बीपीको तस्वीर अगाडी राखेर सुदूरपश्चिममा कांग्रेस संस्थापन इतर समूहको भेला

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आयोजना गरेको प्रदेशस्तरीय भेलामा संस्थापन इतर समूहका नेता–कार्यकर्ताको बाक्लो सहभागिता देखिएको छ ।

बीपीको तस्वीर अगाडी राखेर प्रदेश सभापति वीरबहादुर बलायरको अध्यक्षतामा धनगढीस्थित सौराई स्क्वायरमा भेला भएको हो ।

भेलामा कांग्रेसका नेता रमेश लेखक, एनपी साउद, वीरबहादुर बलायर, मोहन बस्नेत, केदार कार्कीलगायत नेताहरू सहभागी छन् । यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहित, आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट, सामाजिक विकास मन्त्री मेघराज खड्का, राष्ट्रियसभा सदस्य तथा कैलाली सभापति नारायणदत्त भट्ट लगायतका नेताहरू सहभागि छन् ।

यसअघि कार्यक्रममा अन्य प्रदेशका नेताहरूलाई आमन्त्रण नगरिने बताइए पनि अहिले विभिन्न प्रदेशका नेताहरूको उपस्थिति देखिएको छ ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पार्दै कांग्रेस नेतृत्वले सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने बताएका छन् । उनीहरूले पार्टीभित्र संवाद, सहकार्य र एकताको आवश्यकता औंल्याएका थिए ।

यसअघि कांग्रेस महामन्त्री गगन थापाको उपस्थितिमा पनि सुदूरपश्चिममा प्रदेशस्तरीय भेला आयोजना गरिएको थियो । उक्त भेलामा प्रदेश सभापति वीरबहादुर बलायर, कैलाली जिल्ला सभापति नारायणदत्त भट्टलगायत नेताहरू सहभागी भएका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार