प्राविधिक सीपसहितको शिक्षाले मात्रै देशलाई समृद्ध बनाउँछ- ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले नेपाललाई दिगो समृद्धिको मार्गमा अघि बढाउन प्राविधिक शिक्षा र सीपमूलक तालिम अपरिहार्य रहेको बताएका छन् । उनले भने, ‘दक्ष जनशक्ति बिना कुनै पनि मुलुकको समृद्धि सम्भव छैन।’

प्राविधिक शिक्षा र सीपमूलक तालिमको महत्त्वलाई देखाउँदै मन्त्री खड्काले ‘दिगो तथा सम्मानित रोजगारीका लागि शीप परियोजना’ को आर्थिक सहयोगमा बालाजु स्कूल अफ इंजिनियरिङ्ग एण्ड टेक्नोलॉजीद्वारा संचालित २० दिने ‘पावर हाउस अपरेसन एण्ड मेन्टेनेन्स तालिम’ को समापनको अवसरमा आफ्नो धारणा व्यक्त गर्दै सो कुरा बताएका हुन् ।

संखुवासभाको तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा आयोजित सो कार्यक्रममा सीपमूलक तालिम लिएका विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै मन्त्री खड्काले भने- ‘देशलाई कर्मठ र दक्ष जनशक्तिको आवश्यकता छ। परम्परागत शिक्षा मात्र पर्याप्त हुँदैन। त्यससँगै आधुनिक सीप, प्राविधिक दक्षता र व्यावहारिक ज्ञान हासिल नगरी श्रम बजारमा प्रतिस्पर्धा गर्न सकिँदैन ।’

उनले मन्त्रालयले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै स्थानीय तहसँग सहकार्यमा तालिम र रोजगारीका अवसर विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने- ‘विद्यार्थीहरूले प्राप्त गरेको सीपले आत्मनिर्भर बन्ने मात्र होइन, परिवार, समाज र सिंगो राष्ट्रलाई समेत योगदान पुर्‍याउनेछ । संखुवासभा ५ हजार मेगावाट उत्पादन क्षमता भएको हाइड्रो पावर केन्द्रका रूपमा महत्त्वपूर्ण क्षेत्र हो। यस जिल्लामा तालिम प्राप्त सबैलाई इंटर्नशिपको व्यवस्था गरिने छ, जसका लागि हामी विभिन्न हाइड्रो कम्पनीहरूसँग समन्वय गरिरहेका छौं ।’

मन्त्री खड्काले संखुवासभाको भौगोलिक र पर्यटनका दृष्टिकोणलाई पनि जोड दिएका छन् । उनले भने- ‘संखुवासभा त्रिदेशीय सीमा क्षेत्रसँग जोडिएको जिल्ला हो। यस क्षेत्रको पर्यटन क्षेत्रले अरबौँको राजस्व ल्याउने क्षमता राख्दछ । संखुवासभामै सिटीभिटीको कार्यालय स्थापना हुँदा यस क्षेत्रका विभिन्न जिल्लाका नागरिकहरूले रोजगारमूलक तालिम लिन पाउनेछन् । यसका साथै, आयुर्वेद अस्पतालको स्थापना तयारी समेत भइरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार