विपद्को मौका छोप्नेबिरुद्ध आक्रामक बन्दै प्रहरी : धादिङमा सेफ तोडफोड गर्ने २९ जना पक्राउ

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछिको विषम परिस्थितिमा हुन सक्ने चोरी, लुटपाट तथा ठगीजस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरीले आफ्नो सक्रियता र गस्तीलाई तीव्र पारेको छ। उद्धार तथा राहत कार्यमा सुरक्षाकर्मी व्यस्त रहने र प्रभावित क्षेत्र खाली हुने अवस्थाको फाइदा उठाउन खोज्ने आपराधिक मनसाय भएका व्यक्तिहरूमाथि प्रहरीले कडाइ सुरु गरेको हो।

यसै क्रममा, बाढीले बगाएर ल्याएको पैसा राख्ने सेफ फुटाएर नगद चोरी गर्ने २९ जनालाई धादिङबाट पक्राउ गरिएको छ। धादिङको गल्छी गाउँपालिका-४ बेल्खुखोलास्थित त्रिशूली नदीको किनारमा भेटिएको सेफ तोडफोड गरी नगद निकालेको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ नगद समेत बरामद गरिएको छ।

यस्तै, विपद्को समयमा प्रविधि र सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रम फैलाउने र चोरी गर्ने अन्य व्यक्तिहरू पनि कानुनी दायरामा आएका छन् ।

नक्कली स्टेटमेन्ट काण्ड: रामेछाप गोकुलगंगाका ३२ वर्षीय भगवान कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। उनले च्याटजिपिटी (ChatGPT) को प्रयोग गरी ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा १ लाख २० हजार सहयोग गरेको नक्कली बैंक स्टेटमेन्ट बनाई सामाजिक सञ्जालमा पोस्ट गरेर भ्रम सिर्जना गरेका थिए।

मृतकको गहना चोरी: चितवन भरतपुरका २५ वर्षीय मदन गुरुङसहित २ जनालाई बाढीले बगाएर ल्याएको शवबाट कानको मुन्द्रा चोरी गरेको आरोपमा भदौ ११ गते प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (DIG) अबिनारायण काफ्लेका अनुसार विपद्को मौका छोपेर हुने चोरी, लुटपाट तथा ‘साइबर स्क्याम’ रोकथाम गर्न प्रहरी थप संवेदनशील भएर खटिएको छ। प्रभावित क्षेत्रमा गस्ती, निगरानी, सूचना संकलन र सामाजिक सञ्जालको अनुगमनलाई कडा बनाइएको छ। साथै, सडक तथा पुल अवरुद्ध भएका स्थानमा स्थानीय तह र सरोकारवालासँग समन्वय गरी सडक खुलाउने र उद्धार कार्यलाई निरन्तरता दिइएको छ।

बाढी प्रभावित क्षेत्रमा भेटिएका बहुमूल्य सामान वा सम्भावित आपराधिक क्रियाकलापबारे तुरुन्त नजिकैको प्रहरी कार्यालय वा प्रहरीको नि:शुल्क नम्बर १०० मा जानकारी गराउन नेपाल प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार