भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण तथा शव व्यवस्थापनका लागि नेपाल प्रहरीले हालसम्म ७ हजार ८९४ जना प्रहरी कर्मचारी परिचालन गरेको छ। प्रहरीका उच्च अधिकृतहरूको कमाण्डमा विभिन्न विशेषज्ञ टोलीलाई प्रभावित क्षेत्रमा खटाएर उद्धार तथा खोजी कार्यलाई तीव्रता दिएको हो।
विपद्को समयमा खोज तथा उद्धार, सञ्चार समन्वय र अन्य सुरक्षा निकायसँगको सहकार्यलाई प्रभावकारी बनाउन प्रहरी नायव महानिरीक्षक (डिआइजी) सुदर्शन कोइरालाको कमाण्डमा ‘विपद् प्रतिकार्य समन्वय केन्द्र’ सञ्चालनमा ल्याइएको छ। केन्द्रले प्रभावित क्षेत्रबाट प्राप्त सूचनाको व्यवस्थापन, प्रहरी परिचालन तथा उद्धार कार्यको समन्वय गरिरहेको छ।
घाइतेको उपचार तथा शव व्यवस्थापनसम्बन्धी कामलाई व्यवस्थित बनाउन प्रहरी नायव महानिरीक्षक ओमबहादुर रानाको कमाण्डमा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा विशेष कमाण्ड पोस्ट स्थापना गरिएको छ। उक्त कमाण्ड पोस्टमार्फत अस्पताल तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ।
बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरीले प्रविधि र विशेषज्ञ जनशक्तिको समेत व्यापक प्रयोग गरेको छ। ड्रोन क्यामेरा, तालिमप्राप्त कुकुर, फोटोग्राफी टोली तथा अत्याधुनिक सञ्चार उपकरणसहितका प्रहरी टोली प्रभावित जिल्लाहरूमा परिचालित छन्। प्रहरी वरिष्ठ उपरीक्षकहरूको नेतृत्वमा खटिएका यस्ता टोलीले सम्भावित जोखिमयुक्त तथा मानिस पुग्न कठिन स्थानमा समेत खोजी कार्य गरिरहेका छन्।
उद्धार गरिएका नागरिक तथा घाइतेहरूलाई सुरक्षित रूपमा राख्न र आवश्यक सेवा उपलब्ध गराउन काठमाडौँ, नुवाकोट र धादिङका विभिन्न स्थानमा २२ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। ती केन्द्रमार्फत उद्धार गरिएका नागरिकको व्यवस्थापन, प्रारम्भिक स्वास्थ्य उपचार तथा सम्बन्धित परिवारसँग सम्पर्क स्थापित गर्ने कार्य भइरहेको छ।
घाइतेको उपचारका लागि प्रहरी अस्पतालबाट समेत चिकित्सकीय टोली परिचालन गरिएको छ। बाढी तथा पहिरोका कारण घाइते भएका व्यक्तिलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउनेदेखि आवश्यकताअनुसार थप उपचारका लागि सम्बन्धित अस्पतालसम्म पुर्याउने काममा प्रहरी टोली सक्रिय छन्।
बाढीपछि फेला परेका शव तथा मानव अवशेषको पहिचान र व्यवस्थापनलाई पनि प्रहरीले प्राथमिकतामा राखेको छ। पहिचान नखुलेका शवको वैज्ञानिक पहिचानका लागि फरेन्सिक विशेषज्ञसहितको टोली परिचालन गरी डिएनए तथा औँठाछापको नमुना संकलन भइरहेको छ। यसबाट मृतकको पहिचान स्थापित गरी परिवारसम्म सूचना पुर्याउन सहज हुने प्रहरीको विश्वास छ।
पहिचान हुन नसकेका शव तथा मानव अवशेषको विवरण र तस्बिरसमेत नेपाल प्रहरीले आफ्नो आधिकारिक माध्यमबाट सार्वजनिक गर्दै आएको छ। यसले आफन्त बेपत्ता भएका परिवारलाई सम्भावित पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) अबिनारायण काफ्लेले विपद्का बेला नागरिकको जीउधनको सुरक्षा गर्नु प्रहरीको प्रमुख दायित्व भएको बताउनुभएको छ। उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्दै प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइरहेको उहाँको भनाइ छ।
उहाँका अनुसार स्थानीय तह, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा अन्य सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी प्रहरी परिचालन भइरहेको छ। विपद्का कारण उत्पन्न चुनौतीका बीच उद्धार तथा राहत कार्यमा कुनै कमी हुन नदिन प्रहरी निरन्तर परिचालित रहेको उहाँले बताउनुभयो।
बाढी प्रभावित क्षेत्र वा अन्य स्थानमा फेला परेका बहुमूल्य सामान सुरक्षित राखी नजिकैको प्रहरी कार्यालयमा बुझाउन प्रहरीले नागरिकलाई आग्रह गरेको छ। त्यस्तै, कुनै शंकास्पद वस्तु, बेपत्ता व्यक्ति वा विपद्सम्बन्धी महत्वपूर्ण सूचना प्राप्त भएमा नेपाल प्रहरीको निःशुल्क आपत्कालीन नम्बर १०० मा जानकारी गराउनसमेत प्रहरीले अपिल गरेको छ।
विनाशकारी बाढीपछि ठूलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा नेपाल प्रहरीले जनशक्ति, प्रविधि र विशेषज्ञ टोलीलाई एकीकृत रूपमा परिचालन गरेर खोज, उद्धार, उपचार, राहत तथा शव व्यवस्थापनको कामलाई अघि बढाएको छ। प्रभावित नागरिकको उद्धारदेखि बेपत्ता व्यक्तिको खोजी र मृतकको पहिचानसम्मका कार्यलाई समान प्राथमिकतामा राख्दै प्रहरीको परिचालन निरन्तर जारी रहेको छ।







प्रतिक्रिया