स्वास्थ्य बीमालाई सरल र प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालय गृहकार्यमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य बीमा कार्यक्रमलाई सरल र प्रभावकारी बनाउन बनाउन गृहकार्यमा जुटेको बताइएको छ । स्वास्थ्यमन्त्री निशा मेहताले स्वास्थ्य बीमामा देखिएका विद्यमान समस्याहरू समाधान गरी जनमैत्री सेवा प्रवाह गर्ने उदेश्यले मन्त्रालय गृहकार्यमा जुटेको बताएकी हुन् ।

सोमबार वीर अस्पतालमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ को शुभारम्भ गर्ने क्रममा उनले स्वास्थ्य बीमा कार्यक्रमलाई सरल र प्रभावकारी बनाउन मन्त्रालयले गहन गृहकार्य गरिरहेको जानकारी दिएकी हुन् ।

मन्त्री मेहताले स्वास्थ्य बीमालाई थप व्यवस्थित र जनमैत्री बनाउन सरकारले विशेष तयारी गरिरहेको जानकारी दिएकी छन् ।

उनले स्वास्थ्य बीमामा केही पेचिलो समस्याहरू रहेको स्वीकार गर्दै सुधारसम्बन्धी कार्ययोजना अन्तिम चरणमा पुगेको स्पष्ट पारिन् । सरकारले चाँडै नै नागरिकलाई सहज हुने गरी नयाँ व्यवस्था सार्वजनिक गर्ने उनको भनाइ छ ।

‘स्वास्थ्य बीमामा अलिकति पेचिलो छ । यसलाई कसरी सहजीकरण गर्न सकिन्छ र जनमैत्री कसरी बनाउन सकिन्छ भनेर हामी गहन छलफल गरिरहेका छौँ । वर्कआउट भइरहेको छ, चाँडै नै थाहा पाउनुहुन्छ,’ मन्त्री मेहताले भनिन् ।

हाल स्वास्थ्य बीमा कार्यक्रममा सेवा प्रवाहमा ढिलाइ, दाबी भुक्तानीमा देखिएका जटिलता र नागरिकको पहुँचमा रहेका कमजोरीका विषयमा विभिन्न गुनासाहरू उठ्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार