टिमुरेमा माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको सशस्त्र प्रहरीले गर्यो जीवितै उद्धार 

 रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित टिमुरेमा माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको सशस्त्र प्रहरी बल (एपीएफ) ले जीवितै उद्धार गरेको छ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोइरहेको मसिनो आवाज सुनेपछि तत्काल खोजी तथा खन्ने कार्य सुरु गरेको थियो। निरन्तरको प्रयासपछि टोलीले माटोमा पुरिइरहेको अवस्थामा उनलाई जीवितै फेला पारी बाहिर निकालेको हो।

उद्धारलगत्तै बालिकालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) टिमुरेमा लगेर प्राथमिक उपचार र न्यानो गराउने व्यवस्था मिलाइएको थियो। तर, समय बित्दै जाँदा उनको स्वास्थ्य अवस्था क्रमशः कमजोर र नाजुक बन्दै गएपछि थप जटिल उपचारका लागि हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याउने तयारी गरिएको थियो।

रातिको समय र हिमाली क्षेत्रको प्रतिकूल मौसमका कारण उद्धारका लागि हेलिकप्टर उडान सम्भव नभएपछि उनलाई काठमाडौँ ल्याउन कठिन भएको सशस्त्र प्रहरीले जनाएको छ।

भोटेकोशी बाढीका कारण ठूलो क्षति पुगेको टिमुरे क्षेत्रमा अझै पनि कैयौँ मानिसहरू बेपत्ता रहेका छन्। बेपत्ता भएकाहरूको खोजी तथा प्रभावितहरूको उद्धारका लागि सशस्त्र प्रहरी बलको उद्धार टोली अहोरात्र खटिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार