नेपालमा झण्डै चार दर्जनको संख्यामा हिमतालहरू अति जोखिमपूर्ण छन् भनेर नक्सांकन गरिएको छ, त्यसमा पूर्ण सत्यता नभएको विज्ञले बताएका छन् । नेपालमा ४७ वटा हिमताल जोखिममा रहेको चर्चाबीच जलस्रोत अध्ययन केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयमा अनुसन्धानकर्ताको रूपमा कार्यरत वैज्ञानिक डा नितेश खड्काले यस्तो तथ्याङ्कमा सत्यता नभएको बताउनु भयो
हिमतालको विषयमा विज्ञता हासिल गर्नु भएका वैज्ञानिक डा खड्का भन्नु हुन्छ, ‘नेपालमा ४७ वटामात्र हिमताल जोखिमपूर्ण छैनन्, त्यो कुनै विधि र प्रक्रिया अनुसार नक्सांकन गरिएको हो, जस्तै धेरै अनुसन्धान पत्रहरू छापिएका छन्, त्यसमा चाहिँ सयौँ हिमतालहरू जोखिमपूर्ण रहेका छन्। त्यो तथ्य पनि हो।’
हिमताल विस्फोटन भएर आउने बाढी अथवा हिमनदीबाट आउने बाढीहरू कहिले र कसरी आउँछ ? भनेर आकलन गर्न सकिँदैन। यो भविष्यवाणी गरेजस्तो कुरा हो, तर जोखिम मूल्यांकन गरेर नक्सांकन गर्ने र कुनकुन ठाउँ सुरक्षित छन् अथवा कुन हिमताल विस्फोटन हुन सक्छ वा कुन हिमताल बढी जोखिमपूर्ण छ भन्ने कुरा अध्ययन गर्न सकिने डा खड्काको भनाइ छ। यस्ता भिरालो, ठाडो जमिनमा जहाँसुकै पनि हिमपहिरो जान सक्ने ठाउँहरू वा हिमचट्टान फुट्न सक्ने हुन्छन्। त्यसअनुसार त्यो बाढी गयो भने तल्लो तटीय क्षेत्रमा कस्तो असर गर्छ भनेर अध्ययन पनि गर्न सकिन्छ, तर कहिले र कसरी हुन्छ भनेर भन्न सकिँदैन।
डा खड्काका अनुसार सावधानी अपनाउनका लागि हामीले पूर्व सूचना प्रणालीबाट सजग गराउनुपर्ने हुन्छ। माथिल्लो तटीय क्षेत्रबाट तल्लो तटीय क्षेत्रमा सूचना आदानप्रदान हुने, उता चीनबाट नेपाल यस्तो विपद्को बेला के गर्ने ? विपद् अगाडि के गर्ने ? विपद् आउँदा आधिकारिक निकायबाट सूचना आउँदा के गर्ने ? विपद् भइसकेपछि के गर्ने ? भन्ने कुरा समुदायलाई सुसूचित गराउनुपर्ने देखिन्छ।
त्यसै गरी अब तल्लो तटीय क्षेत्रमा यस्तो बाढी आएमा, पहिरो आएमा के गर्ने, अथवा त्यहाँ सेल्टरहरू बन्छन्, इभाकुएसन (निकासी) योजनाहरू, एउटा बस्तीमा बाढीबाट क्षति हुन नदिनका लागि एउटा निश्चित ठाउँ तोकेर, ू‘तपाईंहरू सबै बाढी आएको सूचना पाउने बित्तिकै यो ठाउँमा गएर बस्नुहोस्ू’ भन्दै त्यस्तो सुरक्षित स्थानको पहिचान गरेर सरकारले त्यहाँसम्म जाने व्यवस्था मिलाउनुपर्छ।
‘हाम्रो अरुण नदी, तामाकोशी, भोटेकोशी, त्रिशूली, बुढीगण्डकी र हुम्ला कर्णाली नदीको जलाधार क्षेत्र तिब्बतमा पनि पर्ने हुनाले, तिब्बतमा कुनै किसिमको बाढी आएमा अथवा हिमताल विस्फोट भएमा अथवा हिमनदी र यी जलाधारहरूमा पूर्वसूचना प्रणालीहरू जडान गर्ने अथवा माथिबाट तल्लो तटीय क्षेत्रमा सूचनाहरू तत्कालै प्रवाह गर्ने केही संयन्त्रहरू बनाउने र प्रणालीहरू स्थापना गर्नुपर्ने हुन्छ ।’– डा खड्काको भनाइ छ ।






प्रतिक्रिया