सरकारले स्थानीय तहमा सञ्चालन हुँदै आएका रोजगार सेवा केन्द्रलाई अब ‘रोजगार, सिप तथा उद्यमशीलता केन्द्र’ मा रूपान्तरण गर्ने भएको छ । यसको लागि युवा, श्रम तथा रोजगार मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाइसकेको छ ।
रोजगारी सिर्जना, सिप विकास र उद्यमशीलता प्रवर्द्धन एकीकृत रूपमा अघि बढाउन रूपान्तरणको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
६० दिनभित्र रूपान्तरण प्रक्रिया सम्पन्न गरिने गरी प्रक्रिया अघि बढेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए ।
उनका अनुसार मन्त्रिपरिषद्को १३ चैत २०८२ को निर्णयबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी सय कार्यसूची’ अन्तर्गत नयाँ संरचनामा रूपान्तरण गर्ने नीतिगत मार्गदर्शन प्राप्त भएको थियो ।
सोही विषयमा अध्ययन गर्न १९ चैत २०८२ को मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सचिवको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिएको थियो । समितिले दिएको प्रतिवेदनका आधारमा मन्त्रालयले रूपान्तरण प्रक्रिया अगाडि बढाएको प्रवक्ता घिमिरेले बताए ।
प्रतिवेदनमा रोजगारी सिर्जना, सिप विकास तथा उद्यमशीलता प्रवर्द्धनका लागि आवश्यक नीतिगत, संरचनागत, कार्यक्रमगत, व्यवस्थापकीय तथा सूचना प्रविधि सम्बन्धी सुधारका सुझाव उल्लेख छन् ।
प्रतिवेदनका आधारमा ‘रोजगार, सिप तथा उद्यमशीलता सम्बन्धी एकीकृत सेवा प्रवाह कार्यविधि २०८३’ तयार गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रीस्तरबाट ६ जेठ २०८३ मा स्वीकृत उक्त कार्यविधि ११ जेठमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय मा दर्ता भई कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय तथा स्थानीय तहमा पठाइसकिएको मन्त्रालयले जनाएको छ ।






प्रतिक्रिया