श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल वैदेशिक रोजगारमा रहेका कामदारहरुको लागि सञ्चालनमा रहेको टेलिमेडिसिन सेवा अवलोकन तथा जानकारी लिनका लागि विर अस्पताल पुगेका छन् ।
वैदेशिक रोजगार बोर्डले कल्याणकारी सेवा अन्तरगत विर अस्पतालसँगको सहकार्यमा कामदारहरुको लागि सञ्चालन गर्दै आएको टेलिमेडिसिन सेवाको अवलोकन तथा सो सम्बन्धी जानकारी लिन मन्त्री अर्याल बुधबार अस्पताल पुगेका हुन् ।
कामदारहरुको लागि प्रवाह भइरहेको टेलिमेडिसिन सेवासम्बन्धी आवश्यक जानकारी लिंदै मन्त्री अर्यालले यो सेवालाई अझै चुस्त र प्रभावकारी बनाइने बताएको उनको सचिवालयले जनाएको छ । मन्त्री अर्यालले मंगलबार भएको पत्रकार भेटघाट कार्यक्रममा पनि टेलिमेडिसिन सेवालाई प्राथमितामा राख्दै यसको दायरालाई बढाउन पहल गर्ने बताएका थिए ।
अस्पतालले टेलिमेडिसिन सेवाका लागि नियमित रुपमा मेडिकल अधिकृत र हेल्थ असिस्टेन्ट खटाइएको जनाउँदै प्रत्येक साताको शुक्रबार र आईतबार कामदारको स्वास्थ्य समस्याको अवस्था हेरी विशेषज्ञ चिकित्सक सेवासमेत उपलब्ध गराउँदै आइरहेको सचिवालयले उल्लेख गरेको छ ।
हालसम्म १८ वटा मुलुकमा रहेका नेपाली श्रमिकले टेलिमेडिसिन सेवा लिएका छन् भने दैनिक औसतमा २५ देखि ३० जनाले स्वास्थ्यसमस्या राख्ने गरेको बताइन्छ । अस्पतालले विभिन्न ११ प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।
विभिन्न अध्ययनहरुले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा स्वास्थ्य समस्या बढ्दै देखाएपछि मन्त्रालयले २०७९ चैत १० गतेबाट बोर्ड मार्फत टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएको हो । वीर अस्पतालले विहान १० बजेदेखि बेलुका ६ बजेसम्म उक्त सेवा सञ्चालन गर्दे आएको छ । विदेशमा रहेका कामदारहरुले फेसबुक, ह्वाटएप, भाईवर, ईमो लगायतका सामाजिक सञ्जालबाट आफ्नो स्वास्थ्य समस्याबारे परामर्श लिन सक्नेछन् ।
वीर अस्पतालले राखेको रेकर्डअनुसार चालु आर्थिक बर्ष २०८०÷८१ को आठ महिना (साउन–फागुन)मा एक हजार ६३२ जना कामदारले टेलिमेडिसिन सेवा लिएका छन् । जसमा सबैभन्दा बढी मलेसियामा रहेका कामदार छन् । मलेसियाबाट ३९४ जनाले सेवा लिएका छन् । त्यस्तै साउदी अरबबाट ३१०, युएईबाट १९२, कतारबाट १७५, कुवेतबाट १७१, कोरियाबाट १५७, ओमानबाट ५७, साईप्रसबाट ५३, जापानबाट ४०, रोमानियाबाट ३५, बहराइनबाट १२, जाम्बियाबाट १०, जर्मनीबाट ९, माल्दिभ्सबाट ७, इराकबाट ४, माल्टाबाट ३, वेलायतबाट १० र अफ्रिकाबाट एक जनले टेलिमेडिसिन सेवा लिएका छन् ।
टेलिमेडिसिनमा सेवा मार्फत ४०० जना कामदारलाई स्वास्थ्य तथा औषधी सम्बन्धी परामर्श उपलब्ध गराईएको छ । २७३ जनालाई सर्जरी सम्बन्धी परामर्श, १८३ अर्थोपेडिक, २१७ जनालाई ईएनटि, १२५ छाला सम्बन्धी, २३५ मानसिक समस्या, १९ आँखा सम्बन्धी, ३१ दाँत सम्बन्धी, ४२ जनालाई पेट सम्बन्धी, ४४ जनालाई युरोलोजी सम्बन्धी र ६३ अन्य विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराईएको छ ।







प्रतिक्रिया