भोटेकोशी बाढीपीडितका लागि रक्तदान कार्यक्रम सम्पन्न, घाइतेहरूको उपचारमा सहयोग पुग्ने विश्वास

काठमाडौं । रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघ (डिक्यान)को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

नेपाल लोकतान्त्रिक खेलकुद संघका संस्थापक अध्यक्ष तथा डिक्यानका निवर्तमान अध्यक्ष दीपक गुरुङको संयोजनमा आयोजित कार्यक्रममा काठमाडौं कोर सिटी लायन्स क्लबको सहकार्य र कान्तिपुर स्वास्थ्य सेवा अस्पतालको प्राविधिक सहयोग रहेको थियो।

प्राकृतिक विपत्तिका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको तथा घाइतेहरूको उपचारमा सहयोग पुर्‍याउनुका साथै रक्तसञ्चार सेवाका लागि आवश्यक रगतको उपलब्धता सहज बनाउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

कार्यक्रमका संयोजक गुरुङले प्राकृतिक विपत्तिका बेला सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत प्रयासमा निजी क्षेत्र र सामाजिक संस्थाहरूले समेत हातेमालो गर्नुपर्ने बताए। उनले नागरिक तहबाट गरिने सानो सहयोगबाट पनि राज्यको प्रयासमा बल पुग्ने विश्वास व्यक्त गरे ।

‘विपत्तिको समयमा सरकारको मुख मात्र ताकेर बस्नु हुँदैन, निजी क्षेत्र र सामाजिक संस्थाहरूले पनि हातेमालो गर्नुपर्छ भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको हो,’ गुरुङले भने, ‘हामीले संकलन गरेको रगतले बाढीपीडित तथा अन्य घाइतेहरूको ज्यान बचाउन सहयोग गर्नुका साथै सरकारी स्वास्थ्य संयन्त्र र रक्तसञ्चार सेवालाई समेत राहत पुर्‍याउनेछ।’

रक्तदान कार्यक्रममा शैक्षिक परामर्शदाता, खेलाडी, युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उपचारमा प्रत्यक्ष सहयोग पुर्‍याउने उद्देश्यले रक्तदानमा सहभागी हुन पाउँदा खुसी लागेको बताएका थिए।

आयोजक संस्थाहरूले कार्यक्रममा सहभागी भई रक्तदान गर्ने सबै रक्तदाता, सहकार्य गर्ने संस्था तथा प्राविधिक सहयोग उपलब्ध गराउने अस्पतालप्रति आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार