“शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३” को मस्यौदा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भइरहेको सन्दर्भमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सार्वजनिक मस्यौदाका कारण व्यवसायी, विद्यार्थी र अभिभावक वृत्तमा चासो र अन्योल बढेपछि छाता संगठन इक्यानले यसप्रति पूर्ण रूपमा सचेत र संवेदनशील रहँदै आफ्नो जिम्मेवार भूमिका अघि बढाएको हो।
यसै विषयलाई लिएर संघले आफ्ना सल्लाहकारहरू, पूर्व अध्यक्षहरू तथा वर्तमान केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूको महत्त्वपूर्ण सहभागितामा विशेष ‘फुल बोर्ड बैठक’ आयोजना गरेको छ। बैठकमा नियमावलीका प्रस्तावित व्यवस्थाहरू र हालसम्म प्राप्त अद्यावधिक जानकारीहरूको सूक्ष्म अध्ययन भइरहेको छ। साथै, यो नियमावली हुबहु लागू भएमा यसले समग्र शिक्षा परामर्श क्षेत्र, वैदेशिक अध्ययनमा जाने विद्यार्थी, अभिभावक र समग्र सरोकारवालाहरूमा पार्न सक्ने तत्कालीन एवं दीर्घकालीन प्रभावका विषयमा पनि घनीभूत छलफल भइरहेको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार यो बैठक नियमावलीका सम्बन्धमा इक्यानको स्पष्ट र आधिकारिक संस्थागत धारणा निर्माण गर्न तथा सदस्य संस्थाहरूका साझा चासो एवं सुझावहरूको सही प्रतिनिधित्व गर्न केन्द्रित रहेको छ। यसका साथै, व्यवसायको संवर्द्धन र सरोकारवालाको हित रक्षाका लागि आगामी रणनीति तथा कार्ययोजनाबारे समेत गहन समीक्षा भइरहेको छ। इक्यानले आगामी दिनमा आफ्ना सुझावहरूसहित सम्बन्धित सरकारी निकायहरूसँग आवश्यक समन्वय र संवाद अघि बढाउने रणनीति लिएको छ।
शैक्षिक परामर्श क्षेत्रको गुणस्तर अभिवृद्धि, पारदर्शिता, व्यावसायिक उत्तरदायित्व तथा यस क्षेत्रको दीगो विकासका पक्षमा आफू सदैव प्रतिबद्ध रहेको इकानले पुनर्जीवित गरेको छ। जारी बैठकबाट प्राप्त निष्कर्ष र संस्थागत निर्णयहरूलाई समेटेर संघले चाँडै नै आफ्नो आधिकारिक धारणा र भावी कार्यदिशा सदस्य संस्थाहरू, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण सरोकारवालामाझ औपचारिक रूपमा सार्वजनिक गर्ने स्पष्ट पारेको छ।





प्रतिक्रिया