काठमाडौँ — विगतका विपद्बाट प्रभावित मध्यपहाडी तथा हिमाली जिल्लाहरूमा नेपाली सेनाले खोज, उद्धार र राहत कार्यलाई थप सशक्त बनाएको छ। रसुवा, नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका दुर्गम तथा जोखिमयुक्त क्षेत्रहरूमा ९ हजार ३ सय भन्दा बढी सैन्य जनशक्ति प्रत्यक्ष रूपमा परिचालन भई उद्धारलाई निरन्तरता दिइरहेका छन्।
भौतिक पूर्वाधार पुनर्निर्माण र सम्पर्क सञ्जाल जोड्ने क्रममा नुवाकोटको विदुर नगरपालिका-५ स्थित देवीघाटमा तादी नदीमाथि नयाँ पुल हाल्ने काम तीव्र पारिएको छ। सेनाको इन्जिनियरिङ फौजका ५५ जनाको प्राविधिक टोलीले ६० मिटर लम्बाइ, ५.५ मिटर चौडाइ र ५० टन भार वहन क्षमताको एक्रो ब्रिज ढुवानी गरी निर्माण कार्य द्रुत गतिमा अघि बढाएको छ। यसैगरी अवरुद्ध सडक सञ्जाल खुलाउन र हवाई साधनमार्फत आपत्कालीन प्रयोगका लागि त्रिशूलीमा २० वटा अक्सिजन सिलिन्डर समेत पुर्याइएको छ।
उद्धार कार्य अन्तर्गत नेपाली सेनाका हेलिकप्टर तथा हवाई साधनमार्फत प्रभावित इलाकाहरूबाट हालसम्म कुल ३ हजार ९ सय ६७ जनाको उद्धार भइसकेको छ, जसमा ३ हजार ६ सय ९२ जना स्वदेशी र २७५ जना विदेशी नागरिक रहेका छन्। भाद्र २१ गते दिउँसोसम्म मात्रै थप ५ जनालाई वायुसेवामार्फत सुरक्षित स्थानमा पुर्याइएको छ। त्यसैगरी मैलुङदेखि स्याफ्रुबेसीसम्मका विकट क्षेत्रमा पैदल गस्ती टोली परिचालन गरी घाइते तथा फसेका नागरिकको खोजी भइरहेको छ। सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पट्रोलमार्फत हालसम्म ३ हजार २ सय ९८ जनाले प्रत्यक्ष स्वास्थ्य सेवा प्राप्त गरिसकेका छन्।
विशेष गरी विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र फसेकाहरूको खोजी कार्य निकै चुनौतीपूर्ण बनेको छ। रसुवागढी जलविद्युत् आयोजनामा सेनाको सीक्यूआरटी टोली र आयोजना प्रतिनिधिहरू पावरहाउस तथा कन्ट्रोल पोइन्टसम्म पुगेर खोजीमा जुटेका छन्। त्रिशूली-३ ‘ए’ को पावरहाउस र टनेलमा ८ जनाको विशेष सैन्य टोली रेस्क्यु उपकरणसहित खटिएको छ भने त्रिशूली-३ ‘बी’ को अडिट-२ टनेल सफा गरी एक्जाभेटर छिर्न सक्ने बनाइँदै छ।
त्यस्तै चिलिमे हाइड्रोमा मिनी एक्जाभेटर र मड पम्पको मद्दतले लेदो फाल्दै टोली पावरहाउसको करिब ५०-६० मिटर नजिक पुगेको छ र स्याफ्रुबेसीमा स्लिङ अपरेसनमार्फत एक्जाभेटर झारेर टनेल क्षेत्रतर्फ लैजाने काम भइरहेको छ। माथिल्लो त्रिशूली-१ मा भने विदेशी विज्ञसहितको संयुक्त टोलीले थर्मल क्यामेराको सहायताले सुरुङभित्र थप खोजी कार्यलाई निरन्तरता दिएको छ।






प्रतिक्रिया