छ दिनअघि रसुवा बाढीमा बेपत्ता भएका नागरिकको उद्धारमा नेपाली सेनाले निरन्तर सक्रिय छ । सेनाले स्थल उद्धार २ सय र हवाई साधनमार्फत विदेशी नागरिक ३ सय ३८ जना सहित ३ हजार ५९६ जनाको उद्धार गरेको जनाएको छ।
त्रिशूली ए मा राति करिब २ बजे कन्ट्रोल ब्लास्ट गरिएको छ। साथै, दुई वटा एक्स्काभेटर करिब १० मिटर तलसम्म लगेर होल बनाउने, टनेलभित्रको पानी, हिलो र लेदोलाई सफा गर्ने कार्य भइरहेको छ । त्रिशूली बी मा पनि विज्ञसहितको फौज खटिई खोज तथा उद्धार कार्य जारी रहेको छ।
विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रोको टनेलभित्र करिब १ सय मिटर प्रवेश गरी खोजी गर्ने क्रममा त्यसभन्दा भित्रको भाग हिलो माटोले पुरिएको अवस्थामा फेला पारेको छ। सो क्रममा दुई वटा शव सङ्कलन गरिएको छ। अपर त्रिशूली १ मा खोज तथा उद्धार टोलीले टनेलभित्र करिब ३ सय मिटरसम्म प्रवेश गरी खोजी कार्य गरेको तथा एक शव सङ्कलन गरिएको छ।
लाङटाङ टनेलमा समेत टोली टनेलभित्र प्रवेश गरी खोज तथा उद्धार कार्य गरिरहेको छ। प्रभावित क्षेत्रका जङ्गल, एवम् डाडाँहरूका साथै खोला र बस्ती इलाकामा स्थानीयहरूलाई सुरक्षा प्रत्याभूति दिलाई उद्धारको आवश्यकता मूल्याङ्कन गर्नको लागि पैदल गस्ती गरी आम जनसमुदायसँग अवस्था बुझ्ने कार्य भइरहेको छ भने उक्त क्रममा स्याफ्रुबेसी इलाकामा राहत तथा राशन वितरणको कार्य, लाङ्गटाङ्ग हाइड्रो इलाकामा रेकी तथा पट्रोल समेत सञ्चालन गरिएको सेनाले जनाएको छ ।
नेपाली सेनाले स्थापना गरेको आपत्कालीन उपचार केन्द्र, त्रिशूली र धुन्चेमा गरी हालसम्म २ हजार ६ सय ३२ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व लगायत नवलपरासी पश्चिमका प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका ८ हजार ९ सय भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिई समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार कार्य, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सुचारु एवम् आपत्कालीन उपचार गर्ने कार्य गरिरहेको सनो जनाउँछ ।
सेनाले हालसम्म करिब २३ हजार १९४ किलोग्राम राहत सामग्री धुन्चे लगायतका प्रभावित इलाकामा हवाई माध्यमबाट ढुवानी गरिएको छ ।





प्रतिक्रिया