काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आइतबार सम्पन्न भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५०औँ स्वर्णजयन्तीको अवसरमा आयोजित १८औँ संस्करणको अटो शोले नयाँ सवारीसाधन, विद्युतीय प्रविधि, वित्तीय सुविधा तथा नेपाली अटोमोबाइल बजारमा विकसित हुँदै गएको नयाँ सम्भावनालाई एउटै मञ्चमा प्रस्तुत गरेको छ ।
भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको प्रदर्शनीमा २०० भन्दा बढी स्टलमार्फत सवारीसाधन, अटो पार्टपुर्जा, टायर, लुब्रिकेन्ट्स, बैंक तथा वित्तीय सेवा र अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न उत्पादन तथा सेवा प्रदर्शन गरिएको थियो । नाडाका अनुसार यस वर्षको प्रदर्शनीमा २५ वटा प्यासेन्जर भेहिकल, १७ वटा लाइट कमर्सियल भेहिकल, १३ वटा दुईपांग्रे ब्रान्ड तथा १५ वटा बैंक तथा वित्तीय संस्था र बीमा सेवा प्रदायकको सहभागिता रहेको थियो ।
अटो शोको मुख्य आकर्षण नयाँ पुस्ताका चारपांग्रे तथा दुईपांग्रे सवारीसाधन बने । विभिन्न ब्रान्डले नेपालमा पहिलोपटक नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गरेका थिए । विशेषगरी विद्युतीय सवारीसाधनको उल्लेख्य उपस्थितिले प्रदर्शनीलाई थप आकर्षक बनाएको थियो । नयाँ पुस्ताका ईभी, विद्युतीय मोटरसाइकल तथा स्कुटरसँगै नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन र सामग्रीले समेत अवलोकनकर्ताको ध्यान तानेका थिए । बीवाईडी, टाटा, दीपल, नामी, अवतार, जेइकु, चेरी, डङफेङलगायतका ब्रान्डका नयाँ मोडल शोका प्रमुख आकर्षण बनेका थिए ।
सवारीसाधनको प्रदर्शन र बिक्रीसँगै अटो शोमा बैंक तथा वित्तीय संस्थाबीच अटो कर्जामा समेत प्रतिस्पर्धा देखिएको थियो । सहभागी बैंकहरूले उपभोक्तालाई आकर्षित गर्न तुलनात्मक रूपमा सस्तो ब्याजदर, सेवा शुल्कमा छुट तथा ब्याजदरमा लाग्ने प्रिमियममा सहुलियतलगायतका योजना सार्वजनिक गरेका थिए । केही बैंकले विद्युतीय सवारीसाधन खरिदका लागि विशेष कर्जा सुविधा र कम ब्याजदरका योजना अघि सारेका थिए ।
यस वर्षको अटो शो बाढीपहिरोको पीडाबीच आयोजना भएको थियो । शो सञ्चालन भइरहेकै समयमा भोटेकोशी, त्रिशूलीलगायतका नदी प्रणालीमा आएको बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । विपत्तिका कारण उत्सवको वातावरण प्रभावित भए पनि अटो शो निरन्तरता पाउनु उद्योगी–व्यवसायी, सहभागी कम्पनी, सञ्चारमाध्यम तथा सर्वसाधारणको सहयोग र विश्वासको परिणाम भएको नाडाले जनाएको छ ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विपत्तिका कारण उत्सवको भन्दा पीडाको अनुभूति बढी भए पनि जीवन सधैँ एउटै ठाउँमा रोकिन नसक्ने बताए । “विपत्तिले हामीलाई कमजोर बनाउन सक्छ । तर, हाम्रो संकल्पलाई कमजोर बनाउन सक्दैन,” उनले भने, “यही विश्वासका साथ हामीले अटो शोलाई निरन्तरता दियौँ । कठिन परिस्थितिका बाबजुद सबै पक्षले अटो शोप्रति देखाउनुभएको सहयोग, सद्भाव र विश्वासले हामीलाई मजबुत बनाएको छ ।”
अध्यक्ष उप्रेतीले अटो शो सवारीसाधन बिक्री गर्ने थलो मात्र नभई नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको भविष्यबारे बहस गर्ने, नयाँ प्रविधि प्रदर्शन गर्ने र उद्योगका विभिन्न पक्षलाई एउटै मञ्चमा जोड्ने महत्वपूर्ण माध्यम भएको बताए । नाडाले यस वर्षको शोमा ‘उद्योगदेखि रोजगारसम्म’ भन्ने अवधारणालाई समेत प्राथमिकता दिएको थियो ।
पाँच विधामा उत्कृष्ट स्टल घोषणा
नाडा अटो शो २०२६ मा पाँच फरक विधामा उत्कृष्ट स्टल छनोट गरिएको छ । चारपांग्रे प्यासेन्जर कारतर्फ साइमेक्स इंक प्रालिको बीवाईडीले उत्कृष्ट स्टलको उपाधि हात पारेको छ । दुईपांग्रे सवारीसाधनतर्फ एमएडब्लू राइड्स प्रालिको यामाहा उत्कृष्ट घोषित भएको छ ।
त्यसैगरी कमर्सियल चारपांग्रे सवारीसाधनतर्फ एनईभी नेपाल प्रालिले बिक्री गर्दै आएको दिगो उत्कृष्ट स्टल बनेको छ । अटो कम्पोनेन्टतर्फ सिप्रदी अटोपार्ट्स प्रालिले राखेको मिशेलिन टायरको स्टल उत्कृष्ट घोषित भएको छ । बैंक तथा वित्तीय संस्थातर्फ भने माछापुच्छ्रे बैंकको स्टल उत्कृष्ट बनेको छ ।
उत्कृष्ट स्टल छनोटका लागि नाडाले सम्बन्धित क्षेत्रका प्रतिनिधिसहित तीन सदस्यीय समिति गठन गरेको थियो । समितिले विभिन्न मापदण्डका आधारमा सहभागी स्टलहरूको मूल्यांकन गरी पाँच विधामा उत्कृष्ट स्टल छनोट गरेको नाडाले जनाएको छ ।
छ दिनसम्म सञ्चालन भएको १८औँ नाडा अटो शोले नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारीसाधनको बढ्दो प्रभाव, नयाँ प्रविधिप्रतिको उपभोक्ताको आकर्षण, अटो कर्जामा बैंकहरूको प्रतिस्पर्धा तथा मोबिलिटी क्षेत्रमा भइरहेको परिवर्तनलाई समेत उजागर गरेको छ ।






प्रतिक्रिया