नेपाल चेम्बरले संकलन गरेको राहत सरकारलाई हस्तान्तरण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले गत भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि संकलन गरेको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष तथा विपद् व्यवस्थापन परिषद्का सभापति दीपककुमार मल्होत्राको नेतृत्वमा चेम्बर प्रतिनिधिहरूले नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुसी पुगेर राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले चेम्बरले विभिन्न स्रोतबाट राहत सामग्री संकलन गरेको थियो । उक्त राहत सामग्रीमा युथ चेम्बरले संकलन गरेका सामग्रीसमेत समावेश गरिएको चेम्बरले जनाएको छ ।

संकलित राहत सामग्री जिल्ला प्रशासन कार्यालय, काठमाडौंमार्फत बाढीबाट प्रभावित नागरिकसम्म पुर्‍याउने उद्देश्यले नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो । प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकलाई तत्काल सहयोग तथा राहत उपलब्ध गराउन निजी क्षेत्र र व्यावसायिक समुदायको समेत भूमिका महत्वपूर्ण हुने भन्दै चेम्बरले मानवीय सहयोगलाई निरन्तरता दिएको जनाएको छ ।

भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था, व्यवसायी तथा नागरिकले सहयोग गर्दै आएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले पनि विपद्का बेला निजी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने अभियान अघि बढाएको जनाएको छ । चेम्बरले विपद्को समयमा एकजुट भएर प्रभावित नागरिकलाई सहयोग गर्न निजी क्षेत्र तथा आमनागरिकलाई समेत आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार