मधेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ताः कर छुट नभई नीतिगत स्थिरता र स्पष्टतामा जोड

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को एक प्रतिनिधिमण्डलले मधेश प्रदेशका नवनियुक्त अर्थमन्त्री युवराज भट्टराईसँग भेटवार्ता गरेको छ । व्यापारिक समुदायसँगको संवादलाई अघि बढाउन मन्त्री भट्टराईकै विशेष पहलमा उक्त बैठक आयोजना गरिएको हो ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको टोलीले अटोमोटिभ क्षेत्रलाई प्रादेशिक संरचनाको अभिन्न अंगको रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । मुलुकको कुल सरकारी राजस्वमा २० प्रतिशतभन्दा बढी योगदान पुर्‍याउँदै आएको यस क्षेत्रले देशभर १ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गरेको जानकारी गराइएको नाडाले जनाएको छ ।

छलफलका क्रममा नाडाले मधेश प्रदेश सरकारसमक्ष मुख्य रूपमा तीनवटा प्राथमिकताहरू अगाडि सारेको छः
१. कर संरचनामा स्पष्टताः सवारी दर्ता शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) संरचनामा बहु-वर्षीय स्पष्टता हुनुपर्ने ।
२. चार्जिङ सेन्टरको विकासः माध्यमिक सहरहरूमा रहेका अटोमोबाइल डीलरशिपहरूलाई विद्युतीय सवारी (इभी) चार्जिङ केन्द्रका रूपमा विकास गर्न संयुक्त कार्यदल गठन गरिनुपर्ने ।
३. प्राविधिक पुनः तालिमः विद्युतीय सवारी साधनको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै सेवा प्रदायक प्राविधिकहरूको पुनः तालिमका लागि प्रादेशिक सहयोग उपलब्ध हुनुपर्ने ।

भेटघाटका क्रममा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले व्यवसायीहरू कर छुटभन्दा पनि नीतिको स्थिरता र स्पष्टताको पर्खाइमा रहेको बताए ।

‘हामी कर छुट माग गरिरहेका छैनौँ, नीतिगत स्पष्टता माग गर्दैछौँ,’ अध्यक्ष उप्रेतीले भने, ‘दुई वर्षको लागत संरचना स्पष्ट भयो भने मात्र डिलरहरूले ग्रामीण सेवा केन्द्रमा लगानी गर्न र नयाँ प्राविधिकहरू नियुक्त गर्न सक्छन् । अर्को महिनाको कर दायित्व कस्तो हुन्छ भन्ने अन्योल रहेसम्म कुनै पनि डिलरले थप लगानी वा व्यवसाय विस्तारको प्रतिबद्धता जनाउन सक्दैन ।’

व्यवसायलाई पारदर्शी र सहज बनाउन नाडाले अर्थ मन्त्रालयसँग नियमित संवादको माध्यम (मेकानिजम) स्थापना गर्न समेत प्रस्ताव गरेको छ ।

छलफलको अन्त्यमा अर्थमन्त्री युवराज भट्टराईले मधेश प्रदेशमा लगानीको वातावरण सुदृढ गर्न र निजी क्षेत्रको लगानी बढाउन नाडा प्रतिनिधिमण्डलसँग आग्रह गरे । प्रदेशको समग्र आर्थिक विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको उनको भनाइ थियो ।

उक्त महत्वपूर्ण छलफलमा मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री शारदा देवी थापा र राजस्व अधिकृत जयकुमार राउतको उपस्थिति रहेको थियो। त्यस्तै, नाडाको तर्फबाट निवर्तमान अध्यक्ष करण चौधरी, विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठ र महासचिव मिलनबाबु मल्ल लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार