इजराइलले दिर्घकालिन स्याहार केन्द्रमा काम गर्न ठूलो संख्यामा नेपाली कामदारको माग गरेको छ । दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर शारीरिक तथा मानसिक अपांगता भएका जुनसुकै उमेरका व्यक्तिहरूको स्याहार गर्न सहायक कामदारको रुपमा २३ सय नेपाली कामदारको माग गरिएको हो ।
यसको लागि वैदेशिक रोजगार विभागले बुधबार कामदारसम्बन्धी आवेदन आह्वान गर्दै जेठ १७ गतेदेखि असार ७ गतेसम्म अनलाइनबाट नै आवेदन दिन सकिने जनाएको छ ।
कामदारको माग भए अनुसार ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष कामदारले इजरायलमा रोजगारीको अवसर पाउने छन् । छनौटमा परेकाहरुमध्ये सुरुमा एक हजार जना तत्कालै इजरायल जान पाउने छन् भने बाँकी १३ सय जना केही महिना पछि जान पाउने छन् ।
हप्तामा ६ दिन काम गर्नुपर्ने छ भने एक सातामा ४२ घन्टा काम हुनेछ । त्यसका बाहेक ओभर टाइम पनि गर्न सकिने सम्भावना हुन्छ । खाना र बस्ने खर्च कामदार स्वयंको तलबबाट व्यहोर्नु पर्नेछ । साथै रोजागर सम्झौता अधिकतम ५ वर्षसम्म मात्रै हुनेछ ।
२५ वर्ष पुरा भएर ४५ वर्ष ननाघेका पुरुष तथा महिलाले आवेदन दिन सक्नेछन् । उचाई कम्तीमा १.५ मिटर, तौल कम्तीमा ४५ मिटर, १० कक्षा पास गरेर १५ महिना सिएमए अध्ययन गरेको वा १२ कक्षा पास गरेर केयर गिभिङ्ग सम्बन्धी ३ महिना तालिम लिएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
आफ्ना एकाघरका परिवार इजरायलमा नै बसोवास वा कार्यरत भएको नहुनुपर्ने र आवेदक आफै पनि विगतमा इजरायलमा गएको नहुनुपर्ने शर्त राखिएको छ ।
शारीरिक र मानसिक रुपमा स्वस्थ रहेको, कुनै प्रकारको जीर्ण रोगहरु (क्षयरोग, हेपाटाइटिस, भिरिङ्गी, गोनोरिया, एड्स) बाट ग्रसित नभएको, गरुङ्गो सामान उचाल्न सक्ने लगायत स्याहार केन्द्रमा सहायक कामदारको रुपमा कार्य गर्न सामर्थ्य भएको र दुर्व्यसनमा नलागेको हुनुपर्ने छ ।
यसरी दिन सकिन्छ आवेदन
वैदेशिक रोजगार विभागको वेबपोर्टलमा उपलब्ध अनलाईन फाराम भर्नु पर्नेछ । अनलाइन प्रणालीमा दर्ता भएका दरखास्त स्वीकृतरअस्वीकृत भए पश्चात् आवेदनलाई प्रणालीमा दर्ता भएको मोबाइल नम्बररईमेलमा सूचना प्राप्त हुनेछ ।
अपुग कागजात अपलोड गर्न सिस्टमबाट उम्मेदवारलाई जानकारी गराइने विभागले जनाएको छ । सिस्टमबाट अपलोड गर्नुपर्ने भनी जानकारी गराएका कागजात अपलोड नगरेमा दरखास्त अस्वीकृत हुनेछ ।
अंग्रेजी भाषा परीक्षणको प्रमाण पत्रका रुपमा इजरायलको PIBA ले तोकेको CIIN International Qualifications बाट लिइएको Cambridge Upskill English Test (Cambridge University Press and Assessment) को कम्तिमा Reading – A2, Writing- A1, Listening – A2, Speaking – B1 भएको प्रमाण पत्र अपलोड गर्नुपर्नेछ । तोकिएको न्यूनतम मापदण्ड नपुगेको दरखास्त अस्वीकृत हुनेछ ।
उम्मेदवारले पासपोर्ट र वैध प्रहरी चारित्रिक प्रमाण पत्रको स्क्यान कपी समेत फारम भर्दा अपलोड गर्नुपर्नेछ । दरखास्त स्वीकृत भएका उम्मेदवारहरूलाई इमेल र मोबाइल नम्बरमा जानकारी प्राप्त हुने छ । साथै विभागको वेबसाइटमा प्रकाशित हुनेछ ।
न्युनतम तलब ३ लाख ५० हजार
विभागका अनुसार बेसिक तलब महिनाको इजरायली मुद्रा इजरायली नयाँ शेकेल ६४४३.८५ (३ लाख ३५ हजार नेपाली रूपैयाँ) हुनेछ । यसको थप १२.५ प्रतिशत अर्थात् ८०५.४८ (४१ हजार ८८५ रूपैयाँ) रोजगार दिने कम्पनीले विदेशी कामदार कोषमा कामदारको नाममा मासिक रूपमा जम्मा गरिदिन्छ ।
सम्झौता सकिएपछि नेपाल फर्किने समयमा त्यो जम्मा गरिदिएको रकम एकमुस्ट रूपमा पाउन सकिन्छ ।
यसरी सरसर्ती हेर्दा मासिक रूपमा ३ लाख ७६ हजार भन्दा बढी तलब हुनेछ । तर, त्यसमा खाना र कोठा भाडाको रकम, सम्पत्ति कर, पानी, बिजुली महशुल, आयकर, स्वास्थ्य बीमा लगायतका खर्च भने सोही तलबबाट काटिने विभागले जनाएको छ ।
यदि सम्झौता अवधि समाप्त भए पछि पनि इजरायलमा गैह्रकानुनी रुपमा बसेमा रोजगारदाताले जम्मा गरिदिएको १२.५ प्रतिशत रकमबाट केही रकम कट्टा हुनेछ । गैह्रकानुनी रूपमा ६ महिना बसेमा कोषमा जम्मा सम्पूर्ण रकम जफत हुने कडा प्रावधान राखिएको छ ।






प्रतिक्रिया