काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि विदेशिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउनमा नयाँ तथा पुनः श्रम स्वीकृति लिएर ७० हजार ४४१ नेपाली रोजगारीका लागि विभिन्न मुलुक पुगेका हुन्।
विभागको तथ्यांकअनुसार साउनमा नेपाली श्रमिकले ११४ वटा मुलुकका लागि श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेको संख्याका आधारमा संयुक्त अरब इमिरेट्स (यूएई) नेपाली श्रमिकको प्रमुख गन्तव्य बनेको छ।
साउनमा यूएईका लागि मात्रै १८ हजार ७८४ जनाले श्रम स्वीकृति लिएका छन्। त्यसपछि मलेसियाका लागि १२ हजार ४९८ र कतारका लागि १० हजार ३६० जनाले श्रम स्वीकृति लिएका छन्।
त्यस्तै, साउदी अरेबियाका लागि ८ हजार ६१३ र कुवेतका लागि ४ हजार ५६७ जनाले श्रम स्वीकृति लिएका छन्। साउनमा यी पाँच प्रमुख गन्तव्यमा मात्रै ५४ हजार ८२२ नेपाली श्रमिकले श्रम स्वीकृति लिएका छन्।
युरोपतर्फ पनि बढ्दै आकर्षण
पछिल्लो समय नेपाली श्रमिकको आकर्षण युरोपेली मुलुकतर्फ समेत बढ्दै गएको विभागको तथ्यांकले देखाएको छ।
साउनमा रोमानियाका लागि २ हजार ८०९ जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै, जापानका लागि १ हजार २४४, ओमानका लागि १ हजार १७९, पोर्चुगलका लागि १ हजार १७९ र टर्कीका लागि १ हजार २१ जनाले श्रम स्वीकृति लिएका छन्।
यसैगरी साइप्रसका लागि १ हजार १६ र माल्दिभ्सका लागि ९९१ जनाले श्रम स्वीकृति लिएका छन्।
दक्षिण कोरिया जाने नेपाली श्रमिकको संख्या पनि साउनमा उल्लेख्य देखिएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत ८१८ जना दक्षिण कोरिया गएका छन्। यस्तै, बहराइनका लागि ७११, क्रोएसियाका लागि ६४४ र माल्टाका लागि ४८० जनाले श्रम स्वीकृति लिएका छन्।
विभागको तथ्यांकले वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकको मुख्य निर्भरता अझै पनि खाडी मुलुक र मलेसियामै रहेको देखाएको छ। यद्यपि पछिल्लो समय युरोप, जापान तथा अन्य विकसित मुलुकतर्फको आकर्षणसमेत बढ्दै गएको छ।
नेपालमा रोजगारीका अवसर सीमित हुनु, आम्दानीको तुलनात्मक रूपमा राम्रो सम्भावना तथा वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण प्रत्येक वर्ष ठूलो संख्यामा नेपाली युवा श्रम स्वीकृति लिएर विदेशिने गरेका छन्। चालु आर्थिक वर्षको पहिलो महिनाकै तथ्यांकले पनि वैदेशिक रोजगारीप्रतिको नेपाली श्रमिकको निर्भरता कायमै रहेको संकेत गरेको छ।






प्रतिक्रिया