अन्तर्राष्ट्रिय आप्रवासन दिवसः स्वास्थ्य व्यवसायीहरुद्वारा बृहत निःशुल्क स्वास्थ्य शिबिर तथा रक्तदान कार्यक्रम संचालन

वैदेशिक रोजगारसम्बन्धि स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य व्यवसायीहरुले सप्ताहव्यापी अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा बृहत निःशुल्क स्वास्थ्य शिबिर तथा रक्तदान कार्यक्रम संचालन गरेका छन् । स्वास्थ्य व्यवसायीहरुको छाता संगठन नेपाल स्वास्थ्य ब्यवसायी महासंघ, नेपाल मेडिकल ब्यवसायी संघ र गाम्का नेपालको संयुक्त आयोजनामा उक्त कार्यक्रम संचालन भएको हो ।

‘श्रम आप्रवासनका चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सिपयुक्त आप्रवासन’ भन्ने मुल नाराकासाथ मनाइएको सप्ताहव्यापी अन्तर्राष्ट्रिय आप्रवासन दिवसको मुल आयोजक भने श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय रहेको छ ।

महासंघका अध्यक्ष कैलास खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा श्रम मन्त्रालयका सचिव डा कृष्ण हरि पुष्कर प्रमुख अतिथी, मन्त्रालयकै सहसचिव पिताम्वर घिमिरे बिशेष अतिथिको रुपमा रहेका थिए । त्यस्तै अन्य विशेष अतिथीहरुमा वैदेशिक रोजगार बिभागका महानिर्देशक कमल भट्टराई, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा.द्वारिका उप्रेती, मलेसियन दूतावासका निमित्त राजदुत मा महमद फर्दोसको पनि उपस्थिती रहेको थियो ।

वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र ब्यवस्थित गर्न सरोकारवाला सबैले हातेमालो गर्नुपर्ने आवश्यकता रहेको सचिव पुस्करले बताए । उनले आप्रबाशन दिवसको अवसर सम्पूर्ण श्रमिक वर्गको हित र व्यवसायीक पारदर्शीताप्रति सचेत रहन पनि आग्रह गरे ।

त्यस्तै महासंघका अध्यक्ष कैलाश खड्काले स्वास्थ्य ब्यवसायप्रती भएको विभेदबाट कुनै पनि व्यवसायी विचलित नहुन आग्रह गर्दै कानुनी राज्यमा न्याय पाउने कुरामा बिस्वस्त रहेको बताए । उनले कार्यक्रममा सहभागिताको लागि सबै सरोकारवाला, ब्यवासायी, सेवाग्राही र सञ्चारकर्मीलाई धन्यवाद व्यक्त गरे ।

निःशुल्क स्वास्थ्य शिबिर तथा रक्तदान कार्यक्रममा २३४ जनाले स्वास्थ्य सेवा लिएको मेडिकल व्यवसायी संघका महासचिव कृष्ण प्रसाद बजगाईंले बताए । उनका अनुसार सामान्य स्वास्थ्य परीक्षण १५४, स्त्रीरोग परामर्श २१, भिडियो एक्सरे सेवा ५३ जनाले लिएका छन् । त्यस्तै ३२ जनालाई औषधी वितरण गरिएको छ भने ५७ जानाले रक्तदान गरेका छन् ।

स्वास्थ्य ब्यवसायिको संयुक्त समितिमार्फत संचालन गरिएको उक्त कार्यक्रमको संयोजन धन बहादुर गिरिले गरेका थिए । कार्यक्रमको स्वागत मन्तब्य महेश्वर श्रेष्ठ र संचालन कृष्ण प्रसाद बजगाईले गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार