचि बनाएर व्याख्या गरिरहनु नै पर्दैन किनभने मिडियाका पत्रपत्र भ्रष्टाचारका समाचारले ढाकिएका हुन्छन् ।
न्यायीक निकायहरुमा भ्रष्टाचारका फाइलहरुको चाङ लागेका हुन्छन् । भ्रष्टाचार र सुशासन हेर्ने अन्तर्राष्ट्रिय संस्थाहरुले नेपाललाई दिएका अंकहरु अत्यन्त कमजोर हुन्छन् । पास हुने खालका हुदैनन् । नेपालको भ्रष्टाचारलाई नेपालीले मात्रै होइन , विदेशीले पनि चिन्ने मौका पाए र कतिपय अन्तर्राष्ट्रिय सम्बन्धहरु रद्ध गरिएका हुन्छन् ।
अर्कोतिर पत्रकार , सिसिटिभी या अख्तियारले नदेख्ने नीतिगत भ्रष्टाचारको बेग्लै डरलाग्दो हिसाब छ । कुनै लिखितम कागजले प्रमाणित नहुने परम्परागत भ्रष्टाचारको पनि बेहिसाब हिसाब छ । चुनाउको बेला टिकटदेखि भोटसम्मका खरिदबिक्रीका हिसाबहरुको कतै बेरुजु भेटिदैन । उच्च पदका कुर्सीहरुको दलीय भागबण्डालाई त्यही कुर्सीमा आसिन अधिकारीले कसरी खुट्याउने हिम्मत राख्छ ? राख्दैन । स्वबान्धववाद र अहङ्कारवाद पनि कानुनको व्याख्यामा पर्दैनन् ।
पछिल्ला दिनहरमा केही नयाँ अनुहारहरु सांसद बनेर संसदभित्र प्रवेश गरे र भ्रष्टाचार बिरोधि आवाजहरु चर्को बनाए । विडम्बना ! लोकतन्त्रको लागि लडेका , ज्यानको बाजि थापेका , इतिहास बनाएका तर भ्रष्टाचारीको लोकसंज्ञा पाएका लिडरहरु सुध्रिएनन् बरु गठबन्धित हुदै गए र सत्ताशक्ति हातमा लिएर आफूविरुद्धका आवाजहरु निस्तेज र मिथ्या साबित गर्ने कसरतमा जुटे ।
४६ सालको जनआन्दोलनपश्चात् कहिले मिल्न नसकेका मुख्य दलहरुले खतराको घण्टी सुन्न थालेपछि गठबन्धनरुपी नयाँ सुत्र पत्ता लगाएर झन् बलिया हुने कोसिस गरे । मुख्य प्रतिपक्षीहरु पनि सत्ताको पालोमा उभिने नै भए । फेरि सत्ताचक्रमा उनिहरु पनि त भ्रष्टाचारकै सञ्जालमा थिए । सदनमा प्रतिपक्षको अभिनय गर्न खप्पिस भइसकेका थिए । बाँकी नवोदितहरुको आवाज आवाजमै सिमित भयो ।
राजनीतिक क्षेत्रका यी भ्रष्ट आचारप्रति कविले कविताबाट , गायकले गीतबाट, कलाकारले कला व्यङ्ग्यबाट , लेखकले लेखबाट, सम्पादकले सम्पादकीयबाट अविरल प्रहार गरिरहे । कतिसम्म थेत्तरा बने भने गाईजात्रामा अतिथि बनेर पुगेका यिनीहरु आफैमाथि प्रहार गरिएका व्यङ्ग्यवाणहरु हेरेर हास्दै फर्किए तर कहिले सुध्रिएनन् । न महसुस र ग्लानीको कुनै इण्डिकेशन देखाए अनुहारहरुमा ।
पहिला अण्डा कि कुखुरा ? यो त तर्कको होइन, अनुसन्धानको विषय हुनसक्छ । तर पहिला घर बनाउन आर्थिक भ्रष्टाचार सुरु भयो अनि घर बानाइदिन दोस्रो भ्रष्टाचार । अनि भ्रष्टाचारको विकसित रुप यस्तो भयो कि राजनीति बचाउन आर्थिक भ्रष्टाचार अनि अर्थ बचाउन राजनीतिक भ्रष्टाचार फेरि राजनीति बचाउन आर्थिक भ्रष्टाचार फेरि अर्थ बचाउन राजनीतिक भ्रष्टाचार ……. । यही भ्रष्टाचाररुपी साइकलको प्रवेग अति भएपछि भदौ २३ गते विस्फोट हुने घडी आइपुगे थियो । विस्फोटको समयमा विवेक , नियम र न्याय स्वयं निरीह अवस्थामा हुन्छन् । देशमा आगो बलेको हुन्छ । यो दःखद् दिन आखिर आएरै छोड्यो । देशमा आगो लाग्यो ।
सन् १९९७ यता जन्मिएका पुस्तालाई जेन जेड भनिएको छ । उनीहरुले वि. सं. २०४६ यताका राजनीतिक घटनाक्रम देखेनन् , भोगेनन् । उनिहरु लोकतन्त्र , नागरिक सर्वोच्चता , सार्वभौमिकता जस्ता शब्दावलीका प्रयोगात्मक अर्थसँग स्पष्ट परिचित नहोलान् तर उनीहरु टिनएजर नहुदै उनीहरुको कानमा बारम्बार ठोक्किएको शब्द हो भ्रष्टाचार । उनीहरू घुलमिल हुने प्रत्येक माध्यम र सरोकार क्षेत्रमामा भ्रष्टाचारको जालो लागेको पाइयो । मिडिया खोल्यो भ्रष्टाचार , पत्रिका पल्टायो भ्रष्टाचार , अफिस गयो भ्रष्टाचार , बजार गयो भ्रष्टाचार र सरकारको त पर्याय नै भ्रष्टाचार । भ्रष्टाचारै भ्रष्टाचारको परिवेशले उनीहरूभित्र विद्रोहको बीजारोपण भयो र यो हुर्किएर युवाकालमा आइपुग्दा विस्फोट हुने तहमा पुग्यो ।
हालसम्मका राजनीतिक लब्धिहरु कति बलिया हुन्छन् र अब लाग्ने फल कति गुलियो होला ? हाल बालेन्द्र सरकार परीक्षा हलमा प्रवेश गरेको छ , ऊ कति अंकले पासफेल हुन्छ ? समयले फैसला गर्दै जाने हो । तर विश्व इतिहासमै दुर्लभ रेकर्ड हुने जेनजेड आन्दोलनले एउटा सामान्य विवाह सम्पन्न हुने जति समयमा राजनीतिक सिण्डिकेटको कङ्क्रिट किल्ला भत्काएको छ । भ्रष्टहरुले लगाउने एन्टिक्रास हेलमेट पनि कालान्तरसम्म टिकाउ हुदैन भन्ने प्रमाण दिएको छ ।






प्रतिक्रिया