नेपाल-चीन अन्तर्राष्ट्रिय सीमानाका रसुवागढीमा बाढी प्रभावितहरूको खोज तथा उद्धारका लागि खटिएको सशस्त्र प्रहरी बल, नेपालको विशेष टोलीले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेको छ। भाद्र २० गते रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-२ स्थित सीमानाकामा उक्त झण्डोत्तोलन गरिएको हो।
गत भाद्र १० गते ल्हेन्दे खोलामा आएको भीषण बाढीका कारण उक्त क्षेत्रको बाटो पूर्णरूपमा क्षतिग्रस्त भएको थियो। बाटो भत्किएपछि सीमा इलाकाको नियमित अनुगमनसमेत गर्न नसकिने जटिल अवस्था सिर्जना भएको थियो।
बाढी प्रभावितहरूको खोज तथा उद्धारका साथै राष्ट्रिय स्वाभिमान र सीमा सुरक्षाको जिम्मेवारीलाई उच्च प्राथमिकतामा राख्दै सशस्त्र प्रहरीको टोली त्यसतर्फ परिचालन भएको थियो। सशस्त्र प्रहरी बल, नेपाल नं. २० गुल्म रसुवाका सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदिप राईको कमाण्डमा बोर्डर आउट पोस्ट टिमुरेबाट खटिएको विशेष टोली पर्वतीय उद्धार सामग्रीहरूको प्रयोग गर्दै करिब ३ किलोमिटर दुरीको अत्यन्तै जोखिमयुक्त भिरको बाटो छिचोलेर सीमानाकासम्म पुग्न सफल भएको हो।
सो अन्तर्राष्ट्रिय सीमानाका रसुवागढीमा नेपाली सेनाको टोलीसमेत हेलिकप्टरमार्फत पुगेको थियो। त्यसपछि सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले संयुक्त रूपमा सो स्थानमा सफलतापूर्वक राष्ट्रिय झण्डा फहराएका हुन्।






प्रतिक्रिया