चालु आर्थिक वर्षको आठ महिनामा तीन लाख ३४ हजार भन्दा बढी सीपयुक्त दक्ष श्रमिकहरु रोजगारीको लागि विदेशिएको पाइएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको साउनदेखि फागुन मसान्तसम्म सीप सिकेर विदेश जाने नेपाली श्रमिकको संख्या तीन लाख ३५ हजार ५९६ जना रहेको छ ।
यस्तै आठ महिनाको अवधिमा सीप सिकेर विदेश जानेमध्ये ३२ हजार १०७ जना महिला श्रमिक रहेको विभागले उल्लेख गरेको छ । यसरी साउन महिनामा ३८ हजार ७४५, भदौमा ३५ हजार ८१०, असोजमा ३८ हजार ७३८, कात्तिकमा ३० हजार ८३२, मंसिरमा ४९ हजार ८५, पुसमा ४८ हजार १६१, माघमा ४५ हजार ६४८ र फागुनमा ४७ हजार ५७७ जना नेपालीहरु सीप सिकेर विदेशिएको विभागको तथ्यांकबाट देखिन्छ ।
यसैगरी आठ महिनामा ३८ हजार २५२ जना अर्धदक्ष श्रमिकहरु रोजगारीको लागि विदेश गएका छन् । यतिमात्र नभई पेशागत दक्षता हासिल गरेका एक हजार १२६ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् । त्यस्तै आठ महिनाको अवधिमा विशिष्ठ दक्षता (विशेषज्ञता) हासिल गरेका ४१७ जना पनि विदेशिएका छन् ।
यस अवधिमा ठूलो संख्यामा अदक्ष श्रमिकहरु पनि रोजगारीको लागि विदेशिएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । चालु अवको आठ महिनामा ९३ हजार ७७४ जना अदक्ष (कोरा) श्रमिक विदेशिएका छन् । समग्र श्रम स्वीकृतिको अवस्थालाई हेर्दा आठ महिनामा जम्मा चार लाख ६८ हजार १३५ जना श्रमिक रोजगारीको लागि विदेश गएका छन् । जसमध्ये ५२ हजार २६७ जना महिला श्रमिक रहेका छन् ।
विभागले सार्वजनिक गरेको गत आव २०७९/८० को तथ्यांकअनुसार विशिष्ठ दक्षता हासिल गरेका श्रमिकका रुपमा २ सय ५७ जना, पेशागत दक्षता भएका श्रमिक एक हजार १५३ र सीपयुक्त दक्ष श्रमिक पाँच लाख छ हजार ५४६ जना रोजगारीका लागि विदेशिएका थिए । यस्तै गत वर्ष ६० हजार ५५५ जना अर्धदक्ष र दुई लाख २ हजार २१६ जना अदक्षका श्रमिकका रुपमा विदेश गएका थिए ।
सरकारले रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागु गरेयता सीप सिकेर विदेश जाने श्रमिकको संख्या बढ्दो क्रममा रहेको विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए । उनका अनुसार पछिल्ला आर्थिक वर्षहरुमा वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको संख्या क्रमशः घट्दै गइरहेको छ । ‘सीप विकास तालिम अनिवार्य हुँदाहुँदै पनि यसको कार्यान्वयनमा कठिनाई भएका कारण अझैपनि ठूलो संख्यामा अदक्ष श्रमिक रोजगारीको लागि विदेश जाने क्रम जारी नै छ,’ उनले भने ।







प्रतिक्रिया